बझाङ । जनगणनाको तयारीका लागि बझाङको चैनपुरमा कार्यालय स्थापना भएको छ। कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ।
बझाङमा जनगणना २०७८ का लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको हो। जनगणनामा जम्मा ३६० जना सुपरिवेक्षक र गणक परिचालन हुने बझाङ जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिं धामीले जानकारी दिए ।
सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्ण लेआवेदन दिन पाउनेछन्। अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन्। सुपरीवेक्षकले विस २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् ।
यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइनेछ। यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिने छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो।
करारमा जनशक्ति लिनका लागि गएको माघ ११ बाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ। फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन्।
त्यसैगरी जनगणनाका लागि बझाङमा ४ वटा स्थानीय जनगणना कार्यालय रहने सहायक जनगणना अधिकारी पाल्साङ लोप्चनले जानकारी दिए । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन स्थानीय तहसम्म विभिन्न समिति निर्माण गरिनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय जनगणना समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा स्थानीय तहका प्रमुख÷उपप्रमुख र जिल्लाभित्रका सरकारी कर्मचारी, नागरिक समाज, पत्रकार लगायतको संयन्त्र रहनेछ ।






