काठमाडौं । काठमाडौं जिल्लास्थित् काठमाडौं महानगरपालिका वडा नं. १९ निवासी हरेसमाया खड्गी र उनका श्रीमान बुद्धरत्न खड्गीको कालो कर्तुतको पर्दाफास भएको छ ।
समस्यामा परेर सम्पर्कमा आएका सर्वसाधारणलाई कुनै न कुनै बहानामा ऋणी बनाएर चर्को ब्याज उठाउनेदेखि ऋणीहरुले ऋण लिँदा धितोमा राखेका घरजग्गा लगायतका जेथा फिर्ता नगर्नेसम्मको खड्गी दम्पतिको वर्षौदेखिको कालो कर्तुतको पर्दाफास भएको हो ।
१ लाखको मासिक रु.१० हजारसम्म ब्याज असुल्दै हरेसमायाले वर्षौदेखि काठमाडौंमै ‘मिटरब्याजी’ धन्दा चलाइरहेकी छन् । हरेसमायाको कालो धन्दालाई उनका श्रीमान बुद्धरत्न र छोरी लगायत्का आफन्तले साथ दिइएको पाइएको छ ।
हरेमायाले उहिलेका साहु महाजनजसरी अहिले पनि कानुनविपरीत चर्को ब्यामा ऋण दिने र धितोमा सम्पति लिएर हडप्ने गरेको तथ्य खुलेको हो । हरेसमायाबाट काठमाडौं र आसपासका सयौँजना पीडित बनेका छन् ।
यहीक्रममा हरेसमायासँग काठमाडौं असनका श्रेष्ठ थरका एकजना पुरुष ऋण लिन पुगेका थिए । हरेसमायालाई उनका एकजना आफन्तले ती श्रेष्ठले भेटाएका थिए । हरेसमाया ती श्रेष्ठलाई ऋण दिन तयार भइन् ।
ऋण दिनुपूर्व ती श्रेष्ठसँग हरेसमायाले शर्त राखिन्, ‘ऋण दिए बापत् जग्गा धितो चाहिन्छ, ऋण तिरेपछि फिर्ता गर्ने शर्तमा ।’ अनि, २४.५ प्रतिशतको दरले ब्याज लिनेदिने सहमति पनि भयो ।
त्यसपछि उनीहरुबीच कागज भयो । कागजमा प्रष्टसँग लेखियो कि धितोमा राखिएको जग्गा ती श्रेष्ठले ऋण तिरेपछि फिर्ता गर्ने । समयावधि १ वर्षको राखियो ।
सहमतिअनुसार ती श्रेष्ठले बयाना गरी राखिएको काभ्रे जिला श्रीखण्डपुर ४ को कित्ता नम्बर २९५को क्षेत्रफल ०–६–०–०, कित्ता नम्बर २९६५ को क्षेत्रफल ०–७–३–२ र बनेपा नगरपालिका वडा नं. ६ (क) कित्ता नम्बर ३८१ को क्षेत्रफल ०–४–२–० जग्गा उनले पास गरिदिए । ती श्रेष्ठले भक्तपुर ठीमीका व्यक्तिसँग उक्त जग्गा बयाना गरि राखेका थिए ।


हरेसमायासँग रु. २८ लाख रुपियाँ ऋण लिएर ती श्रेष्ठले हरेसमायाको श्रीमान बुद्धरत्नको नाममा जग्गा पास गरिदिए । र, ऋण बापत् लिएको २८ लाख रुपियाँ १ वर्षपछि फिर्ता गर्ने र जग्गा फिर्ता लिने सहमति भयो । तर, त्यो जग्गा हरेसमायाले अहिलेसम्म फिर्ता गरेकी छैनन्, बरु उल्टै मानसिक तनाव दिएकी छन् । यसबारे अर्को भिडियो सामग्रीसहित हामी चाँडै आउनेछौँ ।


त्यस्तै हरेसमायाले काठमाडौं पुतलीसडककी एकजना तण्डुकारको परिवारलाई आत्महत्याको बाटो राज्नेसम्मको मानसिक पीडा दिएको पाइएको छ ।
बिनाकारण दिनहुँजसो हरेसमायाले सार्वजनिक स्थल तथा घरमा गएर दिने मानसिक तनावका कारण ती पीडित महिला तण्डुकारले आत्महत्यासम्मको बाटो रोजेकी थिइन् ।
तण्डुकारले हरेसमाया र उनका श्रीमान बुद्धरत्नलाई चिनेकै थिएन । हरेसमाया र उनका श्रीमानको उनको घरमा आवतजावत थियो । तर, औपचारिक परिचय थिएन । उनकी सासुआमासँग सायदै हरेसमायाको चिनजान भएको हुनुपर्छ ।
वि.स. २०७४ साल पुस २ गते सरिता तण्डुकारकी सासु आमाको निधन भयो । त्यसपछि उनले हरेसमायाबाट यति दुख पाइन्, जसको व्याख्या गर्दागर्दा उनको आँखाबाट बरर्र आँसु खस्यो ।
हरेसमायाले एक दिन होइन, दुई दिन होइन, दिनहुँ मानसिक तनाव भएपछि उनको मृत्युको बाटो रोज्नै लागेकी थिइन्, तर केही मान्छेहरुको सुझावका कारण उनी फेरि नयाँ जोश र जाँगरका साथ जिइरहेका छन् ।
हरेसमाया र उनका श्रीमानले आफ्नो सासु आमा लक्ष्मी तण्डुकार र आफ्नो नाममा भएको चेक लिएर गएर बाउन्स गर्ने दुष्प्रयास गरेका थिए ।
तर, ती महिलाले आफ्नो सासु आमाको निधन भएसँगै खाता बन्द गर्न निवेदन दिएका थिए । फलस्वरुप हरेसमाया र उनका श्रीमान चेक साट्न जाँदा खाता बन्द भइसकेको खबरले रितो हात फर्किन बाध्य बने ।
तर, पीडित महिलासँग हरेसमायाले चेक फिर्ता दिन्छु भन्दै ५० हजार, १ लाख गर्दागर्दै ५/६ लाख लिएका छन् ।
ती पीडित महिला तण्डुकारका अनुसार हरेसमाया र उनका श्रीमान बुद्धरत्नले ती महिला र उनका श्रीमानलाई अपहरणको शैलीमा गाडी हालेर कालीमाटी पुर्याएका थिए । जबर्जस्ती कागज बनाएर ल्याप्चे लगाउन लाग्दैखेरी ती महिला कागज ल्याउँछु भन्दै भागेकी थिइन् ।
तर, हरेसमायाले भने उनीमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले भने सरिता तण्डुकारले कालीमाटीको जग्गा पास गरिदिन्छु भन्दै झुलाएको आरोप लगाएकी छन् ।
त्यस्तै हरेसमायाले काठमाडौंका विभिन्न व्यक्तिहरुको म्याद नाघेको एक दिन नबित्दै आफन्तको नाममा जग्गा पास गरिदिएको तथ्य पनि खुलेको छ । कसैकसैलाई जग्गाको नाममा बयाना लिँदै रक असुलिएको पनि पाइएको छ । यी सबै विषयबारे हामी चाँडै अर्को भिडियोसहितको सामग्री ल्याउनेछौँ ।






