शिवु खनाल, दाङ । लुम्बिनी प्रदेशकाे उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लमहीमा रहेको जैविक विविधता चिल्ड्रेन पार्कलाई लुम्बिनी प्रदेशलाई नमुना पर्यटकीय क्षेत्रकाे रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए । लुम्बिनी प्रदेशका उद्याेग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले दाङ देउखुरीका पर्यटकिय स्थलहरुको अनुगमन गरेको थियो ।
शनिबार दाङको लमही पुगेकी मन्त्री पाण्डेले लमहीमा रहेको जैविक विविधता चिल्ड्रेन पार्ककाे स्थलगत अवलोकन एवम् निरिक्षण गर्दै आवश्यक बजेट विनियोजन गरि देउखुरी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई नमुना पार्ककाे रूपमा विकास गर्ने प्रतिबद्धता जनाए ।
तिनै तहकाे सरकारकाे समन्वयमा लमहीको अजम्बरी सामुदायिक वन भित्र रहेको चिल्ड्रेन पार्कलाई पर्यटकहरूकाे मुख्य आकर्षक केन्द्रकाे रूपमा विकास गर्न जरुरी रहेको मन्त्री पाण्डेको भनाई छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गकाे छेवैमा भएको हुनाले यस पार्कलाई लुम्बिनी पछिकाे दाेस्राे ठुलो लुम्बिनी प्रदेशको चिनारीकाे रूपमा विकास गर्न आवश्यक छ, यसका लागि सबैले सहयोग गर्नु पर्छ उनले भने ।
अनुगमनमा मन्त्रालयका सचिब राजेन्द्र केसी, मन्त्रालयका अधिकृत टुकराज पाण्डे, डिभिजन वन कार्यालय देउखुरी दाङका प्रमुख बेसिन्द्र राज सुवेदी, कार्यालयका सुचना अधिकारी प्रेमीलाल प्रासाद साह, मन्त्रीका स्वकिय सचीव चन्दन तिवारी, निजि सचीव मनोज न्यौपाने लगायतको टोलीले अनुगमन गरेको हो ।
लमही नगरपालिका वडा नम्बर ३ को जखेरा ताल, वडा नम्बर ५ को अजम्बरी सामुदायिक वन भित्र पर्ने चिल्ड्रेन पार्क, वडा नम्बर ८ को शिवशक्ती बाख्रा विकास सामुदायिक वन लगायतका क्षेत्रको अनुगमन गरिएको मन्त्री पाण्डेका स्वकिय सचिब चन्दन तिवारीले जानकारी दिए ।
अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालको कार्यसमिति टिमले मन्त्री पाण्डे लगायतलाई स्वागत गरेको थियो ।






