काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकको पहलमा मेलम्ची र हेलम्बुमा बेलिब्रिज निर्माण हुने भएको छ । शुक्रबार पार्टीको जिल्ला नेतृत्वसहितको टोली अर्थमन्त्री जनार्दन शर्मालाई भेट गर्न सिंहदरबारस्थित मन्त्रालय पुगेको थियो । भेटपछि अर्थमन्त्री शर्माले २ वटा पुल चाँडै निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
अर्थमन्त्री शर्मालाई १५ बुँदे मागहरु राख्दै डेलिगेसन सहितको टोली आज मन्त्रालय पुगेको हो । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी थांगपाल गाउँपालिकाका नदी किनारामा भएको क्षति अझै विद्यमान भएको भन्दै माओवादी केन्द्रले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, नेकपा सिन्धुपाल्चोकका नेता तथा माओवादी केन्द्रीय सदस्यद्वय माधव सापकोटा ‘सुबोध’, सरल सहयात्री,कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’, झम्क पराजुली ‘हिमाल’, गोविन्द पराजुली ‘अभिनास’ लगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।
क्षतिग्रस्त क्षेत्र अवालोकन गरेर सरकारले तुरुन्तै बाढीबाट प्रभावित क्षेत्रमा बेलिब्रिज बनाउन माओवादीका नेताहरुले ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्रालयले चाँडै अध्ययन गरेर बेलिब्रिज बनाउने प्रतिबद्धता मन्त्री शर्माले गरेका थिए ।
मन्त्री शर्मालाई त्यहाँको अहिलेको अवस्थाको जानकारी नेताहरुले गराएका थिए । गत १ असारमा हेलम्बु, मेलम्ची लगायतका क्षेत्रहरुमा ठूलो क्षति हुने गरी बाढी आएको थियो । बाढीबाट प्रभावितहरुको उद्धारमा मन्त्री दुलालसहितका नेताहरु सोही दिनदेखि खटिएका थिए ।
पछिल्लो समय सो क्षेत्रको बारेमा निरन्तर अवलोकन गरिरहेका पूर्वमन्त्री दुलालसहितको टोलीले आज अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरबार पुगेका हुन् ।
सोही क्षेत्रबाट निर्वाचित भएका पूर्वमन्त्री दुलालले विपद् प्राधिकरण अन्तर्गत संकटग्रस्त भएका जिल्लाहरुमा जिल्लामै कार्यालय राख्न ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री शर्माले घोषणा भएको काम तत्कालै गर्नेगरी काम अघि बढाउने बताए ।
त्यस्तै मन्त्री शर्माले विपद व्यवस्थापन प्राधिकरणबाट यसलाई कार्यान्वयन गर्नेगरी अघि बढ्ने बताएका छन् । उनले भनेका थिए, जब विपद आयो भने त्यसबाट पाठ सिक्दै नयाँ थाल्नेगरी अघि बढ्नुपर्छ । समग्र प्रोजेक्टको रुपमा गर्दा प्राधिकरणमार्फत त्यसलाई ह्यान्डेल गर्नेगरी काम अघि बढाऔं ।’
साथै सो क्षेत्रमा ऋण लिएका पीडितहरुको ब्याज मिनाह गराउन समेत ध्यानाकर्षण गराइएको थियो । मन्त्री शर्माले ब्याज मिनाह गर्ने कुराहरु सम्बन्धित मन्त्रालयबाट अघि बढाउने प्रतिबद्धता जनाएका थिए । ब्याजका लागि राहत स्वरुप प्रक्रियाबाट अघि बढ्ने उनले बताएका थिए ।
त्यस्तै, नेता सरल सहयात्रीले तातोपानी क्षेत्रमा भोटेकोशी गाउँपालिकाको लार्चा, जम्बु लगायतको क्षेत्रमा अर्थमन्त्रालयबाट कुनै रेस्पोन्स यसअघि नभएको स्मरण गराए । उनले भने,‘हामीले तातोपानी क्षेत्र खुलाउने बारेमा धेरै बहस ग¥यौं । तर, रियालिटिमा भौतिक संरचनाको सुढृढिकरण गर्ने कुरामा कहिल्यै सोचिएन् ।’
मन्त्री शर्माले यसबारे आफूलाई थाहा नभएको र बुझेर खबर गर्ने बताएका थिए ।