४ मंसिर २०७७, बिहीबार

तत्काललाई टरेको नेकपा संकट

मदन कुमार अधिकारी मदन कुमार अधिकारी ४ मंसिर २०७७, बिहीबार
2.4kViews
1670 Shares

सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड द्वारा प्रस्तुत १९ पाने प्रतिवेदन फिर्ता नभएसम्म कुनैपनी हालतमा सचिवालय बैठक नबस्ने अडानमा रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष लचक बनेपछि संभावित दुर्घटना तत्कालका लागि टरेको छ।

अध्यक्ष प्रचण्डको राजनैतिक प्रतिवेदन पश्चात् निकै रुष्ट एवं आक्रामक देखिएका प्रधानमन्त्री ओली, बैठकै नबस्ने हठबाट पछि सरेपछी यो सहजता देखिएको हो। मूलरूपमा प्रधानमन्त्रीले कुनै एक पद छोड्नुपर्ने आशय सहितको प्रचण्डको प्रस्तावबाट बिच्किएका प्रधानमन्त्री ओली अन्तत: बुधबारको सचिवालय बैठकमा सहभागी हुन पुगेका छन् ।

आफैंले तोकेको सचिवालय बैठकको समय जुध्नेगरी प्रधानमन्त्री ओलीले मंसिर ३ गते बुधबार दिउँसो १ बजेकै लागि मन्त्रीपरिषदको बैठक आह्वान गरेपछी स्थिती जटील हुनसक्ने आँकलन गरिएको थियो। हठी स्वभावका प्रधानमन्त्रीले आफ्नो हठ छोड्दैनन कि भन्ने चासो र चिन्ता मात्रै बढेको थिएन,अपितु पूर्वनिर्धारित सचिवालय बैठकलाई नियतबस ओझेलमा पार्न खोजेको भन्दै आम जनमानसमा व्यापक असन्तुष्टि पैदा गरिदिएको थियो।पछि प्रधानमन्त्रीले मन्त्रीपरिषद बैठकको समय एकघण्टा पछि सारेर सकारात्मक संकेत दिएका थिए।

मंसिर ३ गतेको सचिवालय बैठक बस्नुभन्दा अघीको करिब २४ घण्टाको समय त असाध्यै तरंगीत पार्ने प्रकारको रह्यो। दुवै अध्यक्ष निकट मानीने ठूला नेताहरू तथा दोश्रो पुस्ताका नेताहरूको बिचार सुन्दा कुनै पक्ष पनि आफ्नो आग्रह र अडानबाट टसको मस नगर्ने स्थितिमा रहेको झैं प्रतीत हुन्थ्यो।

यो पनि पढ्नुहोस् ...  कमरेड सुर्य थापा, बरु ओलीको टाउकोमा श्रीपेच लगाइदिनुस !

यसबीचमा स्थितिलाई तरंगीत पार्ने प्रकारका कैयन पुष्ट तथा अपुष्ट खवरहरू निरन्तर आई नै रहे। प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसंधान बिभागलाई आफ्ना ईतरका नेताहरूको सूक्ष्म निगरानीमा राखेको देखि लिएर राष्ट्रपति संग भेटगरी संभावित परिस्थितीहरूका लागि छलफल गरेको समाचारले एकातिर राष्ट्रपति स्वयंको भूमिकालाई बिवादित मात्रै बनाएन,अनेक अफवाह र हल्लाले घरेलु राजनीती तरंगीत भईरह्यो।

मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए । यस्तै प्रचण्डले पनि मंगलबार राष्ट्रपतिसँग भेट गरेका थिए ।
प्रधानमन्त्री ओली बुधबार बिहान पनि राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेपछी आशंकाको बजार थप तात्तिन पुगेको थियो।

अर्कोतर्फ,पछिल्लो दुईदिनमा विवाद समाधानको प्रयास तथा पार्टीलाई फुटबाट जोगाउन भन्दै दोश्रो तहका नेताहरू खुमलटार, बालुवाटार तथा कोटेश्वरमा लगातार सम्पर्क र संवादमा रहेका थिए।

सचिवालय तथा स्थायी कमिटिमा रहेका नेताहरू सक्रिय रुपमै छलफलमा लागेका थिए । महासचिव विष्णु पौडेल, वरिष्ठ नेता माधवकुमार नेपाल, मन्त्रीहरु योगेश भट्टराई तथा घनश्याम भुषालसहित प्रचण्डको सक्रियता देखिएको थियो।

यो पनि पढ्नुहोस् ...  खड्गप्रसाद ओली अर्थात नयाँ जंगबहादुर !

प्रधानमन्त्री ओलीको सन्देश लिएर पौडेल यसबीचमा बारम्बार खुमलटार पुगे । केही तर्साउने प्रकारको धम्किपूर्ण गतिविधि गर्दै तर रक्षात्मक बनेका ओलीले प्रचण्डलाई सचिवालयको बैठक पछि सार्न तयार भए तोकिएको  बैठकमा सामेल हुने सन्देश पौडल मार्फत पठाएका थिए ।

प्रचण्ड-माधव पक्षले पनि पेश भएको १९ पाने प्रस्तावमा अर्को बैठकमा छलफल गर्ने गरि बुधबारको बैठक बस्न तयार रहेको संकेत दिएको र सोही अनुसार बुधबारको बैठक बस्न सहज भएको हो।

पार्टी प्रवक्ता समेत रहेको प्रचण्ड पक्षीय नेता कमरेड  नारायणकाजी श्रेष्ठले सुरु देखिकै आफूहरुको अडान अनुसार बैठक राख्न सफल भएको बताउँदै अन्ततोगत्वा ओली पक्षलाई बैठकमा आउन बाध्य पारिएको बताउँदै,यसबाट तत्कालका लागि पार्टी फुटको दिशामा जाने हो कि भन्ने खतरा टरेको बताए।

तमाम कोशिसका बावजुद पनि ओलीपक्ष बैठकमा सहभागी नभए,प्रचण्ड–नेपाल समूहले प्रचण्डको प्रस्तावमाथि छलफल अघि बढाएर स्थायी कमिटिको बैठक हुँदै संसदीय दलको बैठकसम्म पुगेर ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीति बनाएको थियो।

करिब चार महिना अघि पार्टी बिवाद उत्कर्समा पुगेको बेला चिनियाँ राजदुत होउ यान्छीको सकृयताले नेकपा बिवाद थामिएको चर्चाका बीच,पुनः यान्छीको सकृयता बढ्न सक्ने राजनैतिक बृत्तमा चर्चा चलिरहेकै बेला,मंगलवार राती चिनियाँ राजदुत यान्छीले करिब डेढ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रणा गरेकी थिईन् । भेटको पुरा विवरण प्रकाशमा नआएपनी,यो भेट स्वयं प्रधानमन्त्री ओलीकै अनुरोधमा भएको बताईन्छ। अपुष्ट समाचार अनुसार राजदुत यान्छीले प्रधानमन्त्री ओलीको रुचि बिपरित,एउटा पद त्याग गरेर भएपनी पार्टी एकता जोगाउनु पर्ने आसयको सन्देश घुमाउरो भाषामा दिएको बताईन्छ।

यो पनि पढ्नुहोस् ...  शिक्षामा तामाङ भाषा र लिपिको कार्यदिशा

अनेक आशंकाहरूको बीच बुधवार छोटो समयका लागि बसेको सचिवालयको पूर्ण बैठकले आगामी मंसिर १३ गतेका लागि अर्को सचिवालय बैठक, १८ गते स्थायी समितिको बैठक तथा पूर्व निर्धारित १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकलाई २५ गते बस्नेगरी सार्ने निर्णय गरेको छ।

आगामी मंसिर १३ गतेको लागि तोकिएको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड द्वारा प्रस्तुत प्रतिवेदनको जवाफमा आफ्नो तर्फबाट समेत प्रतिवेदन प्रस्तुत गर्नुहुने बताईएको छ।

तत्कालका लागि सत्तारूढ नेकपाको घरझगडा स्थीर भएर गएपनी आगामी दिनहरूमा यसको संयोजन र ब्यवस्थापन गर्ने काम भने निस्संदेह कठिन नै रहेको प्रतीत हुन्छ।