२१ कार्तिक २०७७, शुक्रबार

आलेख : गण्डकीकै पहिचान हुन् आलु र भाँगो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार गण्डकी प्रदेश
1.9kViews
1220 Shares

पोखरा । ‘‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन्’’ बागलुङ नगरपालिका वडा नं २ ट्राफिक चोककी हिरादेवी पौडेल भन्दै थिईन्– ‘‘यहाँ आलुको अभावै छ, मैले यहीँको बजारमा बेचौँ कि चितवन पठाउँ ?’

पौडेलले चितवन पठाउँदा आफन्तै भएपनि ताराखोलाको आलुको मूल्य बढी दिन्छन् ।

बागलुङ बजार मात्रै होइन देशका ठूलादेखि साना शहरमा समेत बागलुङको ताराखोला र ढोरपाटनको आलु चर्चित छ ।

पौडेलजस्तै ढोरपाटन र ताराखोलाको आलु बेच्नका लागि सिजनमा बागलुङका व्यवसायीलाई भ्याइनभ्याइ हुन्छ । बागलुङका सबै ठाउँमा आलु फल्छ ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार हिउँदे र बर्खेआलु बागलुङमा फल्छ ।

हिउँदमा लगाएर बर्षाको समयमा उकेर्ने बागलुङको आलु बजारमा बढी चर्चित छ ।

ताराखोला र ढोरपाटनमा फल्ने आलु त्यही हो जुन हिउँदको समयमा उकेर्ने गरिन्छ ।

काठमाडौं, पोखरा, बुटवल र भैरहवामा बागलुङको आलुको चर्चा छ । पूर्वका शहरमा ताराखोला र पश्चिमका शहरमा ढोरपाटनको आलुको चर्चा बढी पाइन्छ । ‘‘हामीले फलाएको आलु बुटवल जान्छ’’ ढोरपाटन नगरपालिका वडा नं। ९ का किसान चन्द्रसिंह कुमाईले भने ‘‘यहाँ अरु अन्न फल्दैन, छाक टार्ने बाटो भनेकै आलु हो ।’’

उच्च पहाडी भू–भागमा फलेको आलु स्वादिलो हुने भएकाले बजारमा माग राम्रो रहेको आलु जोन कार्यक्रम बागुङका प्रमुख कृष्णप्रसाद पौडेल बताउँछन ।

‘‘लामो समय माटोमुनि रहेको आलु चिसोले बिग्रिँदैन’’ उनले भने, ‘कार्वोहाईडेड सङ्कलन शक्ति बढी हुने भएकाले चिसो ठाउँको आलु मिठो हुने हो ।’’

बागलुङमा झण्डै पाँच हजार किसानले आलुको उत्पादन गर्छन् । तीमध्ये व्यावसायिक रुपमा आलुको उत्पादन गरेर गुजारा चलाउनेको सङ्ख्या निकै कम छ । जिल्लामा कति आलु फल्छ र कति निर्यात हुन्छ भन्ने विषयमा साविकको कृषि विकास कार्यालय खारेज भएसँगै तथ्याङ्क राख्ने निकाय छैन ।

यो पनि पढ्नुहोस् ...  गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङबाट तिहारको शुभकामना

तर, यहाँको आलुको बजार राम्रो रहेकाले किसानहरुले आलुबाट राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रको दाबी छ । ताराखोला र ढोरपाटनका किसानले फलाएको आलु बजारमा मूल्य राम्रो पाउने र खान पनि स्वादिष्ट भएकाले त्यहाँका केही किसानले आलुकै भरमा घरगुजारा चलाएका छन् ।

ताराखोला र ढोरपाटनको आलुको मूल्य पछिल्लो पटक बजारमा ८० रुपैयाँ प्रतिकिलो छ । स्थानीय स्तरमा पाथीमा बिक्री गर्ने किसानले पाथीको एक सय पचासदेखि रु दुई सयसम्म लिने गरेका छन् । गत वर्षहरु जस्तो यो वर्ष बागलुङमा बर्षातको मौसमको आलु फलेन । लगाउने समयको हिउँ र तुसारो तथा उम्रिने समयको असिनाले यहाँको आलु उत्पादनमा असर गरेको किसानहरुको गुनासो छ ।

रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बीउमात्रै लगाउने भएकाले ताराखोलाको आलु धेरैले खोज्ने गरेको ताराखोला गाउँपालिका वडा नं। ५ हिलेका किसान दमन रोकाको बुझाई छ । ‘‘घरायसी मल र छापो गाडेर आलु लगाइन्छ’’ रोकाले भने, ‘‘स्थानीय जातकै बीउ लगाइन्छ, विकासी बीउको प्रयोग भएको छैन् ।’’ ढोरपाटन नगरपालिकाको अधिकांश वडामा आलु राम्रो फल्छ । निसीखोला र तमानखोला गाउँपालिकामा फलेको आलुले समेत ढोरपाटनको नाम पाउने गरेको छ । बागलुङमा धम्जा, भकुण्डे, दमेक, गलकोट र बडिगाडको आलुको समेत आ–आफ्नै पहिचान र बजार छ ।

नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि बागलुङको आलु प्रबद्र्धनसहित सुधारका कार्यक्रम ल्याएको छ । छिमेकी जिल्ला गुल्मीका ८ वटा वडासहित बागलुङ पश्चिमका छ वटा स्थानीय तहमा आलुजोन कार्यक्रम सञ्चालनमा छ । ‘‘बहुखेती गर्ने चलन रहेछ, त्यसले आलुको उत्पादन बढ्नमा असर गर्छ’’ कार्यक्रम संयोजकसमेत रहेका पौडेलले भने ‘‘हामीले विस्तारै सुधारेर व्यवसायीक बनाउँदै छौँ ।’’

यो पनि पढ्नुहोस् ...  पोखरामा ५५ वर्षीया महिलामा आरडीटी परीक्षण, कोरोना भाइरस संक्रमण पोजिटिभ

बागलुङमा भाँगो पहिचान्
बागलुङमा धेरै उत्पादन हुने भाँगो र आलुको निकै गहिरो सम्बन्ध छ । पहिलो कुरा त आलुको अचारमा भाँगो लगाउँदा आउने स्वाद सबैको जिब्रोमा गडेको विषय हो । अर्को कुरा यहाँका किसानले पाखोबारी बाँझो नराख्नका लागि भाँगोको खेती गर्छन् ।

बारीमा लगाएको आलु जेठ, असारमा फसल लिइन्छ । जेठ असारमा आलु उकेरेपछि खाली भएको बारीमा न मकै लगाएर फल्छ नत कोदो । चिसो ठाउँ भएकाले मकै र कोदो फल्न समय लाग्छ । सिमी र भाँगो लगाउँदा अर्को पटक आलु लगाउने समयसम्म फसल लिन सकिन्छ । त्यसैले यहाँका किसानले बारी खाली नपार्न भाँगोको खेती गर्छन् ।

भान्छामा अचारको परिकार हुँदा मुख धेरैको रसाउँछ । भाँगो मोलेको अचार अथवा स्थानीय भाषाको चटनी हुँदा खानाको स्वादै बेग्लै हुनपुग्छ । बागलुङको ताराखोला, निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका अधिकांश बारीमा भाँगो फल्छ ।

तर, वैधानिक हिसावले व्यावसायिक बनाएर बजारमा आउने भाँगो कहाँ कसरी फल्छ भन्ने जानकारी नभएकाले पनि भाँगोको अचार मिठै मानेर खाने गरेको पाईन्छ । सरकारले प्रतिबन्ध लगाएको लागुऔषधजन्य उत्पादन हुने गाँजा प्रजातीकै रुखमा फल्छ भाँगो । बागलुङका उच्च पहाडी भू–भागहरुमा भाँगोको खेती राम्रो हुने गरेको भएपनि यसको व्यावसायिक बजार छैन ।

‘‘भाँगो र गाँजाको रुख फरक हुन्छ तर गाँजा फँडानी गर्ने प्रशासनले भाँगो चिन्दैन’’ ताराखोलाका धनबहादुर बिक ‘हिमालले भने, ‘‘बजारमा माग छ तर किसानका बाध्यता छन् त्यसैले भाँगो उत्पादन गर्न पाउनुपर्छ ।’’

बिकले भाँगो, आलु, सिमी र मकै ताराखोलामा उत्पादन शुरुभएको किंवदन्तीको किस्सा सुनाए, ‘‘पहिले बुढाहरुले पाखो मासेर आगो लगाए, काम गर्ने मान्छे थिएनन्, खरानी माटोमा पुरेर आलुदेखि भाँगो एकै पटक बीउ लगाए, त्यही बेलादेखिको परम्परागत खेती हुन सबै ।’’ भाँगो नेपालमा मात्रै होइन खाडी मुलुक र ल्याटिन अमेरिकी मुलुकबाहेक प्रतिबन्ध नरहेका युरोपियनलगायतका मुलुकमा समेत निर्यात हुने गरेको बागलुङका व्यवसायी बताउँछन् ।

यो पनि पढ्नुहोस् ...  सलमान खानको घरलाई बमले उडाइदिने धम्की दिदै युवकले भने "रोक्न सके रोक"

बैधानिक बाटो नहुँदा यसको उत्पादन र निकासीको तथ्याङ्क भने छैन । अहिले बजारमा भाँगो प्रतिकिलो रु ३ सय सम्ममा बिक्री हुन्छभने देशका ठूलादेखि साना शहरका भान्छामा समेत अचार बन्ने गरेको छ ।

बागलुङमा उत्पादन हुने भाँगोका रुखहरु हरेक वर्ष नासिने गरेका छन् । प्रहरीले अबैध गाँजा उत्पादन रोक्ने भन्दै एकै प्रजातीका गाँजा र भाँगोका रुखहरु मास्दा किसानहरु मर्कामा पर्ने गरेका छन् । भाँगो र गाँजाका विषयमा बेला बेलामा सरोकारवालाबीच चर्चा हुने गरेको भएपनि यसको बैधानिकताको लागि भने कानुनी बाटो बन्द छ । यसवर्ष निसीखोलाका अधिकांश बारीमा लगाइएका भाँगोका रुखहरु फाँडिएकाले मूल्य बृद्धि हुने उपभोक्ताको आँकलन छ ।

‘‘पोहोर साल भाँगो ल्याएको ठाउँमा पुग्दा भण्डारण नभएको, रुखै मासेको भनेर फर्काइदिए’’ बागलुङ बजारका किराना व्यवसायी खगेन्द्र पौडेल भन्छन ‘‘बजारमा माग उच्च छ तर उत्पादन हुने ठाउँहरु खाली छन् ।’’ किसानले उत्पादन गरेको भाँगोबाट निस्किने पाउडरलाई समेत तस्करहरुले भने गाँजाको नाम दिएर बिक्री गर्ने गरेकाले समेत बेला बेलामा यहाँको भाँगो गाँजाका बहानामा नासिने गरेको हो ।

बागलुङका अधिकांश ठाउँको वातावरणमा फल्ने भाँगोको व्यावसायिक उत्पादन नभए पनि बागलुङ चिनाउने गण्डकी प्रदेश समृद्विको ब्राण्ड हो भाँगो । यसको व्यवस्थित उत्पादन र बजारीकरण गर्न सक्ने हो भने भारतीय र चिनियाँ बजारबाट आउने अचारका परिकारलाई विस्थापन गरी आन्तरिक राजश्वको माध्याम भाँगोलाई बनाउन सकिन्छ । भाँगोलाई व्यावसायिक बनाउन सके बागलुङको पश्चिमका अधिकांश पालिकाको आयस्रोतको राम्रो माध्याम पनि हुनसक्छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार