एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा इटाली र बेल्जियम भिड्दैछन् । खेल नेपाली समयअनुसार मध्यरातको १२:४५ बजे सुरु हुनेछ ।
बेल्जियम साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । तर उक्त खेलमा टोलीका दुई मुख्य खेलाडीले चोट बोक्न पुगे । लगातार तीन जितको नतिजा निकालेको बेल्जियमसँग बेन्चमा स्तरीय खेलाडीको कमी छैन । प्रतियोगिताको सुरुवातमा यी दुवै उपलब्ध नहुँदा पनि बेल्जियम सहज जित दर्ता गर्न सफल रहेको थियो ।
इटाली पनि उच्च लयमा रहेको छ । पछिल्लो ३१ खेलमा अपाजित रहेको इटालीले अष्ट्रियालाई पराजित गर्न भने अतिरिक्त समयमा संघर्ष गर्नुपरेको थियो । रोबर्टो मान्सिनीको टोलीमा सबै पक्षको सन्तुलन मिलेको देखिन्छ । पहिलो रोजाइमा पर्न निकै प्रतिस्पर्धा रहेकाले भने उनलाई केहि टाउको दुखाइ पक्कै छ ।
बेल्जियमका लागि पहिलो खेलमा चोट बोकेका डिफेन्डर टिमोथी कास्टग्ने टोलीमा फर्किएका छन् । थोमस मुनिएरले उच्च प्रदर्शन गरिरहेका कारण उनी खेल्ने कम सम्भावना छ । पोर्चुगलविरुद्ध खेलमा चोट बोकेका मिडफिल्डर केभिन डे ब्रुएन र कप्तान इडेन हाजार्ड खेल्नेमा शंका छ । हाजार्डले प्रतियोगिता नै गुमाउने डर छ भने डे ब्रुएनको अवस्था खेलअघि अध्ययन गरिनेछ ।
इटालीका लागि कप्तान जिओर्जियो किएलिनी दुई खेल गुमाएपछि छनोटका लागि उपलब्ध छन् । समूह चरणको दोस्रो खेलमा मांशपेसीमा समस्या देखिएपछि उनी विश्राममा रहेका थिए । डिफेन्डर एलेसान्द्रो फ्लोरेन्जी पनि चोटका कारण विश्राममा रहेपछि टोलीमा फर्केका छन् ।
इटाली र बेल्जियमले यसअघि ठूलो प्रतियोगितामा चार पटक खेलेका छन् । जसमा इटालीले तीन खेल जित्दा अर्को खेल बराबरीमा सकिएको छ । इटालीले युरो २०१६ को समूह चरणमा २-० को जित हासिल गरेको थियो ।
युरो २०१६ मा बेल्जियम वेल्ससँग ३-१ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । पछिल्लो १३ खेलमा बेल्जियमले ११ जित र दुई बराबरीको नतिजा निकालेको छ । यसक्रममा टोलीले ३२ गोल गर्दै ८ गोल खाएको छ । पछिल्लो २७ खेलमा बेल्जियमले जम्मा १ खेलमा हार बेहोरेको छ ।
इटालीले लगातार चौथो पटक युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो । पछिल्लो तीन संस्करणमा इटालीको क्वाटरफाइनल खेल टाइब्रेकरमा पुगेको छ । सन् २००८ मा स्पेनसँग पराजित इटालीले सन् २०१२ मा इंग्ल्यान्डलाई हराएको थियो । सन् २०१६ मा भने जर्मनीले इटालीलाई पराजित गरेको थियो ।
इटाली पछिल्लो ३१ खेलमा अपराजित छ । यसक्रममा पछिल्लो १२ खेलमा जित हासिल गरेको इटालीले ३४ गोल गर्दै जम्मा १ गोल खाएको छ ।





