काठमाडौं । अर्जेन्टिना फुटबल टोलीका क्याप्टर ३४ वर्षीय लियोनेल मेस्सी कोपा अमेरिका २०२१ को उपाधि जित्ने दाउमा छन् । आफ्नो फुटबल करिअरको उत्तरार्द्ध देशलाई उपाधि जिताउन चाहन्छन्, मेस्सी ।
फुटबल करिअरमा राष्ट्रलाई ठूलो उपाधि दिलाउन नसक्नुको पीडा मेट्ने अनि कोपा अमेरिकाको यो उपाधि म्याराडोनाप्रति समर्पित गर्ने मेस्सीको चाहना छ।
त्यसो ब्राजिलका खेलाडी नेयमारले पनि आफ्नो फुटबल करिअरमा कहाँ ठूलो उपाधि जितेको छ र ?२०१९ को कोपा जित्दा चोटले सताइएको उनी टोलीमा थिएनन् ।
त्यसैले नेयमार उपाधि घर बाहिर जान दिने पक्षमा छैनन् । यी दुईले जितेको भनेको ओलिम्पिक ट्रफी मात्रै हो । मेस्सीले सन् २००८ मा र नेयमारले २०१६ को ओलिम्पिक जित्यो । तर दुवैको नाममा कोपा र विश्वकप छैन ।
दुई असल मित्र मेस्सी र नेयमारले बार्सिलोनामा सँगै खेल्ने क्रममा २०१५ को च्याम्पियन्स लिग जितेका थिए । कोपा अमेरिकामा दुई गोल र तीन एसिस्ट (गोलको अवसर जुराएका ) गरेका नेयमार फर्ममा छन् र उनले घरेलु मैदानमा खेलको खेल अहिलेसम्म हारेको छैन। फेरी ब्राजिलले पछिल्लो तीन वर्षमा प्रतिस्पर्धात्मक खेल हारेको पनि छैन ।
सन् २०१९ मा आर्जेन्टिनासँग उसले साउदी अरेबियामा एउटा मैत्रीपूर्ण खेल हार्यो। त्यसमा पनि नेयमार अनुपस्थित थिए। आर्जेन्टिनाले खेल १–० ले जितेको खेलमा मेस्सीले गोल गरेका थिए ।
जारी खेलमा मेस्सीले ४ गोल र ५ एसिस्ट गरेका छन् । अर्थात् उनी पूर्णतः फर्ममा देखिएका छन्। योपटक इतिहास अहिले उही माराकाना रङ्गशालामा फर्किएको छ। जहाँ मेस्सीले २०१४ को विश्वकप उपाधि जर्मनीसँग गुमाएको थियो।
त्यो चोट र भयानक पीडा बिर्सने मुड मेस्सीले बनाइसकेका छन् । सेमीफाइनल जितेपछि उनले भनेका थिए, ‘म देशलाई उपाधि दिलाउन चाहन्छु ।’
अर्थात् मेस्सीले आफ्नो सम्पूर्ण अनुभव र क्षमता माराकानामा पस्किने पक्का छ ।






