काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले देश र जनताको आवश्यकताका आधारमा ताजा जनादेशमा जान सकिने धारणा पनि राखे ।
संसद्को अंगकणित राष्ट्रको आवश्यकता अनुसार भएन भने ताजा जनादेशमा जानुको विकल्प नहुने उनको भनाई छ । ओलीले जनप्रतिनिधिको थलो संसद्ले देशको आवश्यकता अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बिकास निर्माणका बिषयमा संसदीय समितिले दिने निर्देशनले आयोजनाहरुको काम नै रोकिने वा ढिलासुस्ती हुने गरेको उहाले आरोप लगाए । त्यस्तै प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरे । उनले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो । कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उनले जानकारी गराए ।






