आदिवासी मगरहरुको मौलिक चाड नाम्क (भूम्या)

उज्यालो प्रतिनिधि १ असार २०८३, सोमबार Breaking News With Image

जिवनप्रवेश रोकामगर/
विषय प्रवेश
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाज भएको देश हो । यहाँका आदिवासी जनजातिहरूले हजारौं वर्षदेखि प्रकृतिसँग सहअस्तित्वमा आधारित जीवनशैली विकास गरेका छन् । मगर समुदाय नेपालको कुल जनसंख्याको तेस्रो र आदिवासी जनजाति समुदायको सबैभन्दा बढी २०,१३४९८ जनसंख्या रहेको छ । नेपालको जम्मा जनसंख्याको ६.९ प्रतिशत रहेको छ। । मगर समुदाय विशेष गरी पश्चिम नेपालका राप्ती, भेरी र काली गण्डकी प्रर्शब क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आएको पाइन्छ ।

यहाँ यहि असार १ गते मगर समुदायले प्रकृतिको पूजा गरेर मनाउने नाम्क पर्वको बारेमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानबाट २०८२ सालमा रोल्पा जिल्लामा मनाइने नाम्क पर्व, भूम्या पूजा र नोकोबाङ्ग्या नाच सम्बन्धि : एक अध्ययन शिर्षकमा रोल्पाको थबाङमा गरिएको अनुसन्धानात्मक लेखको सारको रुपमा प्रस्तुत गरिएको छ ।

मगर समुदायले पुस्तौंदेखि प्रकृतिप्रति सम्मान, सामुदायिक एकता र सांस्कृतिक मौलिकतालाई जीवनशैलीको अभिन्न अंग बनाउँदै आएका छन् । जसमा रोल्पा जिल्ला आदिवासी मगर समुदायको ऐतिहासिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित छ । यहाँका सांस्कृतिक अभ्यासहरू आज पनि सामुदायिक जीवनको अभिन्न हिस्सा बनेका छन् । सामाजिक संरचना, बस्ती प्रणाली तथा सांस्कृतिक अभ्यासहरू एक आपसमा गहिरो रूपमा अन्तरसम्बन्धित रहेको पाइन्छ ।

रोल्पा नेपालको लुम्बिनी प्रदेशको एक ऐतिहासिक, सांस्कृतिक र राजनीतिक चेतनाको केन्द्रका रूपमा परिचित जिल्ला हो । रोल्पालाइ अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रको व्यावस्था ल्याउने तत्कलिन १० वर्षे जनयुद्दको उद्गम स्थलको रुपमा पनि परिचित छ ।

नाम्कः उत्पत्ति, शाब्दिक र सांस्कृतिक अर्थ
नाम्क पर्व आदिवासी मगरहरुले बादी पहिरो नआवस, पृथ्वीमा कुनै प्रकारको प्राकृति प्रकोप र महाविपत्तिहरु आइनलागोस, विश्व मानवको कल्याण होस भनेर भूमीको पूजा र आरधना गरेर मनाउने साँस्कृतिक चाडलाई नाम्क भनिन्छ । यो चाड विशेषगरि रोल्पा र पूर्व रुकुममा मनाइने गरिन्छ । अहिले बसाई सराई र सिकाइले गर्दा दाङ, पोखरा, काठमाडौं लागायतका शहरहरुका साथै वेलायत, अमेरिका, जापान, कोरिया, कतार लगायतका देशमा पनि यो चाड हर्सोल्लासका साथ मनाउने गरिएको पाइन्छ ।

स्थानीय विश्वास अनुसार वर्षभरि समुदायको रक्षा गर्ने भूमि, वन, पानीलाई सम्मान व्यक्त गर्न यो पर्व मनाइन्छ । खेतीपातीको शुभारम्भअघि भूमि र प्रकृतिको आशीर्वाद प्राप्त गर्ने उद्देश्यले सामूहिक रूपमा पूजा गर्ने चलन रहेको छ । यसको उत्पत्ति पश्चिम नेपालको लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा र पूर्वी रुकुममा भएको पाइन्छ । पूजा अनुष्ठान र नाच एकै प्रकारका भएतापनि ठाउँ अनुसार स्थानिय स्तरमा विविध नामले पुकारिने गरेको पनि पाइन्छ । मगर खाममा नाम्क, भुल्कु, भल्क, भल्कै र बल पूजा भन्ने गरिएको भएतापनि शाब्दिक अर्थ र उत्पत्ति स्थलको आधारमा अनुसन्धानले चाडको नाम्क नै रहेको देखिन्छ ।

नाम्कको शाब्दिक अर्थ नाम+क=नाम्क भनेको देखिन्छ नाम भनेको जमिन र क भनेको कःन्या अड्याउने, अथ्याने, रोक्ने भन्ने हुन्छ । त्यसैले नाम्क जमिनलाई पहिरो र भूक्षयबाट रोक्ने भन्ने अर्थ लाग्ने गर्दछ । त्यसैले नाम्क भनेको आदिवासी मगरहरुले प्रकृपतिको पूजाआजा गरि मनाइने साँस्कृतिक चाड हो भन्न सकिन्छ । यस चाडलाई प्रकृति, भूमि र समुदायबीचको सम्बन्धलाई पुनः स्मरण गर्ने पर्वका रूपमा पनि लिइन्छ । कृषि जीवनसँग प्रत्यक्ष सम्बन्धित यो पर्व वर्षायामको प्रारम्भसँगै मनाइन्छ । उभ्याली मौसमको जेठ पुर्णिमाबा दारधुप हालेर बाजा फुकाउने गरिन्छ भने असारको औंसीमा जमिनको पूजा गरि करिब १ हप्तासम्म नोकोबाङ्या नाचेर मनाउने गरिएको पाइन्थ्यो भने नेपालमा हिन्दु क्यालेन्डर भित्रिएपछि असार १ गते मनाउने गरेको पाइन्छ ।

नाम्कले प्रकृतिप्रतिको कृतज्ञता, सामुदायिक एकता, स्थानीय सांस्कृतिक पहिचानको संरक्षण, कृषि कर्मको प्रारम्भसँग जोडिएर प्रकृति, भूमि, पानी, वनस्पति र सम्पूर्ण जीवजगतप्रति कृतज्ञता व्यक्त गर्ने सन्देश दिन्छ ।

भूम्या पूजाः भूमिको सम्मान र संरक्षणको सन्देश
नाम्क पर्वको मुख्य पक्ष भूम्या पूजा हो । आदिवासी मगर समुदायको विश्वास अनुसार भूमि सम्पूर्ण जीवको जीवनदाता हो । भूम्या पूजामा गाउँका पूजारीको नेतृत्वमा भूमि, वन, जलस्रोत र प्राकृतिक शक्तिहरूको पूजा गरिन्छ । राम्रो वर्षा, उर्वर भूमि, प्रशस्त उत्पादन, रोगव्याधिबाट मुक्ति तथा समुदायको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । अन्न, पानी, वनस्पति तथा जीवजन्तुको अस्तित्व भूमिमै निर्भर हुने भएकाले भूमिलाई देवत्वको रूपमा सम्मान गरिन्छ ।

परापूर्वकालमा औंसीको अगिल्लो दिन र आजभोली जेठ मसान्तको दिनमा रोका खलकका पुजारुले चोखो भएर पानीको मुहान, भिर, पहरा, कोप्चयारा, जंगल रुख र बराहा थानमा धारधुप हाल्दै जाने र मुलथाङ्गे र मुलथाङ्गेनीहरुले करिब ३५ सय मिटरको अग्लो बुकीमा गएर फुल टिप्न जाने चलन रहेको पाइन्छ । जहाँबाट धुपी सल्ला प्रजातिको भूम भनिने सल्ला काटेर ल्याउने र टुप्पोमा धजा बाँधेर ल्याउने गरिन्छ । जुन भूम रुखलाई भूम्या देवताको रुपमा मानिन्छ भने त्यसलाइ मुर्ला भनिने गरिन्छ । मुर्लालाई नोकोबाङ्ग्या नाचिने ठाँउको बिचमा नाम्क भरिसम्म गाडेर राख्ने र त्यसलाई बिचमा पारि गोलो घेरामा महिला र पूरुषले नाच्ने गर्दछन् । त्यस भूम र मुर्लासँग विभिन्न मिथकहरु जोडिएको पाइन्छ ।

रोल्पाको थबाङमा भूम्या पूजाका लागि नामचुन बसाल्ने चलन पनि छ । जुन आदिम कालमा मानव भोग दिइ सिम्या भूम्याको पूजा गरिएको केही मिथकहरु पाइन्छ । थबाङमा अहिले पनि गाउँको सबैभन्दा उमेरले जेठो मानिसलाई वलि दिने ठाउँमा नामचुन बसाल्ने गरिन्छ । जुन नामचुन भनेको मगर खाम शब्द हो जस्को अर्थ नाम भनेको जमिन र चुन भनेको अचानो भन्ने हुन्छ । आजभोली भूम्या थानमा बोकालाई मन्छाएर बलि दिने ठाउँमा ल्याइपुर्याउदा त्यो नामचुनलाई लुकाएर बोकाले बलि दिने गरेको पाइन्छ । त्यसको केही मिथक र संकेतहरु हेर्दा मानव वलि जवरजस्ती होइन । स्वइच्छाले आप्mनो गाउँ र मानिसहरुको रक्षाका लागि गाउँका सबैभन्दा जेठो अगुवाले भूमीलाई भोग चढाउनकालागि हाँसी हाँसी ज्यामो ओयाल ङाबारी भनेर वलिदानी भावबाट बलि चढ्न गएको होकी भन्ने देखिन्छ यद्यपी यसको विष्तृत अध्ययन हुन आवश्यक छ ।

पूजा गर्ने मेदो (बोका, साँधा) लाई मगर खाममा भूम्या झान्या भनिन्छ । तर आजभोली मगर खाम भाषाको मौलिकता हराउदै भूम्याको सत्ता खस नेपालीकरण गरि विभिन्न मगर तथा गैरमगर संघ संस्थाहरुले चाडको नाम पनि भूमे, नाचको नाम पनि भूमे नाच लेख्दै विकृत गर्दै लगेको पाइन्छ । भूम्या र भूमेको सन्दर्भमा मगर खाम लवजमा उच्चारण गर्दा भूम्या भनिन्छ भने खस नेपाली बोल्ने र लेख्नेहरुले भूमे भनेर लेखेको पाइन्छ । जसमा मगर खाममा उच्चरण गर्दा र देवनागरीमा लेख्दा क्रियाको पछाडी न्या हुन्छ भने क्रियाविशेषणको पछाडी ग्या, म्या, ङ्या आदि जोडिन्छ । जस्तै (जैन्या, रैन्या, पैन्या) आदि लेखिन्छ भने खस नेपालीमा देवनागरीबाट लेख्दा क्रियाको पछाडी ने जोडिन्छ । जस्तै (लेख्ने, खाने, गर्ने) आदि त्यसैले मगर खाम मातृभाषा नभएका र खस नेपालीमा मात्रै लेख्ने अभ्यास भएकाहरुले भूम्या को सत्ता भूमे लेखेर मगर खामको मौलिकतामा प्रहार गरि खसकरण गरिरहेको पाइन्छ । यस चाडको महत्व नबुझेका, मगर मातृभाषा नजानेका, मगर संस्कार, संस्कृति हराएका र मगर इतिहास र सभ्यता अध्ययन नगरेका तथाकतित मगर र गैरमगर नेतृत्वहरुबाट नै परम्परागत रुपमा रहेको मौलिक चाडपर्वलाई संरक्षण र संबर्दन गर्नुको सातो राजनैतिक स्वार्थको रुपमा प्रयोग गरेर विकृत गर्दै गरेको पाइन्छ । यसरी साँस्कृतिक चाडहरुको नामहरु अपभ्रष गराउदै जाँदा कालान्तरमा यस चाडको मौलिकता नै हराएर वा अन्यकरण भएर जाने खतरा देखिन्छ ।

यस भूम्या पूजाले प्रकृति र मानवबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै वातावरण संरक्षणको सन्देश पनि प्रवाह गर्दछ । आधुनिक विकासको क्रममा प्रकृतिमाथि बढ्दो दबाबका बीच भूम्या पूजा मानव र प्रकृतिको सहअस्तित्वको उत्कृष्ट उदाहरण बनेको छ ।

नोकोबाङ्ग्या नाचः सांस्कृतिक गौरवको जीवन्त अभिव्यक्ति
नाम्क पर्वको अर्को महत्वपूर्ण पक्ष हो नोकोबाङ्ग्या नाच । यो नाच धारधुम हाल्न गएको पुजारु, फुल टिप्न गएका मुलथागे मुलथागेनीहरु मुर्ला लिएर आइसकेपछि न्याहो गाउँदै गाउँ आइपुगेर भूमीको पूजा गरेर मुर्ला गाडिएको थालामा जम्मा भएर भित्री घेरामा पुरुष र बाहिरी घेरामा महिला भएर नाच्ने गरिन्छ । यो नाच जतिपनि मेलामा उपस्थित मानिसहरु एकैचोती सयौं हजारौंले एकैचोटी नाच्ने सामुदायिक नाच हो । यसको २२ वटा तालमा २२ चाला रहेको हुन्छ । तर आजभोली कोही गाउँमा ९ चाला त कोही गाउँमा ७ चाला र कोही गाउँमा ८ चाला मात्रै नाच्ने गरेको पाइन्छ । त्यो २२ चाला रोल्पा रुकुमका त्यही गाउँहरुमा नै कोही नाच कहाँ ता कोही चान कहाँ हराएर रहेको हुनसक्छ । त्यसको पनि व्यावस्थित अध्ययन भएमा २२ ताल र २२ चाला भेटिन सक्ने आधारहरु रहेका छन् ।

यो नोकोबाङ्गे नाच मगर समुदायको विशिष्ट परम्परागत सामूहिक नृत्य हो, जसले समुदायको इतिहास, जीवनशैली, संघर्ष, प्रेम, प्रकृतिप्रतिको सम्मान तथा सामाजिक एकतालाई कलात्मक रूपमा प्रस्तुत गर्दछ। र नाचलाई नोकोबाङ्या, लोकोबाङ्ग्या, नौबाङ्या पनि भन्ने गरेको पाइन्छ । परम्परागत मगर भेषभूषामा सजिएका युवा, वृद्ध, महिला तथा पुरुषहरू सामूहिक रूपमा गोलबद्ध भई दमाहा, छेलम, ट्याम्की सहनाइ, पैजन बाजाहरुको तालमा नोकोबाङ्ग्या नाच प्रस्तुत गर्छन् । यस नृत्यले पुस्तादेखि पुस्तासम्म सांस्कृतिक ज्ञान र पहिचान हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमको काम गर्दै आएको छ ।

यस नाचले समुदायका सदस्यहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पनि हो । आजको बदलिँदो सामाजिक परिवेशमा नोकोबाङ्ग्या नाच केवल मनोरञ्जनको साधन नभई आदिवासी मगर समुदायको सांस्कृतिक अस्तित्व र पहिचानको प्रतीक बनेको छ ।

संरक्षणको आवश्यकता
विश्वव्यापीकरण र आधुनिक जीवनशैलीको प्रभावले धेरै मौलिक संस्कृतिहरू संकटमा परिरहेका बेला नाम्क पर्व, भूम्या पूजा र नोकोबाङ्ग्या नाच जस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण अपरिहार्य बनेको छ। यी परम्पराहरूले केवल मगर समुदायको मात्र प्रतिनिधित्व गर्दैनन्, बरु नेपालको बहुसांस्कृतिक पहिचानलाई समृद्ध बनाउने साझा राष्ट्रिय सम्पत्ति हुन् । यस्ता पर्व, पूजा र सांस्कृतिक अभ्यासहरूको दस्तावेजीकरण, अध्ययन, अनुसन्धान तथा पुस्तान्तरणमा राज्य, स्थानीय सरकार, शैक्षिक संस्था र समुदाय सबैको सक्रिय भूमिका आवश्यक छ ।

वर्तमान चुनौतीहरू
आज नाम्क पर्व तथा सम्बन्धित सांस्कृतिक अभ्यासहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । युवा पुस्ताको घट्दो सहभागिता, विदेशिन बाध्य हुनु, बसाइँसराइ, आधुनिकीकरण, मौखिक परम्पराको लोप, अनुसन्धान तथा दस्तावेजीकरणको अभाव रहेको पाइन्छ ।यद्यपि पछिल्ला वर्षहरूमा मगर समुदाय र विभिन्न संस्थाहरूले नाम्क पर्वको संरक्षण तथा प्रवद्र्धनमा सक्रियता बढाएको पनि पाइन्छ ।

संरक्षणका उपायहरू
मगर समुदायको साझा संगठन नेपाल मगर संघले संस्थागत रुपमा अपनत्व ग्रहण गर्दै मनाउने र मातहतका संघ संगठनहरुलाई आयोजना गर्न लगाउने, नेपाल सरकारसँग मगरहरुको मौलिक साँस्कृति चाडको रुपमा घोषणा गरि असार १ गतेलाई भूम्या पूजाको विदा दिन पहल गर्ने, गरि विद्यालय तथा विश्वविद्यालयमा मगर संस्कृति सम्बन्धी अध्ययन विस्तार गर्न पहल गर्ने । मौखिक इतिहासको अभिलेखीकरण गर्ने । स्थानीय तहबाट सांस्कृतिक संरक्षण कार्यक्रम सञ्चालन गर्न पहल गनेए । डिजिटल माध्यमबाट दस्तावेजीकरण गर्ने । युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्ने । नोकोबाङ्ग्या नाचलाई सांस्कृतिक सम्पदाका रूपमा प्रवद्र्धन गर्न सकिएमा यसको संरक्षण सहित संबद्र्दन र विकासमा टेवा पुग्ने देखिन्छ ।

निष्कर्ष
असार १ गते मनाइने नाम्क पर्व, भूम्या पूजा र नोकोबाङ्ग्या नाच आदिवासी मगर समुदायको प्रकृतिप्रतिको सम्मान, सामुदायिक एकता तथा सांस्कृतिक पहिचानका महत्वपूर्ण प्रतीक हुन् । मगर समुदायको प्रकृतिसँगको गहिरो सम्बन्ध, सामुदायिक एकता, सांस्कृतिक चेतना र मौलिक पहिचानका जीवन्त प्रतीक हुन् । यी परम्पराहरूले प्रकृतिको सम्मान, सहअस्तित्व, सामाजिक सद्भाव र सांस्कृतिक गौरवको सन्देश बोकेका छन ्। त्यसैले यस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु आजको साझा दायित्व हो। यी परम्पराहरूले मानव र प्रकृतिबीचको सहअस्तित्व, भूमि र पुर्खाप्रतिको श्रद्धा तथा सामूहिक जीवनदर्शनलाई अभिव्यक्त गर्छन् । आधुनिक परिवर्तनका बीच यस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु केवल मगर समुदायको मात्र होइन, नेपालको समग्र सांस्कृतिक विविधताको संरक्षणका लागि पनि आवश्यक छ ।
(लेखक नेपाल मगर सघ केन्दीय समितिको भाषिक उपाध्य तथा नेपाल खुलमा विश्वविद्यायमा बी ए तहमा मगर अध्ययन विषयका अध्याप पनि हुनुहुन्छ ।)

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार