क्यामरा ट्रापिङमा देउखुरीमा दुईवटा पाटे बाघ भेटिएपछि…!

शिवु खनाल ४ फाल्गुन २०८०, शुक्रबार

देउखुरी ।  तराई भु–परिधी कार्यक्रमको आर्थिक सहयोग र विश्व विन्यजन्तु कोषको प्राविधिक सहयोगमा गतवर्ष डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले राजपुर र गढवा गाउँपालिकाको वन क्षेत्रमा गरिएको क्यामरा ट्रापिङमा दुईवटा पाटे बाघ भेटिएको थियो । बाँके राष्ट्रिय निकुञ्जको सिमा क्षेत्रमा बाघको मुभमेन्ट पहिले देखिनै फाटफुट रुपमा देखिदै आएको थियो । तर विस्तृत अध्ययन नहुँदा बाघको अवस्था बारे जानकारी थिएन ।

 

देउखुरीको दक्षिणको वन क्षेत्र भारतको सोहेलवा वन्यजन्तु आरक्ष र पश्चिममा बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा बाघ लगायतका वन्यजन्तुहरुको लागि कोरिडोरको रुपमा यसको वन रहेको छ । गत वर्ष गरिएको क्यामारा ट्रापिङमा बाघ, वन कुकुर, हुँडार, चौका, जरायो, रटेल, चरि बाघ, लागायतका विभिन्न २९ प्रजातिका स्तनधारी वन्यजन्तुको अभिलेख गरिएको थियो भने केहि प्रजातिका चराहरु समेतको फोटो अभिलेख भएको थियो । भारतसँग सिमाना जोडिएको क्षेत्रमा बाघको अभिलेख हुनु र गतवर्ष दाङमा अभिलेख भएको बाघ यसबर्ष कपिल्वस्तुको वन क्षत्रमा अभिलेख हुनु बाघको ओहरदोहर भएको संकेत समेत हो । बाघको अभिलख भएता पनि बाघको कारण हालसम्म कुनै हानिनोक्सानिको जानकारी भने आएको छैन । तर चितुवाले गरेका केहि क्षेत्रमा क्षती गरेको पाइएकोछ । त्यसको लागि क्षतिपुर्तिको लागि पहल पनि भएको छ । पछिल्ला वर्षहरुमा नेपालमा बाघको संख्या वृद्धि भएसँगै स्थायी बसोबासका लागि नयाँ बासस्थान खोज्न थालेका छन् । नयाँ वयस्क बाघहरु स्थानको खोजी गर्दै पुख्र्यौली थलो फर्कन थालेका हुन् ।

लमही–अमिलिया सडक खण्डमा सतर्कताको आवश्यक

दाङ देउखुरी रिहारदेखि बाँके राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले सतर्कता अपनाउनुपर्ने भएको छ । बाँके राष्ट्रिय निकुञ्ज र दाङको सिमाक्षेत्रका सामुदायिक वनको आसपास राजमार्ग क्षेत्रभित्र चितुवा र बाघ देखा पर्न थालेका छन् । चितुवा र बाघको संख्या दोब्बर भएको अनुमान गरिएको छ । पूर्वपश्चिम राजमार्ग लमही अमिलिया सडकखण्डमा दिनहुँ चितुवा र बाघ देखिने गरेको यात्रु र स्थानीय बासिन्दाले बताएका छन् । सिमावर्ती क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज छेवैमा भएको हुनाले लमही नगरपालिका वडा नम्बर ९ अमिलिया क्षेत्रभित्र पर्ने राजमार्गमा हिजोआज दिनहुँजसो चितुवा र बाघ देखिने गरेको छ । पछिल्लो समय बाँके र दाङको सिमाक्षेत्रमा दिनहुँ जंगली जनावरहरु देखापर्न थालेपछि उच्च सतर्कता अपनाउनु पर्ने भएको छ । चितुवा र बाघको आक्रमणबाट दुर्घटना हुनसक्ने भन्दै जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका स्थानीयहरुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिसकेको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख राजुर क्षेत्रीले बताए ।

वन्यजन्तुका कारण जोखिममा रहेका वस्तीका सर्वसाधारणले उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु, प्रमुख क्षेत्रीले भने ,—। ‘समयमा भैपरी आउने विपतबाट जोगिनका लागि सबै तर्क हुनु आवश्यक छ ।’ बेलुकाको समयमा लमही–अमिलिया सडकखण्ड राजमार्ग स्थित चितुवा र बाघ देखापरेको र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ हात्ती, चितुवा तथा भालु जस्ता जनावर समेत रहेकाले डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म ओहोरदोहोरमा रोक लगाएको थियो । स्थानीयका अनुसार अमिलिया र रिहार जंगलका आसपासमा हरेक दिन बिहान, दिउँसो र रातिमा चितुवा र बाघ देखिने गरेको बताउँछन् । वन कार्यालयले सकभर रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडडुल तथा आवतजावत नगर्न आग्रह समेत गरेको छ । रातको समयमा राजमार्गमा चितुवा र बाघ देखिन थालेपछि र कुनै पनि अप्रिय घटना घट्न नदिन डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले प्रवेशमा रोक लगाउनुका साथै विभिन्न सचेतना कार्यक्रम गर्दै आएको छ ।

बाघ आतंकबाट आफू बचौैं, अरुलाई पनि बचाऔं

पछिल्लो समय वनजंगल नजिकका बस्तीहरू लगायत अन्यत्र जे/जसरी बाघबाट हुने आक्रमणका घटना बढ्दै गएको छ, त्यो आफैँमा चिन्ताको विषय हो । बाघको आक्रमणका कारण अहिले छिमेकी जिल्ला बाँके र बर्दिया आसपासका बस्तीमा डर त्रास बढेको छ । त्यस्तै अन्य स्थानमा पनि छिटपुटरूपमा बाघले मानिसमाथि आक्रमण गरेको घटना बाहिर आएका छन् । पछिल्लो समय बाँके र बर्दियामा पाटेबाघको आतंक मच्चिएको छ । बाघले विभिन्न पशुचौपायामाथि मात्रै नभएर मानिसमाथि पनि आक्रमण गरिसकेकोछ । पछिल्लो समय निकुञ्ज आसपासका क्षेत्रमा बाघको संख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् । बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । संख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरुमा आफ्नो बासस्थान बनाउँदै गएको अनुमान गर्न सकिन्छ ।

 

विज्ञहरूको भनाइमा एउटा क्षेत्रमा एउटामात्रै बाघ बस्ने र संख्या बढ्दा अर्को बयस्क बाघ आफ्नो बासस्थानको खोजीमा हिँड्ने गर्छ । त्यसैले पनि बाघको आहोरदोहोर बढी भएको मान्न सकिन्छ । बाघको यो ओहोरदोहोर हुन थालेपछि त्यस्ता सम्भावित क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोषसँगको समन्वयमा क्यामेरा ट्रयापिङको काम पनि भइरहेको छ । अहिले जंगली वन्यजन्तुको सम्भावित आक्रमणबाट जोगिन÷जोगाउन स्थानीय समुदायले आ–आफ्नै स्थानबाट विभिन्न प्रयास गर्दै आएका छन् । त्यसो त पछिल्लो समय मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्वका घटनाले दुवैतर्फ क्षतिका घटना नभएका होइनन् । विशेषगरी जंगली क्षेत्रमा पूर्वाधारहरू निर्माण भएसँगै वन्यजन्तुहरू बस्ती र सडकतर्फ आउने क्रममा मानिस र बस्तीमा क्षति पु¥याउने गरेका छन् भने त्यहीकारण वन्यजन्तुहरू पनि मानवीय निशानामा पर्ने गरेका छन् । यसले गर्दा मुलुकका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तु बीचको द्वन्द्वबाट दुवैतर्फ हुने क्षति बर्षेनि बढ्दै गइरहेको छ ।
बाघबाट बच्नको लागि साँझमा बाहिर नबस्ने आफ्नो घरवरिपरि कम्पाउन्ड लगाउने । बिहान बेलुकी बाहिर नजाने, जंगल जानुपरे समूहमा जाने र ध्यान दिएर सावधानीपूर्वक काम गर्ने, बाघले बच्चा भएको ठाउँ तिर नजाने, घर वरपर हिँडडुल गर्दा पर्याप्त प्रकाशको व्यवस्था गर्ने, साँझविहान हिँडडुल गर्दा सेतो कपडा लगाएर गर्नेलगायत सावधानी अपनाउनु पर्ने अनुसन्धानकर्ता चिरञ्जिबी खनालले बताए। यी विषयहरुमा सावधानी अपनाउँदै बाघबाट हुनसक्ने मानवीय क्षति न्यूनीकरण गरौं । बाघबाट आफू बचौं, अरुलाई बचाऔं ।

तस्विर सौजन्य : चिरञ्जिबी खनाल

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *