काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईले कोरोना संक्रमणपछि आफूले अस्पतालमा उपचार गरेको दावी गर्दै प्रेस काउन्सिल नेपालमा आर्थिक सहयोग माग गरेको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को दोश्रो लहरको क्रममा चौलागाईलाई संक्रमण पुष्टि भएको थियो । ९ वैशाख २०७८ मा ‘Interpid Nepal’ नामक ल्याबमा परिक्षण गर्दा चौलागाईलाई संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो ।
त्यसपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै उनी भक्तपुरस्थित आफ्नै निवासमा ‘होम आइसोलेसन’मा बसेका थिए । संक्रमण पुष्टि भएको एक महिनापछि ८ जेठ २०७८ मा चौलागाईलाई कोरोना नेगेटिभ आएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए ।
तर, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य समेत रहेका चौलागाईले आफू काठमाडौंको तीनकुनेस्थित् ‘कान्तिपुर अस्पतालमा उपचार भई होम आइसोलेसनमा बस्नु परेको’ भन्दै काउन्सिललाई पत्रकार आर्थिक सहायता अन्तर्गत २०७८ साल जेठ १० गते सहयोग माग गर्दै निवेदन दिएका थिए ।
काउन्सिलमा चौलागाईले दिएको निवेदन हेर्नुस् ।


चौलागाईको निवेदन बमोजिम नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले पनि आर्थिक सहयोग उपलब्ध गराइदिनका लागि भन्दै २०७८ साल असार १० गते प्रेस काउन्सिल नेपालको नाममा सिफारिसपत्र लेखेका थिए ।
महासंघले गरेको सिफारिसपत्र हेर्नुस्


तर, चौलागाईले सुर्यविनायक नगरपालिका वडा नं. ५ बाट २०७८ साल जेठ १८ गते लिएको सिफारिस पत्रमा भने चौलागाई होम आइसोलेसनमा नै बसेको उल्लेख गरिएको छ । सिफारिस पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा यस वडा निवासी श्री गोविन्दप्रसाद चौगालाई मिति २०७८/०१/०९ मा पिसिआर परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हुँदा निज सोही दिनदेखि मिति २०७८/०२/०५ गतेसम्म आफ्नै घरको होम आइसोलेसनमा बस्दै आउनुभएको सिफारिस गरिन्छ ।’
नगरपालिकाले दिएको सिफारिस हेर्नुस्


प्रेस काउन्सिल नेपालले कोरोना (कोभिड–१९) भाइरसको दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित ९ जना पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको थियो । प्रेस काउन्सिल, मिडिया विकास कोष उपसमितिको जेठ १४ गते बसेको बैठकले कोरोना सङ्क्रमण भई भेन्टिलेटर/आइसीयुमा उपचाररत ६ जना पत्रकार र कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका ३ जना पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । काउन्सिलले आर्थिक रुपमा विपन्न रहेका पत्रकारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । काउन्सिलका प्रवक्ता दीपक खनालका अनुसार कोरोना भाइरस संक्रमित पत्रकारलाई कुन आधारमा सहयोग गर्ने भन्ने कार्यविधि भने बनिसकेको छैन ।
चौलागाई पत्रकार महासंघ काठमाडौंका पूर्वअध्यक्ष समेत हुन् ।






