२५ माघ २०७६, शनिबार

एउटै प्रश्नले अन्तत बनाइछाड्यो बुद्धिलाई कमेडी कलाकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार फुर्सद
65Views
Shares

‘धेरैपछि आफ्नै बुढी देख्दा पनि जिउ नै सिरिङ्ग हुँदो रहेछ हो’ चलचित्र छक्कापञ्जामा पछिल्लो पटक कलाकार बुद्धि तामाङको डायलग हो यो। बुद्धिको यो थेगो अहिले पनि बजारमा चर्चित छ।

हैट!, क्यारुम त अनि मर्न सकिएन जस्ता थेगोकै कारण कलाकारिता क्षेत्रमा उचाई बनाएका उनीसँग संवादका लागि भेट्दा विषय प्रवेश नहुँदै उनले भनिहाले, ‘खासमा म बौलाहा टाइपको छु के, एउटै मात्र काम गरेर बस्नै सक्दिन, तर नाटक क्षेत्रमा चाहिँ मनलाई सम्हालेर राखेको छु।’

बुद्धिले विद्यालय तहमै किटान गरेका थिए कि उनको अन्तिम लक्ष्य कमेडी कलाकार बन्ने हो। स्थानीय भूमि माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दा ‘अन्यायको बदला’ भन्ने नाटक खेल्ने अवसर पाएका थिए उनले। ‘चञ्चले स्वभावका कारणले नै होला मलाई कमेडीको भूमिकामा अभिनय गर्ने अवसर मिल्यो’ उनी सम्झिन्छन्।

काभ्रेको सरमथली गाविसमा जन्मिएका उनको ‘अन्यायको बदला’मा गरेको अभिनयकै कारण सात गाउँमा त्यतिबेलै चर्चा थियो। त्यसपछि कक्षा ९ मा पढ्दा उनी र अर्का साथी मिलेर ‘चेलीको बेदना’ भन्ने नाटकको निर्देशन नै गरे। तर कक्षा १० मा पुगेपछि उनको नाटक अर्थात कलाकारिता क्षेत्रप्रतिको मोह घट्दै गयो। कारण थियो परिवारको कमजोर आर्थिक अवस्था।

झण्डै भत्किएको कमेडी कलाकार बन्ने सपना
परिवारका एक्ला छोरा उनका दुई दिदी र दुई बहिनी थिए। दिदीहरुको बिहे भएपछि परिवारको आर्थिक बोझ उनको काँधमा आयो। ‘पारिवारिक समस्याका कारण मेरो कलाकार बन्ने भविष्यको सपना भत्किसकेको थियो’ ती दिनलाई सम्झिँदै बुद्धि सिरियस भए।

आर्थिक संकट समाधान गर्ने सिलसिलामा उनी काठमाडौँ छिरे। काठमाडौं बस्ने गाउँलेहरुले जागिर मिलाइदिने आश्वासन पटक–पटक दिएका थिए। ‘आमा बिरामी भएकाले मलाई पैसा कमाउनु थियो, पैसाको दौडमा म गाउँलेहरुले जागिर मिलाइदिने आश्वासनको पछि लागेर ०५६ सालमा काठमाडौंमा छिरेँ’ उनले भने। दुई महिना जति उनी आश्वासनको पछि लागे। तर आश्वासन दिनेले कुनै जागिर नमिलाएपछि उनी आफ्नै ढंगले अघि बढे। त्यसपछि उनी पुगे भक्तपुरको इँटाभट्टामा। छ महिना इट्टा भटामा काम गर्ने र छ महिना गाउँ फर्केर खेतीपाती गर्ने उनको कार्यतालिका थियो। तर इँटाभट्टामा काम गर्दैगर्दा एकदिन उनको मनमा प्रश्न उठ्यो ‘जीवन के यति मात्रै हो?’

एक मनले सोधेको प्रश्नको जवाफ उनको अर्को मनले दिइहाल्यो, ‘होइन, जीवन यो भन्दा बढी पनि केही हो, पैसा कमाउनकै लागि पनि यही मात्रै पेशा ठीक भन्ने छैन।’

यो पनि पढ्नुहोस् ...  कोरोनाभाइरस मारेरै फर्कने भन्दै चीन गएकी राखी भइन ट्रोल , प्रभूसँग माफी मागे

त्यही जवाफ र आदेश अनुसार नै उनले इटाँभट्टाको काम छाडे। उनलाई लाग्यो, पैसा नै कमाउने हो भने व्यापार ठीक छ। त्यसपछि लागे व्यापारतिर। भक्तपुरको सूर्यविनायक वरपर बदाम, बरफ अनि खुर्सानी बेच्ने उनको दैनिकी बन्यो। कमाई पनि राम्रै थियो, सन्तुष्ट पनि थिए तर एकदिन फेरि व्यापार पेशामाथि प्रश्न खडा भयो। ‘व्यापार भन्ने चिज प्रत्येक दिन उही स्तरमा नहुने, कहिले टन्न गोजीमा हुने कहिले सुको नहुने पीडाले मलाई व्यापारबाट विकल्प सोच्न बाध्य बनायो’ हाँस्दै उनले भने, ‘व्यापारबाट म सन्तुष्ट हुन नसकेपछि जीवनले ममाथि प्रश्न सोध्यो अब के गर्ने?’

अब के गर्ने भन्ने प्रश्नपछि उनलाई लाग्यो, व्यापारभन्दा जागिर ठीक। ठूलो जागिर पाउने आशा उनी आफैलाई थिएन। त्यसैक्रममा एकजना साथीलाई जागिर मिलाइदिन आग्रह गरे। साथीले सोध्यो ‘भाँडा माझ्ने त?’ बुद्धिले मुन्टो हल्लाउँदै भनेछन्, ‘हुन्छ, आखिरमा त्यो पनि जागिर नै त हो नि।’

२०५९ सालदेखि उनको दैनिकी जागिरमा परिणत भयो। जमलको एक होटलमा भाँडा माझ्ने जागिर पाएपछि उनले काठमाडौंमा बसाई थाले। ‘मेहनतले काम गर्ने भएकाले होला, मेरो एक हप्तामै प्रमोशन भयो। मैले भाँडा धेरै माझ्नु परेन’ बुद्धिले सुनाए। मेहनतले निरन्तर काम गरेपछि अन्तत उनी त्यही होटलको ‘म्यानेजर’ बने। होटलमा काम गर्दा पैसा कमाइरहेकै थियो तर पछि उनलाई फेरि जागिर सुख्खा लाग्न थाल्यो। ‘जागिर खानु भनेको बन्धनमा बाँधिनुरहेछ, एकै ठाउँमा बसिरहनु ठीक होइन भन्ने लाग्यो’ उनले भविष्यप्रति इंगित गर्दै भने, ‘मेरो जीवनले फेरि ‘ह्वाट नेक्स्ट’ भन्ने प्रश्न सोध्यो।’

घुम्ने, नयाँ ठाउँ हेर्ने उनको बाल्यकालदेखिकै रुचि हो। कलाकार बन्ने सपना टुटेपछि उनले नयाँ ठाउँ घुम्ने र पैसा कमाउने अर्को चाहना र लक्ष्य राखेका थिए। ‘काम खोज्दै जाने क्रममा मैले ट्रेकिङमा काम पाएँ, भारी बोकेर ड्याङ कि ड्याङ हिँड्दा पनि दुख लागेन’ रमाइलो मान्दै बुद्धिले सुनाए, ‘नयाँ ठाउँ घुम्न, अनि नयाँ किसिमको अनुभूति गर्न पाएपछि जति दुख भएपनि मान्छेले सुखकै अनुभूति गर्ने रहेछ।’ तर केही समयपछि त्यो काम पनि उनलाई साह्रै जोखिम जस्तो लाग्यो। रमाइलो मान्ने र नयाँ ठाउँ घुम्ने गरेर मात्रै जीवन चल्दैन भन्ने सोचेर उनी डेढ वर्ष पनि ट्रेकिङमा टिकेनन्। फेरि प्रश्न उठ्यो ‘ह्वाट नेक्स्ट?’ सँगै अर्को मनले प्रश्न सोध्यो जे काम गर्‍यो त्यही छोडेर अब गर्ने के? त्यसपछि उनले एउटा संकल्प गरे अब गर्ने काममा दृढता र स्थायित्व हुनु आवश्यक छ।

यो पनि पढ्नुहोस् ...  शाहिद कपुरको फिल्म ‘कबिर सिंह’,सिंहजस्ता बिग्रिएका पात्रको तारिफ गरेको आरोप

अन्तत: जोडियो सपना, बनिछाडे कमेडी कलाकार
ट्रेकिङबाट फर्केपछि काठमाडौंको सामाखुशीस्थित साथी प्रभात लामाको ट्युसन सेन्टरमा पुगे उनी। प्रभातसँग उनले जागिर छाडेर बसेको प्रसंग निकाल्दै केही काम मिलाइदिन आग्रह गरे। त्यहाँ गफगाफ गर्दै जाँदा प्रभातले उनलाई सोध्यो ‘नाटक गर्न तयार छौँ?’ लगत्तै उनले जवाफ दिए, ‘अहिलेसम्म आएको काम छोडेको रेकर्ड छैन, नाटक नगर्ने कुरै छैन, बाल्यकालमा भविष्यको लक्ष्य पनि नाटक खेल्ने नै थियो।’ नाटक खेल्ने सल्लाहपछि शंकनारायण प्रजापतिलाई प्रभातले उनीसँग चिनजान गराइदिए। प्रजापतिले डबली थिएटरका पुष्कर गुरुकहाँ पुर्‍याइदिए। त्यसपछि उनी पसे नाटकको संसारमा।

सुरुमा उनीहरुले सडक नाटक देखाए। देशका ६ जिल्लामा देखाइएको उक्त नाटक संविधानसभामा महिलाहरुको हक अधिकार सम्बन्धी थियो। घुम्न पनि पाउने, नाटक पनि खेल्ने र प्रोजेक्ट भएकाले पैसा पनि आउने भएपछि उनलाई नाटकको क्षेत्र नै रमाइलो लाग्यो। अन्यौलताका बीचमा नाटकमा प्रवेश गर्दै गर्दा उनलाई आफ्नो उमेरले जीवनको लक्ष्य निर्धारण गर्न घच्घच्यारहेको थियो। ‘जहाँ गएपनि केही नापिने होइन रहेछ, आखिरीमा एउटा काम गर्ने हो भनेर मैले नाटकमै सम्भावना खोजेँ, र २३ वर्षको उमेरमा मैले जीवनलाई एउटा लक्ष्यमा डोर्‍याउने दृढता गरेँ। त्यही लक्ष्य अनुसार म नाटकमा छु’ अलिक गम्भीर हुँदै बुद्धिले भने।

विस्तारै नाटकमा लत बसेपछि उनले डबली थिएटरमै बस्नका लागि वातावरण बनाउन आग्रह गरे। डबलीका साथीहरुले त्यहाँ बस्ने व्यवस्था गरिदिए। केही सडक नाटकपछि उनी ‘मलामी’ नाटकमा अनुबन्धित भए। ‘मलामी’ मा उनी वृद्धको भूमिकामा थिए। उनले डबली थिएटरमा काम गरेको ४ वर्ष बितेपछि मण्डला नाटकघर सुरु भयो। मण्डला सुरु भएपछि उनी मण्डालातिर आए। मण्डलामा प्रवेशपछि नाटकमा झन् जम्दै गए। २ वर्षसम्म मण्डलामा काम गरेपछि बुद्धि तामाङको एउटा लेभल बनेको उनी बताउँछन्।

बुद्धिले चलचित्र कबड्डीमा पनि अभिनय गरे। सशक्त टिमका कारण चलचित्र कबड्डीले सफलता पाएको र कबड्डीसँगै आफू र आफूले गरेको अभिनय स्थापित भएको दावी गर्छन् उनी। हैट! बुद्धिको पछिल्लो चर्चित थेगो हो। हैट! शब्द उनले दैनिक जीवनमा पनि प्रयोग गर्ने रहेछन्। तर धेरै याद गर्ने र मन पराउने गरेकाले थेगो नै भयो। ‘जाँगर नहुँदा, सुतेर उठ्दा, हैट! यसरी सुतेर जाँगर नचलाएर पनि हुन्छ, काम गर्नुपर्छ’ जोसिलो पारामा उनले भने, ‘हैट! भन्ने शब्द म प्राय प्रयोग गर्थेँ तर रामबाबु सर (रामबाबु गुरुङ) ले त्यसलाई लिपिबद्ध रुपमा अक्षरमा कबड्डीमा लेख्नुभयो।’ सीताराम कट्टेलले मेरी बास्सैमा हैट! कै अभिनय गर्न लगाएपछि त्यसले थप चर्चा पायो। उनी भन्छन्, ‘कलाकार आफैँले पनि पत्तो नै हुँदैन कि थेगो कतिबेला प्रयोग भयो।’

यो पनि पढ्नुहोस् ...  मंगल भण्डारी : जो आफ्नो नीजि सवारीमा कोरोना संक्रमित बोकेर अस्पताल पुगिरहन्छन्...

सअघि खेलेका नाटकहरुमा पनि थेगोकै कारण चर्चित भएका थिए बुद्धि। ‘मलामी’ नाटकमा उनले ‘क्यारुम त अनि, क्यारुम मर्न सकिएन’ भन्ने शब्दलाई फरक शैलीबाट प्रयोगमा ल्याएका थिए। यो थेगो केही समय चल्यो। ‘क्यारुम त नि क्यारुम बुद्धि मर्न सकिएन’ भन्दै साथीहरुले पनि पछिसम्म जिस्काइरहन्थे’ उनले भने। नाटक ‘डिग्री माइला’ उनको थेगो ‘ऊ’ ले पनि केही समय चर्चा पायो। ‘यो शान्तिरामको ‘ऊ’ चाहिँ साह्रै राम्रो’ डिग्री माइलामा उनको एउटा डायलग थियो। ऊ भन्ने शब्दलाई विकल्पका रुपमा प्रयोग गर्ने मान्छेको बानीलाई नाटकमा प्रयोग गरेका थिए बुद्धिले। ‘थेगो कुनै नयाँ चिज होइन जनजिब्रोमा झुण्डिएको शब्दलाई फरक ढंग वा शैलीबाट प्रयोगमा ल्याइएको मात्रै हो’ उनी भन्छन्।

इंगलिस टु इंगलिसले ट्वाँ! नाटक क्षेत्रमा प्रवेश गरेसँगै उनी केही अोरेन्टेसन (तालिम) कक्षाहरुमा पनि पुगे। ‘स्टाफ कलेजमा ओरेन्टेसन रहेछ, त्यहाँ सबैले इंगलिस टु इंगलिस बोलेपछि म त ट्वाँ…परेर हेरिरहे, केही बुझ्ने होइन’ पछाडि झोला भिरेर चप्पल लगाउँदै कार्यक्रममा सहभागी भएको दिनलाई कुनै नाटकमा अनुबन्धित भए जसरी नै उनले कमेडी तरिकामा सम्झिए। तेस्रो दिनमा उनले भाग्ने प्रयास गरे तर भागेर कहाँ जाने हो भन्ने प्रश्नले उनलाई भाग्नबाट रोक्यो। ‘जीवनमा भाग्दाभाग्दै यहाँसम्म आइपुगे, अब भाग्नुहुन्न, भागेर जाने मेरो लागि अब कुनै सहर छैन’ उनलाई त्यतिबेला त्यही एउटा कुरालाई भाग्नबाट रोक्यो। ओरेन्टेसनमा अरुले अंग्रेजी बोल्दा आफू ट्वा पर्नु परेकै कारणले उनी दुई महिना अंग्रेजी भाषा सिक्न गए। तर कुनै उपलब्धि नदेखिएपछि छाडिदिए।

बुद्धिलाई पहिला पैसा नै सबथोक हो भन्ने लाग्थ्यो तर नाटक क्षेत्रमा लागेपछि उनको त्यो सोचाई परिवर्तन भएको छ। ‘अहिले आएर मलाई के लाग्छ भने पैसा सबथोक होइन, पैसा जति कमाए पनि पुग्दैन, कहिल्यै नपुग्ने कुराको पछि किन लाग्ने?’ उनले भने, ‘तीन चारदिनसम्म तातो भात खान नपाउँदा समेत मैले नाटक क्षेत्रलाई छाडिनँ। किनकी पैसा मात्रै सबै चिज होइन, नाटकबाट केही गनुर्पछ भन्ने लाग्यो उनलाई, र अडिरह्यो नाटकीय क्षेत्रमा। नाटक क्षेत्रमा आएपछि पनि उनको जीवनले बारम्बार ह्वाट नेक्स्ट प्रश्न सोधिरह्यो। ‘तर भागेर कहाँ जाने हो?’ उनले आफूमाथि नै अर्को प्रश्न सोधे।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार