टिप्पणी/काठमाडौं । कमरेड बादल अर्थात्, रामबहादुर थापा । खड्गप्रसाद ओली नेतृत्वको सरकारका गृहमन्त्री । स्मरणीय कुरा यो छ कि रामबहादुर तत्कालीन माओवादी केन्द्रको तर्फबाट ओली सरकारमा गृहमन्त्री बनेका हुन् ।
तर, राजनीतिक घट्नाक्रमले रामबहादुर अहिले एमाले बनेका छन् । अर्थात्, उनी अहिले एमालेका नेता हुन् । एमालेका नेता हुनुअघि रामबहादुर तत्कालीन माओवादी केन्द्रका नेता हुन् । २०७५ साल जेठ ३ गते माओवादी केन्द्र र एमालेबीच एकता भएको थियो । एकतापछि नेकपा नामको पार्टी बन्यो ।
नेकपामा तत्कालीन एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष गरी दुई अध्यक्ष रहे । एमाले–माओवादी केन्द्रको पार्टी एकतापछि बनेको नेकपा नामको पार्टी ४१ महिनासम्म कायम रह्यो ।
५ पुस २०७७ मा प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्दै रोपेको नेकपा विभाजनको बिउ सर्वोच्च अदालतमा पुगेर टुंगियो । अर्थात्, २३ फागुन २०७७ मा नेकपा नामसम्बन्धी विवादमा फैसला सुनाउँदै सर्वोच्च अदालतले नेकपा भंग गर्दै एमाले माओवादी ब्युँताइदियो ।
एमाले–माओवादी साविककै अवस्थामा ब्युँतिए पनि गृहमन्त्री रामबहादुर भने प्रधानमन्त्रीको दल एमालेमै रहे । त्यसपछि माओवादीबाट कारबाहीमा परेका रामबहादुरको सांसद पद गुमिसकेको छ ।
माओवादी केन्द्रको कोटाबाट बागमती प्रदेश अन्तर्गतबाट राष्ट्रियसभा सदस्य बनेका उनको सो पद गुमेसँगै अहिले उनी सांसदबिनाको मन्त्री छन् । संविधानले बिनासांसद पनि ६ महिनासम्म मन्त्री हुने सुविधा दिएको छ ।
माओवादीबाट कारबाहीमा परेसँगै रामबहादुरले गुमाएको उक्त पदमा आगामी ६ जेठमा उपनिर्वाचन हुँदैछ । जसका लागि रामबहादुरले एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेस, माओवादी लगायतका दलको तर्फबाट खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । खिमलाल एमालेका माधव नेपाल पक्षका मानिन्छन् ।
एमाले नेता हुँदै एमालेबाट उम्मेदवार भएका रामबहादुरलाई अब ‘बादल’ उपनाम राख्न जरुरी नभएको चर्चा पनि सुरु भएको छ । एकजना विश्लेषक नाम नछाप्ने शर्तमा भन्छन्, ‘रामबहादुर थापाजीको जुन बादल भन्ने उपनाम छ, त्यो जनयुद्धको भुमरीमा जन्मिएका नाम हो, उहाँले जनयुद्धको मूल्य मान्यता बिर्सेर जनयुद्धविरोधी तप्का रोजेपछि उहाँलाई अब बादल उपनाम दिइरहन जरुरी छैन ।’
यद्यपी यो नामको सन्दर्भमा फेरि रामबहादुर आफैँले सोच्नुपर्ने उनको तर्क छ । ‘बाबुरामजीले माओवादी छाड्नुभयो, सँगै जनयुद्धबाट पाउनुभएको ‘लालध्वज’ उपनाम पनि छाड्नुभयो, अब रामबहादुरजीले पनि बादल छाड्दा के जान्छ र ?’
त्यति मात्रै होइन, वैचारिक रुपमा समेत माओवादी विचारधारा र उसको एजेण्डाबाट पछाडि हटेर अर्कै कित्तामा पुगेपछि सोही विचारधारा र एजेण्डाबाट स्थापित नाम अब रामबहादुरको लागि उपयुक्त नभएको निष्कर्ष सुनाउँछन्, अर्का विश्लेषक ।






