दाङ । केहीलाई भएपनि मेरो आफ्नै रगत दीइ बचाउँ, केहीलाई रक्तदान गर्न हौषला प्रदान गरुँ भन्ने भावनाले पटकपटक रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गर्ने गरेको दाङको लमही नगरपालिका वडा नम्बर ६ देउखपुर निवासी खमानसिंह खड्काले बताए ।
रक्तदान गर्दा कमजोरी भईन्छ भन्नेहरुका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउने प्रयास गर्दै आएको उनले बताए ।
बिरामीहरुलाई रगत दिएर बचाउनु एक सामान्य चिकित्सा उपचार हो । कतिपय बिरामीहरुले समयमा नै रगत नपाएर जीवन गुमाउने गरेका हामीले सुन्दै आएका छौं । तर, रक्तदानप्रती उत्प्रेरणा जगाउने अभियान छोटै समयमा स्थापित भैसकेको छ, रक्तदाता खड्काले भने । बुधवार नेपाल शिक्षक महासंघ लमहीले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाता खमानसिंह खड्काले नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीमा पुगेर रक्तदान गरेका हुन् । अहिलेसम्म खड्काले दशपटक रक्तदान गरेका छन् ।
नेपाल शिक्षक महासंघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा बाइसजनाले रक्तदान गरेको नेपाल शिक्षक महासंघ लमहीका अध्यक्ष मनिराम केसीले जानकारी दिए ।
रगतको अभावमा कोहि कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदान गरेको अध्यक्ष केसीले बताउनुभयो । लमही अस्पताल नजिकै रेडक्रस स्थापना गरेर रगत संकलन गर्ने कार्य भैरहेको छ । उक्त रेडक्रसबाट आवश्यक परेका बिरामीहरुलाई रगत दिएर सहयोग भैरहेको छ । (कोभिड १९) का कारणले रक्तदानका कार्यक्रम नहुँदा धेरै अस्पतालहरूमा रगतको अभाव भएको र यस कार्यक्रमले थोरै भएपनि राहत प्रदान गर्ने संघका अध्यक्ष मनिराम केसीले बताए । रक्तदान जीवन दान मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो, उनले भने ।
मिर्गौलाका बिरामी, एमिनिया, प्रसूतीलाई नियमित रगतको आवश्यक भइरहने गर्दछ । नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीका इञ्चार्ज मनिषा कुमारी चन्दले भनिन्,–। लमहीमा संकलित गरिएको रगतले ती बिरामीलाई धान्न मुश्किल परेको छ ।’
रक्तदानलाई जीवनदानको नारा दिएर विभिन्न संघसंस्थाले आफ्ना वार्षिकोत्सव, स्थापना दिवस, विशेष अवसरमा रक्तदान कार्यक्रम गर्ने गरेका छन् । यसरी आयोजना गरिने कार्यक्रमले स्वास्थ्य उपचारका क्रममा आवश्यक रगतको माग पूरा भइरहेको छ । तर, रक्तदान कार्यक्रम आयोजना हुने स्थिति नहुँदा बेला–बेलामा रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुने गरेको छ । नेपाली समुदायमा रक्तदानलाई पुण्यकर्मको रुपमा लिन थालेका छन् । सामाजिक संजाल (फेसबुक) प्रयोगकर्ताहरुले साथीहरुलाई जन्मदिनको दिन शुभकामना दिदै अर्को बर्षको जन्मदिन रक्तदान गरेर मनाउन अनुरोध गर्ने गरेको छन् । अहिले जन्मदिनको अवसरमा रगत दान गर्नेहरुमा मनग्य भेटिन थालेका छन् ।






