खड्गप्रसादको एउटा अन्तर्वार्ता, जसमा तथ्य होइन, तर्कले जित्न खोजेका छन्

उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार उज्यालो फोकस

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद (केपी) ओली अहिले चर्चाको केन्द्रमा छन् । उनले नेतृत्व गरेको सरकारको कामकारबाही र नेकपाभित्रको आन्तरिक विवादका कारण अहिले ओली चर्चाको केन्द्रमा छन् ।

जेहोस्, नेकपा विवादमा अहिले ओलीसँगै इश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल एकातिर र कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ अर्कातिर छन् ।

अर्थात् सचिवालयका ९ मध्ये ५ जना प्रचण्डतिर र ४ जना ओलीतिर छन् । स्पष्ट छ कि ओली अल्पमत्मा छन् । पार्टी विभाजनसम्मको विवाद चलिरहँदा ओली भने केही सार्वजनिक कार्यक्रममा पुगेर भाषण गरिरहेका छन्, सञ्चारमाध्यममा अन्तर्वार्ता दिइरहेका छन् । जसमध्ये पछिल्लो अन्तर्वार्ताले अहिले हलचल मच्चाइरहेको छ ।

नेकपा विवादको चुरो कुरा के हो ? यसमा ओली र प्रचण्ड पक्षका आ–आफ्नै तर्क छन् । तर, ओली र प्रचण्ड दुवै पक्षका दोस्रो तहका नेताहरुको हालै ललितपुरको एउटा होटलमा भएको निष्कर्ष छ, पार्टी अध्यक्ष ओलीको बोली एउटा र काम गर्ने शैली अर्कै भएका कारण नेकपा विवाद पार्टी विभाजनसम्म पुगेको हो ।

यो निष्कर्षलाई ठीक मान्ने हो भने ओलीले कहाँ–कहाँ के बोलेका छन्, अनि काम कसरी गरेका छन् ?

यसका लागि हालै एपीवान टेलिभिजनमा प्रधानमन्त्रीले दिएको अन्तर्वार्ताको तर्क र तथ्य जाँच गरौँ ।

पहिलो तर्क
प्रचण्ड र ओलीले आधाआधा कार्यकाल सरकार चलाउनेबारे प्रश्नमा अन्तर्वार्ताको ११ मिनेट ३ सेकेण्डमा ओली भन्छन्, ‘अर्को कुरा तपाईले आधा आधा कार्यकालको तमसुक, म तपाईलाई सोध्न चाहन्छु, त्यो तमसुक के भयो ? त्यो तमसुकलाई मैले अन्यथा केही भने ? तपाईले के बुझ्नुहुन्छ भने मेरो पार्टीको हैसियत थियो, के थियो, र एकीकरण गर्दाखेरि अरु साथीहरुको हैसियत् के थियो ? त्यसलाई ध्यानमा राखेर मैले आधा–आधा स्वीकार गर्नुपर्ने आवश्यकता थिएन । किनभने त्यतिबेला भागबण्डा गर्दा राष्ट्रपति एउटा लिएको छ भने उपराष्ट्रपति अर्कोले, प्रधानमन्त्री एउटाले लिएको छ भने सभामुख अर्कोले । मन्त्रीहरु पनि सोहीअनुरुप र मन्त्रालयहरु पनि बाँडेर लिएको थिएन र ? र त्यहीमाथि पार्टी एकता गर्दा सन्तुलन गरिएकै थियो । पार्टी एकता गर्दा अर्को एउटा बखेडा झिक्न आवश्यकता थिएन कि प्रधानमन्त्रीको कार्यकाल आधाआधा गर्नुपर्छ, मैले प्रधानमन्त्री आधा कार्यकाल पाउनुपर्छ नभए पार्टी एकता गर्दिन भनिरहनुपर्ने आवश्यकता थिएन । वितरण पहिले नै सन्तुलित थियो ।

तर पनि मैले त एकदमै उदारताका साथ ठीक छ तपाई आधा चलाउनुस् भनेकै थिए, पछि मैले भनेको होइन उहाँले नै जसको सन्दर्भ तपाईले आधाआधाको कुरा गरिरहनुभएको छ, उहाँले नै…

तथ्य
हो, यही तथ्यमा ओलीको बोली र काममा भिन्नता छ । जस्तो कि तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता गर्दा ५ बुँदे सहमति गरिएको थियो । जसको बुँदा नम्बर ४ मा लेखिएको छ, ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।’

यही विषयमा प्रधानमन्त्रीले त्यतिबेला आफूले उदारताका साथ प्रधानमन्त्री बन्न प्रचण्डलाई छोडदिएको अन्तर्वार्तामा बताउँछन् । तर, यही विषयलाई लिएर नेकपाभित्र बबण्डर भएको विषय टाढाको होइन ।

प्रधानमन्त्री ओलीको जब कार्यकाल आधा नजिक आइपुग्न लाग्यो, ठीक त्यहीबेलादेखि अर्का अध्यक्ष प्रचण्डलाई विवादमा ल्याउन उनी निकटका नेताहरुले तिकडम मच्चाएकै हुन् ।

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचिवालय सदस्य ईश्वर पोखरेल लगायतले ओलीले प्रचण्डसँग आधाआधा सरकार चलाउने सहमति नगरेको भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता समेत दिएका थिए । त्यसो त, ओली आफैँले पनि एक सञ्चारमाध्यममा आफूलाई आधाआधा कार्यकाल चलाउने सहमति नभएको झुठो दावी गरेका थिए । त्यसो त, आफूले सरकारको नेतृत्व दावी गरे ओलीले पार्टी फुटाउनेसम्मको योजना बनाएको सुईँको पाएपछि पार्टी एकताका सहमतिबाट आफू ब्याक भएको प्रचण्डले बताउँदै आएका छन् । केही समय अगाडि प्रचण्डले उक्त सहमतिबाट ब्याक हटेर आफूलाई पछुतो लागेको समेत सुनाएका थिए ।

दोस्रो तर्क
प्रधानमन्त्रीले अन्तर्वार्तामा दोस्रो तर्क गरेका छन् । अन्तर्वार्ताको १३ मिनेट १३ सेकेण्डमा ओलीले हालै नेपाल भ्रमणमा आएका भारतीय गुप्चचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र आफूसँग भएको भेटबारे चर्चा गर्छन् र भन्छन्, ‘अरुले होइन, मेरै पार्टीका केही मान्छेहरुलाई यो अलि बढी त्रसित भइरहेका छन्, नेपाल भारत सम्बन्ध समुधुर हुँदै जाने र हामीले जुन नक्सा बनाएका छौँ, आफ्नो गुमेको भुभाग समेत सामेल गरेर, संविधान समेत संशोधन गरेर, यो चाहिँ साँच्चै फिर्ता आयो भने सायद आफू चाहिँ कमजोर हुने हो कि ? आफू कमजोर हुने हो कि ? भनेर मेरै पार्टीमा बढी उठेका छन् ।’

उनी त्यतिमा मात्रै रोकिएका छैनन्, भनेका छन्, ‘कुन देशको नेताको या कार्यकारी प्रमुखको प्रतिनिधिको रुपमा को आउँछन्, कसले कुरा गर्छ, अनाधिकृत मान्छे त आएनन् होला, तोकिएको अधिकृत मान्छे नै आएका होलान् त्यसकारण कोसँग कुरा गर्न हुन्छ या हुँदैन भन्ने होइन । कुटनीतिमा सबैसँग कुरा गर्न हुन्छ, अनेक पटक आउन हुने, अनेक मान्छेलाई भित्रभित्र भेट्न हुने, मैले बताएको छु, भेटेको छु भन्ने ।’

तथ्य
अन्तर्वार्तामा प्रश्नकर्ताले परराष्ट्रको प्रतिनिधि किन नराखिएको भन्ने सन्दर्भमा प्रष्टै ओलीले भनेका छन्, परराष्ट्रका प्रतिनिधि राख्दा कहिलेकाहीँ खुलस्त कुरा गर्न अप्ठ्यारो हुन्छ । त्यसो भए मैले फलानालाई भेटेको छु भन्दैमा देशको कार्यकारी प्रमुखको जिम्मेवारी पूरा हुन्छ ? कार्यकारी प्रमुखले अर्का देशका गुप्तचर प्रमुखलाई भेटेको कुरा जनताले थाहा पाउनु पर्दैन ? देशको कार्यकारी प्रमुखको हैसियत्मा भेट्ने अनि परराष्ट्रका प्रतिनिधि राखेर खुलस्त कुरा गर्न किन डराउने ? ओलीले यी अनुत्तरित प्रश्नका जवाफ दिन अझै जरुरी ठानेका छैनन् ।

तेस्रो तर्क
पार्टी बैठकबारे अन्तर्वार्ताको १८ मिनेट ३० सेकेण्डतिर पार्टी बैठकको प्रश्न उठ्छ । यही सन्दर्भमा हालै माग भइरहेको सचिवालय बैठकको प्रश्न पनि उठ्छ । पार्टी सचिवालय बैठक नबोलाएको विषयबारे ओली भन्छन्, ‘जसले जतिबेला बसौँ भन्यो, त्यतिबेला बैठक बस्न सकिँदैन । बैठक बस्ने हाम्रो तरिका के छ भने दुई अध्यक्षबीच समझदारी हुन्छ र सोही समझदारी अनुसार बैठक महासचिवले बोलाउने हो ।’

तथ्य
पहिलो कुरा त बैठक बोलाउन माग भएपछि बैठक आव्हान गर्नु पार्टी अध्यक्षको जिम्मेवारी हो, जुन कुरा नेकपाको अन्तरिम विधानमै प्रष्टसँग लेखिएको छ । जबकी नेकपामा अहिले सचिवालय बैठकको माग पटकपटक भइरहेको छ । ओलीले बैठक बोलाउन जरुर ठानेका छैनन् ।

तर, ओलीको तर्क छ बैठक बस्नुअघि अर्का अध्यक्षसँग समझदारी हुनुपर्छ । बालुवाटारमा पटक–पटकको भेटमा प्रचण्डसँग समझदारी गर्न ओलीले किन आवश्यक ठानेनन्, जबकी हालै पार्टी कार्यालय धुम्बाराहीमा भएको अनौपचारिक सचिवालय बैठकमा प्रचण्डले भनेका छन्, ‘मैले समझदारीले बैठक बोलाऔँ भन्दा केपीजीले मान्नुभएन, अब लिखित रुपमै माग गरौँ ।’

त्यसपछि शनिबार ओलीलाई सचिवालयका ५ सदस्यले लिखित पत्र समेत बुझाएका छन् । तर, पनि बैठक बोलाउन उनी तयार छैनन् ।

चौथो तर्क
अन्तर्वार्ताको २४ मिनेट १५ सेकेण्डमा शुक्रबार भएको नेकपाको अनौपचारिक सचिवालय बैठकबारे ओलीले टिप्पणी गर्दै भन्छन्, ‘हिजोको बैठक अनुचित हो, यस्तो बैठब बस्ने, गुटगत निर्णय गर्ने, गुटगत निर्णय लिएर कमिटिमा आउने त्यो तरिका बिल्कुलै उचित होइन, गुटगत बैठक बस्ने, भेला गर्ने तरिका बिल्कुलै ठीक होइन ।’

तथ्य
अन्तर्वार्ताकै क्रममा बैठकका लागि आफूलाई समेत खबर गरेको ओलीले बताएका छन् । त्यसो भए त्यो बैठक कसरी अनुचित भयो ? त्यति मात्रै होइन, ओलीले नै अन्तर्वार्तामा भनेका छन्, प्रचण्डलाई बैठक चलाउन कार्यकारी अधिकार छ । अनि, कार्यकारीले बोलाएको बैठकमा ओली किन गएनन् ? त्यो कसरी गुटगत बैठक भयो ? सचिवालयका सबैलाई बोलाएको बैठक गुटगत हुन्छन् ? यी प्रश्नहरुको पनि जवाफ दिन ओलीले जरुरी ठानेका छैनन् ।

स्मरण रहोस्, कि कुनै बेला ओलीसहितका नेता पनि ध्यानाकर्षण पत्र लिएर तत्काली प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनाललाई भेट्न पुगेका थिए ।

पाँचौ तर्क
अन्तर्वार्तामा ओलीले गजबका तर्क प्रस्तुत गर्छन् । अन्तर्वार्ताको ३० मिनेट ३० सेकेण्डमा उनी भन्छन्, ‘म आफ्ना मान्छेका पक्षमा मरिमेट्ने मान्छे होइन, अहिले धेरै नभनौँ, म देशका जनताका लागि काम गर्ने र कार्यकर्तालाई निष्पक्ष ढंगले कार्यकर्ता देख्ने मान्छे हुँ ।’

तथ्य
तर, तथ्य भन्छ, ओली आफ्ना मान्छेका लागि मात्रै मरिमेट्ने मान्छे हुन् । गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद काण्ड, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र तत्काल रक्षामन्त्री समेत मुछिएका स्वास्थ्य सामग्री खरिद काण्ड यसका ज्वलन्त उदाहरण हुन् । माथि उल्लिखित सबै पात्रका विषयमा ओलीले सार्वजनिक बचाउ समेत गरेका छन् । त्यति मात्रै होइन, ओलीले दिएका हरेक नियुक्ति उनका गीत गाउनेहरुले मात्रै पाएका तथ्य धेरै छन् ।

भिडियोमा अन्तर्वार्ता हेर्नुहोस् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार