सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी भएको बुझिएको छ ।
आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए ।
स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढा लाई हटाउने तयारीमा मुख्यमन्त्री शाही रहेका छन् । मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’
बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी रहेको बुझिएको छ ।
मन्त्रिमण्डलमा प्रवेश गर्ने नयाँ अनुहारहरुको बारेमा भने अहिलेपनि मुख्यमन्त्री कार्यालयमा छलफल चलिरहेको छ ।






