अलबिदा निराज दाई : ‘दाजु यो कस्तो रोदन गरायौं, मेरो मुटुमा’

उज्यालो प्रतिनिधि २० पुष २०७७, सोमबार BOX NEWS

– राजकुमार गोले
म बस्ने देश अमेरिकामा बिहानको ७ बजेको थियो । मेरो मोबाईलको म्यासेन्जरमा टिङ्ङ घण्टी बज्यो, म अलि व्यस्त भएर वास्ता गरिन । २/३ पटक लगातार घण्टी बज्न थालेपछि मेरो ध्यान मबाईलतिर खिचियो । खोलेर हेर्दा भक्तपुर ठिमीमा बस्ने फूपू दिदी नमुनाले ‘निरे त बित्यो नि’ भनेर पठाएको सन्देश देखे । तर मलाई विश्वास लागेन । फेरि अर्को सन्देश आयो, यो सन्देश मेरो जन्म घर कामीडाँडाबाट मर्दन सिं तामाङ (पेमा) मामाले पठाउनुभएको रहेछ, ‘भन्जा थाहा पाउनु भो दुखद खबर’ भनेर उहाँले पठाउनुभएको खबरपछि झसंगिए म ।

दाईको मृत्युको खबर दुईजनाबाट सुनेँ । यहाँ बिहान हुँदा नेपालमा झमक्कै साँझ परेको हुनुपर्छ सायद । काम गर्ने ठाउँमा म्यानेजर जगत सेन्चुरी (दिनेश) लाई दाईको मृत्युको खबर सुनाए । म अरुबेलाभन्दा चाँडै डेरा जाने जानकारी पनि दिए । रातिको काम सकेर डेरा जाने तयारीमा थिएँ । यही क्रममा मोबाइलको म्यासेन्जर र फेसबुकभरी घनिष्ट मान्छेको अनुहारसहितको मृत्युको श्रद्धाञ्जली फैलिरहेको रहेछ । रातभरिको कामसँगै थकित शरीर अनि चिसोले निमोठिरहेको थियो मलाई ।
यो सबै देखेपछि एकाएक जिउ सिरिंग भयो । कताकता घोचेजस्तो, पोलेजस्तो, रिँगटा लागेर ढलौँजस्तो । सपना हो कि विपना । सपना हो कि भनेर चिमोटेँ आफूले आफैँलाई । तर, म त सुतेकै थिइनँ, कसरी सपना हुनु ? म त डेरातर्फ लम्कीरहेको रहेछु ।

रातभरी काम गरेर डेरा जानुपर्ने मान्छे हातखुट्टा गलेर पाइला अघि सार्नै सकिन । मेरो बाध्यता थियो, जसरी पनि डेरामा पुगेर फेरी राती ड्युटी जानुपर्ने । सेकेण्ड–सेकेण्ड समयको महत्व छ यहाँ । भुवाजस्तो शरीरलाई गह्रौँ बनाएर कामबाट डेरा निस्के । मन लागी–नलागी डेरामा पुगे । यो घटना सत्य नभइदियोस् भनेर लाखौँ पटक कामना गरेँ मन–मनै । घरबाट बुबाको फोन आयो त्यही दुखद् खबर सुनाउनको लागि । मनमा अनेकौँ कुरा खेल्न थाले गाउँमा काका (रहर लामा)लाई फोन गरे उठेन । परिवार मात्रै होईन सिंगो गोलेटोल शोकमा डुबेको बेला सम्झाई बुझाई गरेर पीडामा मल्हम लगाउँदै काकाले मेरो फोन उठाउन नपाएको हुनुपर्छ सायद । किनकी दाइको मृत्युको खबरले भाबविह्वाल थियो । सबैको बोली रोकेको थियो । हात चल्दैनथ्यो, हिड्दा पाइला सर्दैनथ्यो । गाउँकै मिना बहिनीलाई फोन गरेर माईली भाउजु सुन्तलीको नम्बर मागेर फोन गरे । मेरो बोली फुरेन सायद मैले बोलेको बुझेनन् होला घरमा नल्याई स्वयम्बुमा लैजाने रे भनेको सुनेको । म नी मेला गएर भर्खर आएको सपना होकी बिपना हो भईरहेको छ भन्दाभन्दै खबर उहाँको बोली बिस्तारै मधुरो र दबिदै गयो मैले फोन राख्दिए । केही समयपछि कुबेतमा रहेका राजेश मामासँग कुरा हुन थाल्यो । त्यही दाइकै मृत्युको खबर सुरु भयो हामीबीचमा पनि ।

पत्याउनै सकिरहेको थिइनँ । त्यहाँ रातको ठीक ११ः३० हुँदो हो यहाँ दिउँसो भएनी मेरो सुत्ने समय थियो । मनले मानेन काका सन्जयलाई फोन गर्न खोज्छु, हात चलेन मोबाईलका किबोर्ड जथाभाबी थिचेछु । धेरै समयपछिको प्रयासमा फोन लाग्यो । उठाएँ, कुराकानी भो माध्यरातमा । उहाँले सुनाउनुभयो, ‘खै कसरी सुनाउ तिमीलाई दाइको मृत्युको खबर कान्छा म लाश कुरेर बसिरहेको छु स्वयम्भुमा ।’ मलाई मायाले कान्छा भनेर बोलाउनुहुन्छ, सन्जय काका । उताबाट केही आवाज आएन । थोरै सुँक्क–सुँक्क सुनेँ … । काका रुनु भयो सायद ।

आँखाको डिलबाट आँसुहरू तप्प–तप्प खसिरहेको थियो, भुइँमा । आँसुको जात पानीमै त हो मिसिने । काकालाई फोन गरेँ । आशा थियो काकाले त्यो झुटो हो भन्लान् भन्ने । तर, जवाफ ठीक विपरीत आयो । आखिर सत्य त्यही नै रहेछ, जुन म्यासेजभरी आएको दाइको मृत्युको खबर ।

मनमा बेचैनको तुफान चल्न थाल्यो । के गरौँ, कसो गरौँ मात्रै भइरह्यो । दाइसँगै बोलेको, हिडेको, खेलेको र बसेको चितामा जल्नेभयो भनेर मन भत्भती पोलिरह्यो । तिम्रो मृत्युको खबरले म निशब्द भए दाई ! म कसरी विश्वास गरुँ । अझै विश्वास लागेको छैन, अन्तत नलागेर के गर्नु यो सत्य नै हो भनेर पुष्टि भईसकेपछि विश्वास गर्नै पर्ने भयो । प्राय हामी दुःख सुखको गफसँगै एक हप्ता अगाडी अब चाँडै भेट्ने कुरा भएको थियो दाई निरबहादुर गोलेसँग । दाईको दुवै मिर्गौलाले काम गर्दैनथ्यो । सधैंजसो कुरा भईरहन्थ्यो मेरो ।

दाइले फोनमा कुरा हुने बेला भन्नुहुन्थ्यो ‘बिख खाएर मरौ भने परिवारको माया लाग्छ, उपचार गरौँ भने पैसा छैन ।’ आँशु पिएरै दिन बिताइरहेको छु भाई, मलाई बचाई दिनु भनेर भन्नुहुन्थ्यो, दाजु निर बहादुरले । के खबर सुन्नु परेको यस्तो । मेरो बोली बिस्तारै हराउन थाल्यो । न त मैले आकाश देखे । न त धर्तीमा नै टेकेको अनुभव । ३८ बर्षकै कलिलो उमेरमा मैले भेट्न पाएन शरीरमा रोग नहुदो हो मलाई अनि साथीभाइ भेटेर परिवारलाई खुशी तुल्याउँथे । हाम्रो त्यो दुःख सुख बाँड्ने सपना अधुरै रहयो दाजु अधुरै …।

म हजारौ माईल टाढा छु । न मैले भनेको बेला भेट्न पाए न देख्न पाए । चाँडै भेट्ने त्यो हाम्रो सपना सपनामै विलिन भएको छ । सपनामा पनि नसोचेको हाम्रो परिवारमा अहिले आँसुको धारा अझै रोकिएको छैन । दाइले सबैलाई छोडेर जानुभयो । भाउजूलाई भन्न मन लागेको थियो –भाउजू दाइले छोडेर गए पनि गाह्रो साह्रोमा म छु । तर, सात समुन्द्र परबाट मैले भनेको उहाँले सायदै सुन्नुहुन्न । म मात्र होइन, विदेशमा रहेका काभ्रेली सबै शोकमा छौँ । दुःख लागेको छ । श्रद्धाञ्जली लेख्न सकेका छैनौँ, नलेखि सुख पनि छैन । सात समुद्रपारिबाट तिम्रो आत्मालाई शान्ति मिलोस् दाजु । हर्दिक श्रद्धाञ्जली दाजु हार्दिक श्रद्धाञ्जली !

उही तपाईकै अभागी भाई राजकुमार गोले , अमेरिका, टेक्सस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार