काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका तुइनबाट खसेर जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार रहेको स्पष्ट पारेका छन ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री खाँणले सरकारले अहिले सत्यतथ्यमा आधारित प्रतिवेदन पर्खिरहेको भन्दै प्रतिवेदन आएपनि सरकार जुनसुकै कदम चाल्न तयार रहेको स्पष्ट पारेको हो । उनले नगरिकको जीवन रक्षा गर्नु राज्यको मूल दायित्व भएको भन्दै प्रतिवेदन बुझाएपछि अन्तिम निष्कर्ष निस्कने उल्लेख गरे । गृहमन्त्री खाँणले जयसिंह धामीसँगै तुइन तर्नेहरू र तर्न नसकेकाहरूसँग पनि समितिले सोधपुछ गर्ने र त्यसका आधारमा नै प्रतिवेदन तयार पार्ने धारणा राखे । दार्चुलाको महाकालीमा तुइन विस्थापन गर्नका लागि ४ झोलुंगे पुल निर्माण योजना जारी रहेको उनले बताए । उनले धामीको खोजी नेपाल र भारतका सुरक्षाकर्मीले महाकालीमा खोजिरहेको पनि जानकारी दिए ।
बैठकमा सांसदहरुले सरकारले दर्चुला घटनालाई गम्भीर रुपमा नलिएको आरोप लगाएका थिए । सांसद खगराज अधिकारीले दार्चुला घटनामा संलग्न अपराधीलाई कारवाही हुनुपर्ने बताए ।
त्यस्तै सांसद योगेश भट्टराईले जयसिंह धामी खसेर बेपत्ता भएको वा मृत्यु भएको हो सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
त्यस्तै कांग्रेस सांसद गगन थापाले उक्त घटनाको अनुसन्धानमा सरकार दृढ भएर लाग्नुपर्ने तर्क गरे ।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुस्लीम आयोगको प्रतिवेदन पेश गरिएको थियो भने प्रतिनिधिसभाका पूर्व सदस्य अकवरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते मंगलबार बोलाइएको छ ।






