काठमाडौं । पछिल्लो समय विभिन्न खाडी मुलुकदेखि जापान, कोरिया, युरोप लगायतका देशहरुमा पठाउँछु भन्दै मोटो रकम लिएर विदेशमा नेपाली युवाहरु अलपत्र पार्ने क्रम बढ्दो छ ।
यसै क्रममा नुवाकोट नर्जामण्डप वडा–३ का जीवन तामाङ लगायत्का केही युवाहरूलाई कोरिया पठाउने सपना देखाउँदै १२ लाखको दरले रकम लिएर गोरखाका आमुल भट्ट फरार भएको पाइएको छ ।
नुवाकोट नर्जामण्डप–३ कै पुरुषोत्तम अधिकारी र विरोचन खनालको विश्वासमा पीडित तामाङ लगायतका युवाहरूले कोरिया पठाउँछु भनेपछि रुपैया १२ लाख रकम आमुल भट्टलाई दिएका थिए ।
गाउँकै साथीहरूले नै ‘केही घटबढ भए हामी छौँ’ भन्दै ढाडस दिएपछि उनीहरुले विश्वासमा कोरियाको सपना देखेर रकम दिएका थिए । उनीहरुले गाउँका साथीहरु अधिकारी र खनालको हातबाट भट्टलाई रकम दिएका थिए ।


तर कोरिया भनेर गएका तामाङसहित सुरेन्द्र चौधरी, केश कुमार झालाई थाइल्याण्डमा अलपत्र परे । थाइल्याण्डमा अलपत्र परेपछि उनीहरु ११ दिनपछि पुनः नेपाल फिर्ता आएका थिए ।
पीडितहरुले आफ्नो रकम फिर्ता माग्दा भट्टले जीवन तामाङको नाउँमा माछापुच्छ्रे बैंकको १२ लाख र मायालु तामाङको नाउँमा ६ लाख रुपैयाँको चेक काटेर दिएका थिए तर खातामा रकम नभएपछि पीडितहरुले महानगरीय प्रहरी परिसर टेकुमा बैंकिङ कसुर सम्बन्धि मुद्दा दर्ता गरेका छन् ।










