काठमाडौं । कोरोना महामारीको कारण मुलुक निषेधाज्ञामा रहेकै बेला सामाजिक सञ्जाल फेसबुक ह्याक गर्दै ठगी गर्ने गिरोह सक्रिय भएका छन् ।
फेसबुक मार्फत आज जुम मिटिङ छ भन्दै मोबाइल नम्बर माग्ने, नम्बर दिएपछि कोड नम्बर माग्ने र उक्त कोड दिएको केही मिनेटमा फेसबुक ह्याक गरेर विभिन्न चिनजानको साथीभाई इष्टमित्रहरुसँग मोबाइल बैंकिङ्गमार्फत् पैसा माग्दै ठगी गर्ने गिरोह सक्रिय भएका हुन् । यसबारे विभिन्न व्यक्तिहरुले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी पनि गरेका छन् ।
गत अप्रिल महिनामा कलाकार दिपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिहरुुसँग पैसा मागेको भन्दै साइबर ब्युरोमा निवेदन परेको थियो ।
पछि १२ दिनपछि उनीहरुको फेसबुक ह्याकरबाट फिर्ता आएको थियो । साथै फेसबुक ह्याक गर्ने पर्सा जिल्लाको बहादुरमाई नगरपालिका वडा नं। ५ बस्ने १४ वर्षको युवक पक्राउ गरेका थिए ।
यसैगरी गायक शिवा परियारको पनि फेसबुक ह्याक भएको सामाजिक संजाल मार्फत जानकारी गराएका थिए । सुरुमा विभिन्न बहानामा कोड माग्नेरदिने गरेर फेसबुक ह्याक गर्ने अनि साथीभाइ आफन्तजनसँग पैसा माग्ने गरेको खुलेको छ ।
उज्यालो नेटवर्ककै निर्देशक मिलन लामाको पनि फेसबुक एकाउन्ट ह्याक गरि प्रहरीको उच्च ओहोदाका व्यक्तिहरुसँग पैसा माग्ने , उनले सञ्चालन गरिरहेका रेष्टुरेन्टहरुको पेज डिलिट गर्ने, पेजको नाम परिवर्तन गर्नेदेखि जुम मिटिङ छ भन्दै विभिन्न व्यक्तिहरुसँग कोड माग्ने गरेको बताएका छन् ।
यसरी केही दिन यता सामाजिक संजाल फेसबुक ह्याक गरि साथीभाई आफन्तसंग पैसा मागेका उजुरीहरु धेरै पर्न थालेपछि साइबर ब्युरोले एक विज्ञप्ति जारी गरि सजक रहन सबैमा अपिल समेत गरेका छन ।






