शिवु खनाल,देउखुरी। देउखुरीमा संरक्षित वन्यजन्तु मार्न फेरि तस्कर समूह सक्रिय हुन थालेको छ । गएको पाँच वर्ष चोरी–सिकार शून्य रहेको भनिएको देउखुरी क्षेत्रका सामुादयिक वन तथा राष्ट्रिय वन क्षेत्रमा पछिल्लो तीन वर्षमा तस्करले संरक्षित वन्यजन्तु मारेको डिभिजन वन कार्यालय दाङ, देउखुरीको तथ्यांक छ । वन्यजन्तु तस्करले देउखुरीमा रहेको अजम्मरी सामुदायिक वनको कोर क्षेत्रमा पर्ने रणसिंह दल गण अर्जुनखोला (नेपाली सेना)को ब्यारेक देखि करिब तिनसय मिटर दक्षिण पश्चिममा अन्दाजी २ वर्षको एउटा भाले चित्तललाई तस्करले पासोमा पारेर मारेका छन् । उक्त चित्तल गत मंगलवार बेलुका मृत अवस्थामा फेला परेको थियो । सुरक्षा निकायको घेरा नजिकै संरक्षित वन्यजन्तुलाई पासोमा पारेर मारेको घटनालाई नियाल्दा संकास्पद देखिनुका साथै तस्करले योजनाबद्ध रूपमा मारेको देखिन्छ । नेपाली सेना रणसिंह दल गणस्थित पोस्टनजिकै पुरानै शैलीमा तस्करले चित्तल मारेका हुन् । सम्बन्धीत सुरक्षा निकाय, डिभिजन वन कार्यालय र प्रशासन चनाखो नहुँदा सामुदायिक वन क्षेत्रमा चोरी सिकारीले मारेका छन् । सुरक्षा निकायको घेरा नजिकै संरक्षित वन्यजन्तु मृत अवस्थामा फेला पर्दा सम्बन्धीत सुरक्षा निकाय प्रतिनै गम्भिर प्रश्न उठेको छ ।
यस्तै २०७८ साल असार महिनामा (नेपाली सेना)को ब्यारेक नजिकै दक्षिण तर्फ शिकारीले थापेको पासोमा हुडार परेको थियो । वन कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी लगायतको सक्रियमा उक्त हुडारलाई सकुशल उद्दार गरिएको थियो । देउखुरी क्षेत्रका सामुदायिक वन स्थापनापछि झन्डै डेढ दशक रोकिएको चोरी सिकार पुनः सुरु भई द्वन्द्वकालमा बढेको देखिन्छ । सुरक्षा निकायको घेरा नजिकै विभिन्न संरक्षित वन्यजन्तु मृत अवस्थाका घटनाहरु बारिह सार्वजनिक हुदाँ सम्बन्धीत निकायका कर्मचारी नै विश्वस्त देखिदैनन् । वन्यजन्तु मारेको आरोपमा अहिले सम्म एकजना शिकारी (तस्कर) वन कार्यालय र प्रहरी प्रशासनले पक्राउ परेको त तथ्यांक नै छैन । यता डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले पछिल्ला वर्षमा वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताए। ‘चित्तल लगायत विभिन्न वन्यजन्तुहरु संरक्षणमा सबैभन्दा ठुलो चुनौती चोरी सिकार हो । चोरी सिकार सधैंको समस्या हो, उनले भने । ‘सुराकी सञ्जाल कमजोर भएको अवस्थामा चोरी सिकारका घटना बढी हुन्छन् ।’
सम्बन्धीत निकाय र प्रहरी प्रशासन सक्रिय नभएको अवस्थामा तस्कर सल्बलाउने गरेको उनले बताए । सामुदायिक वन र वन्यजन्तुको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालय खटिएको छ । चोरी सिकार नरोकिँदा प्रशासन, सुरक्षा व्यवस्था, सामुदायिक वन र अन्य सहयोगी संस्थामाथि प्रश्न उठ्दै आएको छ । सहयोगी संस्थाको कामसमेत प्रभावकारी हुन सकेको छैन । चोरी सिकार नियन्त्रणमा आफु लागिपरेको डिभिवन वन कार्यालय दाङ, देउखुरीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले बताए । ‘सुरक्षा निकायलाई उच्च सतर्कताका साथ रहन निर्देशन छ, उनले भने ,–। ‘व्यवस्थापनको काम प्रशासनले गर्छ ।’ उनले तस्कर खोज्ने काम पनि भइरहेको बताए । उनका अनुसार मंगलवार मृत भेटिएका जरायोलाई तस्करले अलगअलग स्थानमा पासो थापेर मारेका थिए । प्रशासनको सहयोगमा तस्करलाई खोज्ने क्रम जारी राखेका छौं, उनले भने –। ‘समुदायको सहभागिताबिना जरायोलगायत संरक्षित वन्यजन्तु संरक्षण गर्न चुनौती छ । वन कार्यालयको एकल प्रयासले मात्रै वन्यजन्तु संरक्षण गर्न सम्भव छैन । जिम्मेवारी धेरै छ । वन क्षेत्र, वन्यजन्तु लगायत कहा कतीबेला घटना घट्छ थाहा हुदैँन ।’
देउखुरीको संरक्षित वनक्षेत्र लमहीमा शिकारीले थापेको पासोमा परेर एउटा चित्तल मृत अवस्थमा फेला परेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग रणसिंह दल गण अर्जुनखोला (नेपाली सेना)को ब्यारेक देखि दक्षिण तर्फको वन नजिक पासोमा परेर जरायो मरेको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले बताए । उनले चित्तल केहिदिन अघि नै मरेको हुनसक्ने भन्दै अरु ठाउँमा पनि पासो थापिएको हुने सक्ने भएकाले खोजी भईरहेको बताए । यसमा संग्लनहरुको खोजी गरी कारवाहीको दायरमा ल्याउने उहाँको भनाई छ । उनले मरेको जरायोलाई वन कर्मचारी र स्थानियको रोहबरमा खाल्टो खानी गाडिएको बताए । यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले संरक्षित क्षेत्र नै पछिल्लो समय मासिने र वन्यजन्तु मार्ने क्रम बढेको भन्दै यसलाई रोक्न प्रभावकारी कदम चाल्नु पर्ने औंल्याए। संरिक्षत जंगलभित्र ठाँउ ठाउँमा अवैध हात हतियार एवम् पासो थापेर वन्यजन्तु मार्ने, चोरी सिकारी गर्ने तस्कार (सिकारी)लाई नियन्त्रण र दोषीलाई कारवाहीका लागि स्थानिय तह र वन कार्यालय लगाएतले सामूहिक रुपमा प्रभावकारी कदम चाल्नु पर्ने औंल्याएका छन् ।
वन कार्यालयद्धारा अनुसन्धान सुरु
डिभिजन वन कार्यालय देउखुरीले वन्यजन्तु मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान सुरु गरेको छ । डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको बताए । उनले यस विषयमा गम्भिरतापूर्वक अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाइ दोषीलाई वन ऐन अन्तरगत कडा कार्वाही गरिने बताए । उनले अनुसन्धानको प्रक्रिया सुरु भइसकेको समेत बताए ।
वन्यजन्तुको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन
डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले वन्यजन्तुको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन प्रशासन, सुरक्षाकर्मी र सरोकारवालालाई निर्देशन दिएका छन । सबै पक्षको सहयोग भएमा वन्यजन्तु तथा वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ । वन्यजन्तुको प्रभावकारी सुरक्षा व्यवस्थापनमा सबै सुरक्षा निकाय, स्थानीय समुदाय र सरोकारवालाबीच आपसमा समन्वय गर्नुपर्ने खाँचो रहेको वन अधिकृत वाग्लेले बताए । उनले वन्यजन्तु अपराध नियन्त्रणमा खटिने वनका कर्मचारी र सुरक्षा निकायको क्षमता बढाउनुका साथै नवीनतम् प्रविधिको प्रयोगमा बढी जोड दिन निर्देशन दिए ।






