काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको पछिल्लो फैसलाप्रति आपत्ति जनाएका छन् । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को बहुमत पक्षको दाबीको विरुद्धमा फैसला गरेपछि उनले यस्तो आपत्ति जनाएका हुन् ।
आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाइरहेको नेता श्रेष्ठले बताएका छन् । राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय आयोगले गरेको हो ।
आयोगले महन्थ ठाकुर पक्षलाई लामो समयसम्म हस्ताक्षर जुटाउने समय दिएको थियो । तर, उक्त समूहले बहुमत जुटाउन नसकेपछि आयोगले पुरानै पदाधिकारी कायम भएको फैसला सुनाएको हो ।
‘संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो,’ उनले सामाजिक संजालमार्फत भनेका छन् ।






