विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

उज्यालो प्रतिनिधि २९ जेष्ठ २०८३, शुक्रबार खेल

काठमाडौँ, २९ जेठ : फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु हुँदैछ । मेक्सिको सिटी स्टेडियममा हुने उक्त उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । उक्त खेल नेपाली समयअनुसार अहिले राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपमा यी दुई टोली समूह ‘ए’ मा रहेका छन् । समूह ‘ए’मा मेक्सिको, दक्षिण अफ्रिकासँगै चेक गणतन्त्र र दक्षिण कोरिया रहेका छन् । यसअघि सन् २०२२ मा कतारमा आयोजना भएको विश्वकपमा भने मेक्सिको समूह चरणबाट नै बाहिरिएको थियो । त्यसअघि सन् १९९४ देखि २०१८ सम्म लगातार सातपटक मेक्सिकोको यात्रा अन्तिम १६ मा समाप्त भएको थियो ।

सन् १९७० र १९८६ मा भएको विश्वकपमा भने मेक्सिको अन्तिम आठमा पुगेको थियो । यसपटक भने मेक्सिको ती सबै नतिजालाई बिर्सँदै नयाँ इतिहास बनाउने उद्देश्यका साथ मैदानमा उत्रनेछ ।

यता, दक्षिण अफ्रिका पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । सन् २०१० पछि दक्षिण अफ्रिका विश्वकपमा पहिलोपटक खेल्दैछ । त्यतिबेलाको विश्वकप दक्षिण अफ्रिका आफैँले आयोजना गरेको थियो । त्यतिबेला दक्षिण अफ्रिका समूह चरणको खेलबाटै बाहिरिएको थियो । दक्षिण अफ्रिका करिब १६ वर्षपछि विश्वकपमा फर्किएको हो ।

विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकप तीन देशका १६ सहरमा प्रतिस्पर्धा हँुदैछ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका तीन तथा क्यानडाका दुई सहरमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक ४८ राष्ट्र सहभागी भएका छन् । यसअघि ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए ।

आजदेखि सुरु भएर जुलाई १९ तारिखमा न्युयोर्कमा समापन हुने यस विश्वकपको सुरुआत तीनवटै आयोजक राष्ट्रमा उद्घाटन समारोह हुनेछ । विश्वकपको उद्घाटन मेक्सिको सिटी, क्यानडाको टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोहमा हुँदैछ । तीनवटै आयोजक राष्ट्रले आ–आफ्नो देशको संस्कृति, इतिहास र पहिचानलाई प्रस्तुत गर्नेछन् ।

मेक्सिको सिटीमा आज हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तरराष्ट्रिय कलाकारहरूले प्रस्तुति दिनेछन् । अमेरिकामा भने यही जुन १२ तारिखदेखि खेल सञ्चालन हुनेछ । अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा अमेरिकाको सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर प्रस्तुति दिइनेछ । उद्घाटनसत्रपछि आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै विश्वकपको उद्घाट गर्नेछ । उक्त खेल नेपाली समयअनुसार आज बिहान ६ः४५ बजे हुनेछ ।

त्यस्तै क्यानडाको टोरन्टोमा पनि जुन १२ तारिखमै विश्वकपको उद्घाटन हुनेछ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको क्यानडाले आफ्नो देशको पहिचानलाई प्रस्तुत गर्नेछ । मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसेकाको अनुभव छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार