काठमाडौं । सोमबार प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
५ पुस २०७७ मा असंवैधानिक रुपमा प्रतिनिधिसभाको विघटन गरेका खड्गप्रसादले त्यही संसद्मा विश्वासको मत लिने भएपछि यतिबेला राजनीतिक जोडघटाउ चलिरहेको छ । स्मरणीय कुरा यो छ कि खड्गप्रसादले विघटन गरेका प्रतिनिधिसभा ११ फागुन २०७७ मा सर्वोच्च अदालतले ब्यँुताइदिएको थियो ।
खड्गप्रसादले विश्वासको मत लिने भएपछि सबैभन्दा संकटमा उनकै दलका माधवकुमार नेपाल र जनता समाजवादी पार्टी परेका छन् । जनता समाजवादी पार्टी (जसपा) मा पनि महन्थ ठाकुर र राजेन्द्र महतो समस्यामा छन् ।
माधव नेपाल समुहले त सामुहिक राजीनामाको तयारी गरिसकेका छन् । तर, जसपा अझै अनिर्णित मात्रै होइन, फुटको अन्तिम संघारमा पुगेको छ ।
यहीबीचमा आइतबार महन्थ ठाकुर र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए ।
भेटमा देउवाले महन्थ र राजेन्द्रलाई ओलीलाई विश्वासको मत नदिन मात्रै आग्रह गरेनन्, कांग्रेसको नेतृत्वमा सरकार बनाउन सघाउन आग्रह गरे ।
तर, महन्थले देउवालाई निर्वाचनतिर जान सुझाए । ‘हाम्रो लागि अहिले निर्वाचनमा जाने विकल्प नै उपुक्त छ, सरकार बनाउने नाममा जसपा फुटाउने काममा तपाइहरु नलागिदिनुस’ महन्थले यति नभन्दै देउवाले भने, ‘भयो, भयो महन्थजी मलाई यो कुरा नगर्नुस्, ।’
अनि देउवाले भने, ‘तपाईहरु धेरै कुरा गर्दै नगर्नुस्, निष्कर्ष भए सुनाउनुस्, अहिले ओली फालौँ भन्या त हो नि मैले तपाइहरु बुझ्दै बुझुनुहुन्न ।’
त्यसपछि राजेन्द्र महताले भने, ‘हामी सरकारको विश्वासको पक्ष र विपक्ष दुवैमा मत दिँदैनौँ, हामी अहिले तटस्थ नै बस्छौँ ।’ त्यसमा महन्थले थपे, ‘बाबुराम र उपेन्द्रजीको विश्वासमा चाहिँ नपर्नुहोला है ।’






