बाँके । यहाँ १९ महिनामा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग र कुष्ठरोग फोकल पर्सन मानव नेपालीले अघिल्लो आव र चालु आवका सात महिनामा ५८ जना क्षयरोगीले ज्यान गुमाएको जानकारी दिए ।
अघिल्लो आवमा ३८ र चालु आवमा २० जनाको क्षयरोगबाट ज्यान गएको नेपालीले जानकारी दिए । लुम्बिनी प्रदेशमा धेरै क्षयरोगी भएका जिल्लामध्ये बाँके तेस्रो नंमा रहेको उनले बताए । सबैभन्दा बढी रुपन्देहीमा एक हजार १६३, दोस्रो दाङमा ९१६ र तेस्रो बाँकेमा ८३३ क्षयरोगी छन् । यो अघिल्लो आवको तथ्याङ्क हो । यो वर्षको सात महिनामा थपिएका ४७५ क्षयरोगी जोड्दा जिल्लामा १९ महिनामा एक हजार ३०८ जना क्षयरोगी भएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले बाँकेमा १९ महिनाकामा क्षयरोगबाट ५८ जनाको ज्यान गएकामा आफूहरूले अब आउने दिनमा कसैको मृत्यु नहोस् भनेर यो रोग नियन्त्रण गर्न लागिपरेको बताए ।






