देशको शिक्षा र युवाहरूको निराश भबिष्य ।

उज्यालो प्रतिनिधि २४ चैत्र २०८०, शनिबार

शिक्षा भनेको सफलताको साचो हो। जुन देशमा शिक्षालाई एउटा गोरेटोको मार्गदर्शक हो भन्ने गम्भीरता लाग्छ त्यो देश कहिल्यै पछाडी पर्दैन। नेपाल भने बिस्तारै निराशाजनकको बाटोमा लाग्दै छ। हरेक बच्चा देखि युवाहरुले म यो गर्छु भन्ने मनोभावना बोकेका हुन्छ्न् र कामको सपना देख्ने गर्छन। ती आमा र बुवाले छोराछोरीले केही गर्छन भन्ने बिश्वास राखेका हुन्छ्न अझ भनौं कसको आमाबुवाले सोच्दैनन होला र ?

विद्यालय जिवनमा हाम्रा बुवाले नङ्रा खियाएर एकसुको भएपनि कमाएर छोराछोरीको भबिस्य उज्ज्वल बनाउन कति संघर्स गरे भने आमाले पनि आफूलाई मन लागेको , मनपरेको सम्पुर्ण इच्छालाई मेटाएर केबल छोराछोरीका लागि भनेरै प्राण खटाए तर समयसंगै जति उमेर बढ्दै गयो त्यहि नङ्रा खियाएको बुवालाई ऋण तिरिदिने र आमाको च्यातिएको चोलि फेरिदिने धोको हामी सबैको चाहाना नै हो। “छोरा समय त बित्दै छ तर पनि म अझै तेरो लागि छ्दै छु नि” भनेर जब आमाले वाक्य दोहोर्याउछिन आँखाबाट आँसु चुहिने गर्छ कठै , शिक्षा अनुसारको यो देशमा रोजगार पाएको भए आज कस्तो हुन्थ्यो? ती विद्यार्थी जो सुन्दर सपना बोकेर गाउँ देखि पढ्न र काम गर्न भनी काठमाडौंमा कोठा खोजि आफ्नो भबिस्य कोर्दै बस्छ्न। कोठामा बसेर पनि अझै विद्यार्थीको मर्का त भोग्नेलाइ नै थाहा हुन्छ। पैसा नपुग्दा घरमा जब बुवा आमासँग खर्च मागिन्छ तब जवाफ अहिलेसम्म पनि केहि काम गर्न सकेका छैनौं ? यो जवाफले पनि कतिको वास्तविक चित्रण उतारेको छ। मुख्य के हो भने , चार बर्षको स्नातक सक्नै ५ देखि ६ बर्ष लाग्छ, बढ्दो उमेर संगै आएका मौका गुमाउँदै जादा मानसिक तनाव, तिर्न बाँकी ऋण,सीपको अभाव, परिवार प्रतिको चिन्ता जसले गर्दा अहिले जो स्नातक अध्ययन गर्दै गरेका युवा छ्न उनीहरुमा केबल निराशा छ देखाउनका लागि खुसी त सबै मेटिसकेका छ्न।

नेपालमा जब २००७ सालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र आयो त्यसबेलाबाट फाट्टफुट्ट विद्यालयहरु खोलिए। बि स २०१६ सालामा स्थापना भएको मुलुककै जेठो र पहिलो बिश्वविद्यालय त्रिभुवन बिश्वविद्यालय कुनै समयमा विद्यार्थीको चापले सिट समेत नपुग्ने गर्थ्यो तर बिडम्बना यहि त्रिबिमा सिट अनुसारको विद्यार्थी पनि आजकाल आउदैनन। २०४६ सालमा प्रजातन्त्र पुनः स्थापनाको लागि भनेर पहिलो जनआन्दोलन भयो त्यसबखतमा शिक्षा क्षेत्रमा परिवर्तन होला भन्ने धेरैको चाहाना थियो तर निजीकरणको मामिलामा भने देश निकै अघि बढ्यो। २०६२/६३ मा त जनताको प्रत्येक्ष शासन लोकतान्त्रिक पद्धतिको सम्मुनत आभास होस भन्ने पनि चाहेका थिए तर आज त्यसको २० बर्षमा केबल मुखले बोल्ने मात्र आए ब्यबहारमा उतार्नेहरु कोहि आएनन। देश त कस्तो अवस्थामा पुग्यो भने यदि कुनै पनि मुलुकले यो देशका लागि भिसा खुकुलो गरिदिने हो भने यहाँ कोहि पनि नरहने स्थिति आएको छ।

त्रिभुवन बिश्वविद्यालय जहाँ हरेकले स्नातक , स्नातकोत्तर देखि पिएचडि सम्मको आफ्नो भबिस्य बनाउनका लागि पढ्ने गरेका छन। त्रिबिमा त लापरबाही पनि यतिसम्म भयो कि उत्तरपुस्तिका हराउने,परीक्षाफल समयमै नआउने,तालिका समयमै नआउने, राजनीति अस्थिरता,परीक्षाको मिति सार्ने अनि स्नातक ४ बर्षको पढाइलाई ६ बर्षसम्ममा पनि सक्काउन नसक्ने यस्तो सम्मको दुख लाग्दो हबिगत हाम्रा नेतृत्वकर्ताले पनि ” हामी परिवर्तन ल्याउछौ मुखले र लिखित घोषणापत्रले” गर्दा नै शिक्षामा युवाहरुको निराशा छाएको छ। तालाबन्दी र दलिय राजनीतिको चपेटामा परेको त्रिबिलाई आफ्नै त वास्ता छैन भने विद्यार्थीको भबिस्यको बारेमा सोच्छ भनेर भन्नू त मुर्खता नै हो भनेर भन्छु। आजकाल त्यो बेलाको त्रिभुवन बिश्वविद्यालयको कुरा हुन पनि छाडिसक्यो अहिले त प्रत्येक युवा र विद्यार्थीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल चाहिँ प्यारो लाग्न थालेको छ। मेरै क्याम्पसको उदाहरण दिन चाहन्छु, कोटेश्वर बहुमुखी क्याम्पसमा आजभन्दा ६ बर्ष अगाडी त नौ देखि दश हजारसम्म विद्यार्थी भर्ना हुन्थे तर अहिलेको समयमा त बल्लबल्ल गरेर तीन देखि चार हजार मात्र कुल विद्यार्थी भर्ना भएको देखाएको छ। मेरै संकाय ( बिए)मा अध्ययन गर्ने विद्यार्थीको संख्या घटेर कक्षा कोठामा जम्मा ५ देखि ७ जनाको मात्र संख्या छ। शिक्षाको प्रणालीलाई हाम्रा सिंहदरबारमा आसिन पदमा रहनुभएका र त्रिबिको उपकुलपतिको पदमा रहनुभएकाले कुन ठाउँसम्म लैजानुभयो यो त देखिनै हाल्यो। आज हामी जस्ता लाखौं युवाहरु बिशेष गरि अझ कक्षा १२ उत्तीर्ण गर्ने बित्तिकै अब के गर्ने बिचारमा हुनुहुन्छ भनेर उसलाई सोध्नु मात्र भयो भने एउटै वाक्य आउँछ र त्यो हो” कि त म युरोप जान्छु कि त अस्ट्रेलिया , अमेरिका , क्यानडा वा जापान जान्छु तर म नेपाल बस्दिन।” यस्तो वातावरण विद्यार्थी र अन्य युवाले पनि भोगेका छ्न अनि लाज पचाएर नेता ज्युहरुको जवाफ रहरले गएका हुन भनेर आउँछ !।

रोजगारीका लागि पनि ब्यबहारिक शिक्षा सिकाइनु पर्ने हो र यसका साथै प्रत्येक निजी अनि सामुदायिक विद्यालयमा सोही अनुसारको तालिका निर्माण गर्नुपर्ने हो तर हामीले घोकन्ते शिक्षा लियौ जसको फलस्वरुप आज सर्टिफिकेट लिएर मात्र काम नपाइने रहेछ भन्ने पनि बिस्तारै मनस्थिति बदलिँदो अवस्थामा छ। पढाई अनुसारको दक्ष विशेषज्ञको अभाव साथै केही काम खोज्न जानुपरे नातावाद, चाकडीवाज र राजनैतिक पार्टीको झोला नबोकी त कुनै पनि फल पाइएला भन्ने त झिनो आशा मात्र गरेर बस्नुपर्ने अवस्था छ। बिज्ञान , ब्यबस्थापन , मानविकी , शिक्षा संकाय अनुसारको रोजगारी सिर्जना गर्ने आधारस्तम्भ बनाएर अभ्यासमा आउनुपर्ने हो। जब कुनै निम्न वर्गिय परिवारमा हुर्केको उक्त छोराछोरीले केहि गर्छु भन्ने ठूलो धोको राख्दछ उसले नेपालमै सपना पुरा गर्छु भन्ने निधो राख्छ त्यस्ता युवा युवतीहरुलाई हामीले स्थान दिदैनौ, जसोतसो गरेर सामान्य काम गरेर खाएकालाइ अपहेलना गर्ने गर्दछौं अनि कहाँबाट हामीले युवा वर्गमा नयाँ गोरेटो कोर्न सक्छौं त? श्रम गर्न वैदेशिक रोजगारीमा जानेलाई पनि लाखौं सम्मको असुली गर्ने अनि म्यानपावरका मालिक र एजेन्ट नै फरार हुने प्रवृत्तिले पनि साच्चिकै शिक्षा अनुसारको कुनै पनि रोजगारलाई गिज्याएको स्पष्ट देख्न सकिन्छ।

के अब अझै पनि यहि मनस्थितिबाट कहिलेसम्म विद्यार्थीहरु गुज्रिरहने ? आउने समयमा त्रिभुवन बिश्वविद्यालयले फेरि पनि लापरबाही गरिरहने अनि सजाय निर्दोष विद्यार्थीले भोगिनै रहने ? बिश्वविद्यालयले निश्चित क्यालेन्डर बनाउन नसक्नु नै विद्यार्थीको टाउको दुखाइको विषय बन्न पुगेको छ। संसार अहिले प्रबिधिको युगमा छ। नेपालमा आंशिक समयका लागि प्रबिधि मैत्री रोजगार आज विद्यार्थीका लागि महत्त्वपूर्ण माग हो। यसको लागि अझै समय छ शिक्षामन्त्री र बिश्वविद्यालयका उपकुलपति , परीक्षा नियन्त्रक साथै अन्य उच्च पदमा रहनुभएकाले यस विषयमा सोच्न जरुरी छ। केबल बिग्रेको मात्र खण्डन होइन भित्रका साना कुरा सुधार गरेर अगाडी बढ्नाले अनि शिक्षा क्षेत्रमा गरेका गल्तीलाई पनि स्विकार्न सक्ने हो भने विद्यार्थीमा केही आशा ल्याउन सकिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *