प्रधानमन्त्रीय अहंकार र संसद विघटन

मदन कुमार अधिकारी ६ पुष २०७७, सोमबार

विरोधै विरोधकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गरेर अनुमोदन समेत भइसकेको छ । यो सँगै मुलुकको राजनैतिक अवस्था थप तरल बन्न पुगेको छ।

देशको संविधानमा व्यवस्था भए अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा वा प्रधानमन्त्री नियुक्त हुन नसक्ने अवस्थामा बाहेक संसद विघटन गर्न सकिने अर्को ब्यवस्था भएको देखिंदैन । यो हिसाबले हेर्दा प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नको लागि राष्ट्रपति समक्ष गरेको सिफारिस नै असंवैधानिक देखिन्छ।

नेपालको संविधान २०७२ को धारा ८५ को उपधारा १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच बर्षको हुनेछ’ भनी स्पष्टसंग उल्लेख गरिएको छ । संविधानको धारा ७६ को उपधारा (७) मा प्रतिनिधिसभा विघटन हुनसक्ने अवस्थाको ब्यवस्था समेत गरिएको छ। जस अनुसार : ‘प्रधानमन्त्रीले बिश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्तहुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा बिघटन गरि छ महिना भित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनको मिति तोक्नेू भन्ने ब्यवस्था रहेको छ ।

संबिधानको यस्तो व्यवस्थालाई हेर्दा के कुरा स्पष्ट हुन आउँछ भने,संसदमा बहुमत प्राप्त भैरहेको अवस्थामा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै भएको देखिंदैन । संसदिय प्रणाली अर्थात प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको अधिकारको नाममा अनुचित प्रकारले संसद विघटन गर्न नसकियोस् भन्ने हेतुले नै संबिधानमा यस्तो ब्यवस्था गरिएको बिर्सनुु हुँदैन् ।

२०४८ को आम चुनावबाट बहुमतको सरकार बनाएको नेपाली काँग्रेसले आफ्नो आन्तरीक झमेला ब्यवस्थापन गर्न नसक्दा, तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले संसद विघटन गरेका थिए । त्यही घटनाबाट उत्पन्न राजनैतिक संकटले लामो राजनैतिक अस्थीरता तर्फ मुलुकलाई घचेडेको थियो ।

२०५१ को मध्यावधि पश्चात् स्व।मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको अल्पमतको सरकार विरुद्ध काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउने भएपछी, संसद विघटन गर्न पाउनु प्रधानमन्त्रीको अधिकार भन्दै फेरि मनमोहन अधिकारीले संसद बिघटन शिफारिस गरेको भएपनी,संसदबाट वैकल्पिक सरकार गठन हुने अवस्था कायम नै रहेको अवस्थामा प्रधानमन्त्री अधिकारीको संसद विघटन गर्ने कार्य दुराशयपूर्ण भन्दै सर्वोच्च अदालतले सो कार्यमा रोक लगाउँदै प्रधानमन्त्रीको प्रस्ताव असफल तुल्याईदिएको थियो ।

मुलुकमा राजनैतिक स्थिरताको आकर्षक नारा दिएर सत्तामा आएका प्रधानमन्त्रीको संसद विघटनको सिफारिसको चौतर्फी आलोचना भएको छ । संविधानविद् डा. भिमार्जुन आचार्यले प्रधानमन्त्री ओलीले देशको संविधान बिरूद्ध ‘कू’ गरेको बताउँदै, प्रतिनिधिसभा विघटनको सिफारिसलाई संविधानले नचिन्ने प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्षी काँग्रेसले, प्रधानमन्त्रीको संसद विघटन गर्ने निर्णयको गम्भीर प्रतिवाद गर्ने जनाउँदैूचुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टीको आन्तरिक विवादको परिणाममा मुलुकलाई अस्थिरता तर्फ धकेल्न खोज्ने प्रबृत्ती निन्दनीयू भनेको छ । कांग्रेसले संसद विघटनको सिफारिस अस्विकार गर्न राष्ट्रपतिलाई अनुरोध समेत गरेको छ ।

करिब दुईतिहाई बहुमतका साथ संघीय सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा राजनैतिक स्थीरता,सुशासन,समृद्धि र बिकासको आकर्षक नारा दिएपनी ब्यवहारिक रूपमा कुनैपनी कुरा पुष्टि गर्न सकेको देखिएन ।

लोकतन्त्र भनेको राज्यको निर्जीव प्राविधिक संयन्त्र मात्रै होईन, यो त एक जीवन्त र समुन्नत जनसंस्कृती पनि हो भन्ने सत्यलाई राज्य संचालकहरूले आत्मसात गर्न सकेको पाईएन । गणतन्त्र भनेको बंशानुगत एकाधिकारको रजगज नहुनु मात्र होईन,समानतामा आधारित समाज निर्माणको थिती बसाउने जनताकेन्द्रीत प्रणाली पनि हो भन्ने मूल मन्त्रलाई गणतान्त्रिक नेतृत्वले पटक्कै अनुभुत गर्न सकेको पाईएन ।

सत्तारूढ नेकपामा जारी कलहको परिणतिको रूपमा संसद विघटनको तहसम्म जाने दुस्साहस गर्ने प्रधानमन्त्री ओलीको चर्चा गर्दा प्राचीन ग्रीसको राजपाठमा आधारित एक नाटकको चर्चा प्रासंगिक ठानेको छु । प्राचीन ग्रीक साहित्यमा दुस्खान्त नाटककारको फराकिलो हैसियत बनाएका ब्यक्तित्व छन् सोफोक्लिज । उनै सोफोक्लिज द्वारा इशापूर्व ४४१ को ग्रीसको राजपाठ र सत्ता संघर्षलाई आधार बनाएर लेखिएको र सारा संसारभरी मञ्चन गरिंदै आएको एउटा चर्चीत नाटक छ, एन्टिगोनी ।

यो नाटकले अहंकारी ग्रीक शासक क्रियोनको अहंकार र घमण्डका कारण कसरी विथिज नामक सुन्दर ग्रीक नगर–राज्य (City-State) पतन भएर गएको थियो भन्ने कारूण कथा प्रस्तुत गर्दछ । यतिबेला हाम्रो देशको अवस्था त्यही विथिज नगर–राज्यको जस्तै देखिन्छ ।

साह्रै सुन्दर मानिने प्राचीन ग्रीक नगर विथिजको सत्ता संघर्षमा राजा ईडिपसका दुई छोराहरू एटियाक्लिज र पोलिनिसस एक आपसमा लडेर मर्छन् । यी भाईहरू मरेपछी,नातामा तीनका मामा पर्ने क्रियोनले सुन्दर नगर विथिजको गद्दी प्राप्त गर्दछन् । त्यसपछी शुरू हुन्छ शासक क्रियोनका अहंकारका शृङ्खलाबद्ध हर्कतहरू।

नेपाल यतिबेला प्राचीन ग्रीसका अहंकारी शासक क्रियोनकै नव(अवतारका रूपमा प्रकट भएका प्रधानमन्त्री केपी ओलीको उग्र अहंकार प्रदर्शनको फराकिलो रंगमञ्च जस्तै बन्न पुगेको देखिएको छ ।

त्यसो त, नाटककी अर्की चर्चीत नारी पात्र एण्टिगोनीले राजा क्रियोनलाई अहंकार त्यागेर सबैको कुरा सुन्न र सहभावका साथ,शान्त चित्त बनाएर शासन गर्न प्रेरित गर्दै सबैलाई समानताको व्यवहार गर्न पटक–पटक सुझाव दिन्छिन् । शक्तिको अहंकारमा ग्रस्त भएको क्रियोन,यस्ता सुझाव सुनेर अझ बढी उत्तेजित हुन्छ र मनोमानी गर्न थाल्छ ।

क्रियोन भन्छ, विथिज मैं हुँ । यो नगर मेरो हो । म जे बोल्छु त्यै सुन र म जे भन्छु त्यै गर । मेरो कुरामा कसैले प्रश्न नगर । मेरो बिचारको, खबरदार ‼ कसैले प्रतिवाद नगर । किनकी म नै विथिजको राजा हुँ र म नै विथिजको भाग्य विधाता हुँ ।आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चिन्तनशैली,कार्यशैली र मनोदशा ठ्याक्कै विथिजका शासक क्रियोनको जस्तै छ ।

संसद बिघटन गर्ने सिफारिसराष्ट्रपति बिद्यादेवी भण्डारीको कोर्टमा थियो । तर, उनले त्यसलाई ओली आदेशमै अनुमोदन गरिसकेकी छिन ।

राष्ट्रपती भण्डारी के प्राचीन ग्रीक नाटक एण्टिगोनीकी सकारात्मक नारी पात्र एण्टिगोनी बन्ने हिम्मत,साहस र हौसला राख्छिन ? यो प्रश्न नै आजको यक्ष प्रश्न हो तर राष्ट्रपति भण्डारीको बिगत देखिको कार्यशैली हेरिल्याउँदा धेरै आश गर्ने ठाउँ भने देखिंदैन । जसले लोकतान्त्रिक गणतन्त्र र संवैधानिक व्यवस्थामाथि गम्भीर प्रश्न उब्जिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *