काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताएका छन ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’ को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा समृद्धि हासिल गर्ने साझा यात्रामा अघि बढिरहेको सन्दर्भमा कलाकार राज्यको यस सङ्कल्पलाई गहिरोसँग आत्मसाथ गर्दै विकास प्रक्रियामा सबैलाई जागरुक, जिम्मेवार र सक्रिय बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठान नेपाली मौलिक कलाको अध्ययन अनुसन्धान गर्न गराउन तथा विशुद्ध नेपाली पहिचानसहित अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गर्ने कलाको विकास गर्न नेतृत्वदायी भूमिका खेल्नुुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भने, “प्रतिष्ठान स्थापनाको वास्तविक उद्देश्य पनि यही हो भन्ने मलाई लागेको छ ।”
कुनै पनि मुलुकको कलाको स्तरबाट त्यहाँको सभ्यताको विकास मापन हुने जानकारी दिँदै उनले कला सिर्जनामा जीवन र जीवनका सङ्ग्रहहरु हुने उल्लेख गरे । प्राचिनकालदेखि नै जीवनजगतलाई बुझ्ने र बुझाउने साहित्य तथा सङ्गित जस्तै ललितकलाको पनि साधना चल्दै आएको राष्ट्रपति भण्डारीको भनाइ थियो । उनले विविध सांस्कृतिक सम्पदायुक्त मुलुक मौलिक कला र संस्कृतिले सम्पन्न रहेको स्मरण गरे । उनले अनुपम प्राकृतिक सुन्दरताले सजिएको यहाँको परिवेशले सर्जकलाई सिर्जना कार्यमा उत्प्रेरित गरिरहेको अनुभव सुनाए ।
कला प्रष्फुटनका निम्ति प्रतिष्ठानले उपलब्ध गराएको वातावरणको थप उपयोग गर्न उनले कलाकारलाई आग्रह गरे । कला सिर्जनामा प्रोत्साहन गर्ने प्रतिष्ठानको अभियानको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध कलाकार अरनिकोको कालजयी सिर्जनाले नेपालमा मात्रै नभई विश्वमा ख्याति कमाएको दृष्टान्त जीवित रहेको सुनाए ।






