बीबीसी । जापानका प्रधानमन्त्री शिन्जो अबेले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामाको प्रमुख कारण आफ्नो स्वास्थ्यमा आएको खराबीलाई देखाएका छन् ।
बीबीसीका अनुसार आफ्नो स्वास्थ्यमा खराबी आएकाले नियमित औषधि खानुपर्ने र आफ्नो स्वास्थ्यकै कारण गलत निर्णय हुन नहुने भन्दै राजीनामा दिएका हुन् ।
उनले राजीनामाको क्रममा आफ्नो स्वास्थ्यका कारण सरकारलाई समस्या नपरोस् भन्ने चाहेको पनि स्पष्ट पारे । शिन्जाे अबलेले कार्यकाल पूरा गर्न नसकेको भन्दै नागरिकसँग माफीसमेत मागेका छन् ।
उनी केही समयता अस्वस्थ रहँदै आएका छन् । कार्यकाल नसकिँदै राजीनामा दिए पनि अबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति भएका छन् ।
सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि उनी प्रधानमन्त्रीमा चुनिएका थिए । सेप्टेम्बरमा ६६ वर्षमा प्रवेश गर्ने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि बनाएका हुन् । उनको पदावधि २०२१ सम्म छ।
आन्द्राको समस्याबाट लामो समयदेखि पीडित उनको अवस्था अहिले झन् बिग्रिएको अनुमान गरिएको छ।
सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका छन् ।






