शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत शिवपुरी–चिसापानी मध्यवर्ती उपभोक्ता समितिमार्फत आज शिवपुरी मध्यवर्ती क्षेत्रका वडा नं. १, २ र ३ का वन्यजन्तुबाट प्रभावित किसानहरूलाई आर्थिक वर्ष २०८२/०८३ को राहत रकम वितरण गरिएको छ। बाँदर, बँदेल तथा अन्य वन्यजन्तुबाट बालीमा क्षति पुगेका किसानहरूलाई रु. ४,००० देखि रु. ५,००० सम्म तथा वन्यजन्तुको आक्रमणबाट पशुचौपाया मरेका पीडितलाई रु. ५,००० देखि रु. १५,००० सम्म राहत रकम प्रदान गरिएको हो।
राहत वितरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष सुकुराम तामाङ, वडा नं. २ का अध्यक्ष कुमार तामाङ, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, नेपाली सेना, नागरिक समाज, विद्यालयका प्रतिनिधि तथा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
शिवपुरी–चिसापानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष गोपाल तामाङका अनुसार आर्थिक वर्षको अन्तिम समयमा बजेट व्यवस्थापनमा चुनौती हुँदाहुँदै पनि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विष्णु श्रेष्ठ तथा व्यवस्थापन समितिका अध्यक्षको पहलमा रकम रकमान्तर गरी प्रभावित किसानलाई राहत उपलब्ध गराइएको हो। उनले आर्थिक वर्ष २०८०/०८१ को राहत रकमका लागि समेत सम्बन्धित विभाग, वन मन्त्रालय र अर्थ मन्त्रालयमा निरन्तर माग तथा पहल भइरहेको जानकारी दिए। लामो समयदेखि राहतको प्रतीक्षामा रहेका किसानहरूले आर्थिक वर्षको अन्त्यमा समेत राहत प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन्।
समितिका अध्यक्ष तामाङले कुनै पीडित किसान छुट्नुभएको भए भोलिसम्म सम्बन्धित समितिमा सम्पर्क गर्न अनुरोध गरेका छन्।





