दूरगामी महत्वका एजेन्डा बोक्ने राम्रो नेता खोज्ने कि हाम्रो नेता ?

उज्यालो प्रतिनिधि २ पुष २०७८, शुक्रबार

रितु के.सि, काठमाडौं ।
‘समाज जति सत्यबाट टाढिन थाल्छ, त्यति नै उसले सत्य बोल्नेहरुलाई घृणा गर्न थाल्छ ।’ यो वाक्यांश जस्तै पछिल्लो समय मानिसले सत्यलाई रुचाउन वा स्वीकार गर्न असहज बन्दै गएको अवस्थामा के हामी सत्यमा आधारित भएर हाम्रा नेतृत्वहरु तय गरिरहेका छौं ? वा माथिको वाक्यांशमा भनेजस्तो हामीले मानेका सत्यका मानकहरु विस्तारै समाजसँग टाढिँदै घृणाको शिकार हुन थालेको हो ? हामीले हाम्रा साना इकाईदेखि माथिल्लो तहसम्म कस्तो नेतृत्व जन्माइरहेका छौं र,उनीहरुलाई नेता बनाउन हामीले कुन आधारभूत मापदण्डमा टेकेका छौं ? दूरगामी महत्वका एजेन्डा बोक्ने, इमान्दार र राम्रो नेता खोजिरहेका छौं कि आफूलाई व्यक्तिगत रुपमा लाभ दिने हाम्रो नेता खोजिरहेका छौं ? यी प्रश्नले सबैलाई एकपटक सोच्न बाध्य तुल्याउँछ । हाम्रो देशमा नेताको पदवी पाउन मानिसहरु मरिहत्ते गरेर लागेको देखिन्छ । तर, संसारभरि राजनीतिप्रति विकर्षण छ । किनभने, राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो ।

राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले संसारभरमा राजनीति कठिन त्यागको विषय बनेको छ । तर, नेपालमा राजनीति लाभ र भ्रष्टाचारको अवसरका रुपमा विकास भएको छ । राजनीतिले देश विकास गर्नेभन्दा पनि संगठनात्मक आवरणमा जनतालाई धोका दिने काम गरिरहेको छ । हाम्रा शालीनता, धैर्यता र विरोधाभासपूर्ण मनोविज्ञानको गलत फाइदा उठाउँदै राजनीतिक र सांगठानिक अपराध भइरहेको छ । राजनीतिक स्वतन्त्रता र खुला बजार अर्थतन्त्रको अवधारणाले स्वभाविक रुपमा भएका विकास बाहेक मूल राजनीतिक इच्छाशक्तिका आधारमा विकास निर्माण वा सुशासनका सन्दर्भमा दूरगामी परिवर्तन हुनसकेको छैन । राजनीतिक आवद्धताका आधारमा घरघर र गाउँगाउँमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारको संस्कृति सामान्यीकरण भएको छ । तर, देशको मूल राजनीतिक नेतृत्व भने भाइभारदारको झगडा देखाएर राज्यदोहनमा तँछाड मछाड गरिरहेका छन् । नेतृत्वमा पुगेकाहरूले सोच्ने, महसुस गर्ने र कार्य–व्यवहारमा लागू गर्ने कुराले जनतामा प्रभाव पार्छ । नेता हुनुको अर्थ साधारणपन पनि हो । केहि समय पहिले डेनमार्कका पूर्वप्रधानमन्त्रीले आफू बस्दै आएको सरकारी निवास छोड्ने बेलामा एउटा सानो झोला बोकेर पैदल हिँड्दै बाहिरिएको दृश्य हामीलाई खुब राम्रो लाग्यो । तर, हाम्रा पूर्वप्रधानमन्त्रीहरूका अगाडिपछाडि सुरक्षाकर्मीका लावालस्करले आँखा बिझाए पनि हेर्न हामी बाध्य छौँ । खासमा नेता हुनुको अर्थ राज गर्नु नभएर जनताको जीवन सहज बनाउनका लागि सहजीकरण गर्नु हो ।

नेता भनेको यस्तो मानिस हो जसले दूरदृष्टि राख्न सक्छ, परसम्म देख्न सक्छ, जनतालाई समान व्यवहार गर्न सक्छ । भोट जसको लिए पनि निर्वाचित भएर पदमा पुगिसकेपछि उसले जनतालाई हेर्ने दृष्टिकोण समान हुनुपर्छ । तर, अहिले राजनीतिक नेतृत्व बडो जाली र आडम्बरी बनेको छ । किनभने यसले भनेको कुराहरू गर्न छाडेको छ । जुनसुकै दलको राजनीतिक नेतृत्व किन नहोस्, सत्ता र शक्तिको दम्भले अरुका कुरा सुन्नै नसक्ने भएको छ । त्यस्तै अहिले नेतृत्वमा रहेका नेताहरुमा उनीहरु मालिक हुन् र उनीहरुले अरुलाई दिने हो भन्ने सामन्तवादी सोच हावी भएको छ । नागरिकको सर्वोच्चतालाई उनीहरुले आत्मसात गर्न सकेका छैनन् । व्यवहारमा अहिलेको नेतृत्व ढुलमुले मात्र छैन चरम अवसरवादी पनि छ । लोकतन्त्रमा नेतृत्व सामुहिक हुन्छ भन्ने सोच लुप्त भएका नेताहरु हावी भएका छन् । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नामका तीनवटा तन्त्र अभ्यास गरिसक्दा समेत हाम्रो जीवनको गुणस्तरमा तात्विक विकास भएको छैन । हाम्रो समाज र संकीर्ण सामाजिक मूल्य मान्यताहरु जहीँको त्यहीँ छ । हाम्रा दुःखहरु उस्तै छन् । सार्वजनिक यातायात, शिक्षा, स्वास्थ्यमा समान पहुँच छैन । विकासका नाममा बजेटको दोहन गरी बनाइएका गुणस्तरहीन सडकमा दैन्य दुर्घटना भएर मानिस अकालमा मरिरहेका छन् । सरकारी अस्पताल नपुग्दै वा पुगेपनि ओल्लोपल्लो कोठा धाउँदा धाउँदै, डाक्टर भेट्न नपाउँदै र शल्यक्रियाको पालो नआउँदै ज्यान फाल्नेहरुको संख्या घटेको छैन ।

निजी स्कुलका विद्यार्थी र सरकारी स्कुलका विद्यार्थीले समान गुणस्तरको शिक्षा नपाउँदा समतामूलक समाज निर्माणको लक्ष्य झन् झन् टाढा हुँदैछ । युवालाई विदेश निर्यात गरेर तिनको पसिनाको धन र अकाल मृत्यु बोकेका बाक्सा आयात गर्ने सरकारी नीतिका कारण जनशक्ति पलायनको समस्या बढ्दैछ । जसको कारण आर्थिक, सामाजिक र पारिवारिक विचलनले दिनप्रतिदिन समाज निरस एवं दुखी बन्दैछ । तर, देशको मूल राजनीतिक नेतृत्व भने भाइभारदारको झगडा देखाएर रमिते जस्तै बनेका छन् । योभन्दा ठूलो अस्तव्यस्तता के हुनसक्छ ? विकासका नाममा समृद्धिका नारा, लोकतन्त्र, गणतन्त्र, नगरपालिका, गाउँपालिका, मेयर, उपमेयर, शिक्षा प्रमुख, स्वास्थ्य मन्त्री जो जो आए पनि देशको हालत उही छ । तसर्थ अबका नेता र नेतृत्वले आम नागरिकहरुमा पारदर्शीता, त्याग र इमान्दारिताको प्रर्दशन गर्दै अहिलेको बिग्रिएको राजनीतिको कोर्ष परिवर्तन गर्नुपर्दछ । यसका लागि हामीले सर्वप्रथम क्षेत्रीय, भौगोलिक र व्यक्तिगत निकटता वा प्रलोभनका आधारमा नभई आजको र भोलिको पुस्ता एवं समाजलाई सही दिशानिर्देश गर्ने पार्टी र नेताहरुका बारेमा बहस चलाउन आवश्यक छ । हामीले हाम्रा सीमित व्यक्तिगत समस्या समाधान गरिदिने सहयोगी नेता नभई समयक्रममा सबै नागरिकले अधिकारको समान उपभोग गर्नसक्ने प्रणालीको द्रष्टा र नेतृत्वकर्ता जन्माउन आवश्यक छ । अबका दिनमा हामीले नेतृत्व चयन गर्दा फलानो नेताले हामीलाई के दियो भन्दा पनी फलानो पार्टीले बोकेका एजेण्डा ठीक छन त्यसलाई सत्तामा पुर्याएर हेरौं भन्ने मानसिकता राख्नु जरुरी छ । नेताले कति पैसा खर्च गरेर चुनाव जित्यो भन्दा पनि समाजलाई कुन दूरदर्शीताका आधारमा नेतृत्व गर्नसक्छ र गर्यो भन्ने बुझ्न जरुरी छ ।

आफ्ना बच्चा महंगो स्कुलमा पढाएर जनताको छोराछोरीलाई बन्दुक र झण्डा बोकाउने विकृत अनुहारका नेतालाई आदर्श मान्नेकी सामुदायिक विद्यालयलाई निजी वा सोभन्दा उन्नत बनाउने दृढता बोकेकालाई साथ दिने भन्ने कुरा जनताले बुझ्न सक्नुपर्दछ । तर, दुर्भाग्य, शासन, सत्ता र शक्तिमा पुग्न पार्टी कब्जाको मनस्थितिबाट राजनीतिमा होमिएका वर्तमान युवा पुस्ताहरुबाट राजनीतिको कोर्ष परिवर्तन हुने सम्भावना कम छ । केही टाठाबाठा, जान्ने सुन्ने भनिएका युवा नेताहरु पनि ‘दाइ’ नेताको फेरो समातेर हिँडेका छन् । यस्तै पार्टीभित्र तल्लो तहका बहस र छलफलमा पार्टीका कमजोरी र नेतृत्वका नाकामीलाई चर्को ढंगले उठान गर्ने तर शीर्ष नेतृत्वसामु लम्पसार पर्ने प्रवृत्ति सबै दलहरुमा हावी छ । सम्बन्धित वर्ग र तहको प्रतिनिधित्व गर्ने गरी छनोट भएका नेता कार्यकर्ता नै माथिल्लो निकायलाई आधारभूत तहका गुनासो र असन्तुष्टिहरू सञ्चार गर्न हिचकिचाउँछन् । समग्र देशको हितभन्दा पनि आफू, आफ्ना मान्छे र आफ्नो दलभन्दा माथि उठेर सोच्ने प्रवृत्ति कुनै दल वा तिनका नेतामा नपाइनु दुर्भाग्य हो ।

जनताको चुलो राम्ररी बल्न नसकिरहँदा राज्यका मुख्य अधिकारीहरु सत्ताको व्यापक दुरुपयोग गर्दै देश–विदेशमा भ्रमण गर्ने, बेतालका सभासेमिनारमा राज्यको ढुकुटी रित्याउने काममा सक्रिय छन् । अनि युवा नेता यिनै गद्दार नेताको बयानमा व्यस्त छन् । अनि कसरी हुन्छ समृद्ध देश, सुखी नेपाली ? तसर्थ भोलि नेता, मन्त्री, महामन्त्री, मेयर उपमेयर, सचिव, उपसचिव बन्ने सपना बोकेका आजको युवा पुस्ता केवल झोले कार्यकर्ता मात्रै हुनु हुदैन् । कार्यकर्ता बिचौलिया नभइकन विवेकशील हुन आवश्यक छ । नेतामुखी नभएर जनमुखी हुन अनिवार्य छ । जनताका समस्या र सोचलाई सार्थक ढंगले निर्णायक मुकामसम्म पु¥याउने इच्छाशक्तिले भरिपूर्ण हुनुपर्नेछ । यस्ता सर्तहरूको पालना गर्ने कार्यकर्ताको नेतृत्वमा मात्र पुस्तान्तरण सम्भव हुन्छ ।

उज्यालो नेटवर्कको अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *