शिवु खनाल ,देउखुरी। युवायुवतीहरू सरकारी जागिर तयारी कक्षाका लागि हजारौँ खर्च गरेर शहर धाउनुपर्ने बाध्यता रहेकाले त्यस्ता युवाहरुलाई स्थानिय सरकारले गाउँमै निःशुल्क लोकसेवा पढाउन थालेको छ । गाउँघरमै लोकसेवा तयारी कक्षा स्थानिय सरकारले सञ्चालन गरेपछि यहाँ युवायुवतीहरू खुसी भएका छन् । कक्षा बाह्र उत्तीर्ण गरेपछि अधिकांश युवायुवतीहरु लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाका शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्ति अभाव हुन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो । लमही नगरपालिका वडा नम्बर ७ अन्तरगत १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ, लमही नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्ष्य गरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको बताउनुभयो । युवायुवतीहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको लमही नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले बताउनुभयो ।
समाज परिर्वतनका लागि युवायुवतीहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका युवायुवतीहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध भन्ने उहाँको भनाइ थियो । विद्यार्थीहरूलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क लोकसेवा तयारी सञ्चालन गरिएको हो । गाउँमै जागिरको तयारी गर्नको लागि शुक्रवारदेखि कक्षा सुरु गर्न लागिएको लमही नगरपालिका वडा नम्बर ७ का वडा सचिव शेरबहादुर चौधरीले बताउनुभयो । गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्ने वातावरण सिर्जनाको लागि पहिलो चरणमा विद्यार्थीहरूलाई अभिमुखीकरण गर्ने बताइएको छ । देशमा हुने रोजगारीतर्फ कम आकर्षित भई वैदेशिक रोजगारीमा जाने बढ्दो चापलाई कम गर्नको लागि उक्त कक्षा सञ्चालन गर्न लागिएको हो । गाउँमै बसेर जागिरको तयारी गर्न सक्ने र लोकसेवामा आकर्षण बढाउनका लागि अभिमुखीकरण सहित कक्षा सञ्चालन गर्न लागिएको लमही नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले बताउनुभयो ।
बाध्यताले सहरमा गएर लोकसेवा र शिक्षक सेवाको कक्षा लिने कुराको अन्त्य र आर्थिक हिसाबले कमजोर भएकाहरूलाई लक्षित गरेर नीति तथा कार्यक्रम नै समावेश गरिएको उहाँले बताउनुभयो । वडा सहित यस क्षेत्रबाट लोक सेवामा कम आकर्षण भएको हुँदा लोकसेवाप्रति आकर्षण बढाउनका लागि यस्तो गरिएको उहाँको भनाइ छ । लोकसेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै वडाले युवायुवतीका लागि निशुल्क लोकसेवा तयारी कक्षा संचालन गरिरहेको वडाले जनाएको छ । गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँ युवाहरु खुसी भएको छन् । वडा सरकारले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको भन्दै, लोक सेवा तयारी कक्षा सञ्चान गर्नु हाम्रो लागि सुनौलो अवसर भएको तालिममा सहभागी प्रेमा चौधरीले बताउनुभयो । पढेलेखेको भए पनि समय र परिस्थितिले गर्दा टाढा पढ्न जान नपाएका हामी जस्ताका लागि यो कार्यक्रमले आफ्नो सिकाइमा ठूलो टेवा पुग्ने उहाँको भनाइ छ । यहाँका युवाहरुले लोक सेवा तयारी कक्षा लिनको लागि काठमाडौँ, नेपालगञ्ज, बुटवल जानु पर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ ।
राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै, लमहीका युवा व्यवसायी पवन शर्मा रिजालले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउनु पर्ने बुझाइ भएकाले यो कार्यक्रम उपयोगि भएको बताउनुभयो । लमही नगरपालिका वडा नम्बर ७ मा निशुल्क लोक सेवा तयारी कक्षा संचालन कार्यक्रम सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको आयोजनामा शुक्रवारदेखि लमहीमा दुई महिने निशुल्क लोक सेवा तयारी कक्षा संचालन कार्यक्रम सुरु भएको लमही नगरपालिका वडा नम्बर ७ का वडा सचिव शेरबहादुर चौधरीले जानकारी दिनुभयो । उक्त निशुल्क लोक सेवा तयारी कक्षा संचालन कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ७ अन्तरगतका ४० जना युवायुवतीको सक्रिय सहभागीता रहेको छ । तालिम न्यू भिक्टोरीया ट्युसन सेन्टर लमही सहजिकरण गर्नेछ ।






