काठमाडौं । दक्षिण कोरियाको सुओन सहरका लागि सामाजिक तथा सञ्चार क्षेत्रमा क्रियाशील साहारा मोक्तान पर्यटन प्रवद्र्धक नियुक्त भएकी छिन् । सरकारले यसअघि पर्यटन दूतको रुपमा नियुक्त गर्दै आए पनि हालैको कार्यविधि अनुसार ‘पर्यटन प्रवद्र्धक’को रुपमा नियुक्त गरेको हो ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०८० साल फागुन १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट मोक्तान दक्षिण कोरियाको सुओन सहरका लागि पर्यटन दूत नियुक्त भएकी हुन् । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत् पर्यटन प्रवद्र्धक नियुक्ति सम्बन्धी कार्यविधिअनुसार विभिन्न देशका लागि २९ जना पर्यटन प्रवद्र्धक (दूत) नियुक्तिको जानकारी समेत दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं. १ मा जन्मिएकी मोक्तान आगामी २ बर्षका लागि पर्यटन दूतमा नियुक्त भएकी हुन् । उनी पर्यटकीय प्रवद्र्धन तथा सामाजिक जागरणका क्षेत्रमा क्रियाशील छिन् ।
उनी विगत ५ वर्षदेखि दक्षिण कोरियाको योङगिन सहरमा बस्दै आएकी छिन् । पर्यटक दूतमा नियुक्त भएसँगै उनले नेपालको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सक्ने प्रयास र काम गर्ने बताइन् । मोक्तान उज्यालो नेटवर्क डटकमको दक्षिण कोरियाका प्रतिनिधि समेत हुन् ।






