जाजारकोट । मुड्केचुला गाउँपालिका डोल्पामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल भएको छ । अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्षलगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको भनाइ छ ।
एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा समेत प्रमुख प्रशासकीय अधिकृत पुग्ने गरेको, गुटगत भेला गर्दै हिँडेकोलगायतका आरोप अध्यक्षले लगाएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका काम उल्ट्याउँदै गएको समेत आरोप लगाइएको छ । एमालेको गुटगत बैठकमा आफू सहभागी भएको तर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नका लागि आफू त्यहाँ गएको अधिकृत श्रेष्ठले स्वीकार गरेका छन ।
यता उपाध्यक्षलगायत अन्य जनप्रतिनिधिले विज्ञप्ति प्रकाशित गरी मिडियालाई समेत गाली गर्दै अध्यक्ष र पत्रकार मिलेर गाउँपालिकामा काम गर्ने वातावरण बिगारेको आरोप लगाएका छन् । हप्ता दिनदेखि गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता वितरणदेखि अन्य विकास निर्माणका कामको भुक्तानी नगरेको समाचार प्रकाशित भएपछि मिडियाप्रति उपाध्यक्ष सविताकुमारी रोकायलगायत केही वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको बचाऊ गर्दै विज्ञप्ति निकालेका हुन् ।
साउनदेखि अहिलेसम्म मुड्केचुलामा सामाजिक सुरक्षा भत्ता वितरण हुनसकेको छैन । करारमा भर्ना गरिएका कर्मचारीको समेत म्याद नथप्नेलगायत काम हुँदै आएको बताइएको छ । “समाजिक सुरक्षा भत्ता वितरण भएको छैन, मिडियामा आएका कुरा सत्य हुन्, अब म के गरौँ?”, गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने ।






