९ कार्तिक २०७७, आईतवार

गुप्तचर गोयल र गयल राष्ट्रबाद

मदन कुमार अधिकारी मदन कुमार अधिकारी ९ कार्तिक २०७७, आईतवार
1.1kViews
Shares
भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ्ग (र’अ)का प्रमुख सामन्तकुमार गोयलको अपर्झट नेपाल भ्रमण अहिले चर्चामा छ।

नौं जनाको टोली लिएर भारतिय सेनाको विशेष चार्टर्ड विमान (IFC 4620) मार्फत बुधबार अपरान्ह पौने एकबजे काठमाण्डौ झरेको भारतिय गुप्तचरको टिम, २४ घण्टा पनि नबित्दै बिहिबार बिहान दिल्ली फर्किसकेको थियो।

Research & Analysis Wing (RAW) को प्रमुख बनेको एक महिना पनि नपुग्दै, २०१९ जुलाई-२० तारिखको दिन पशुपतिनाथको दर्शन गर्न  भनेर काठमाडौ झरेका गोयलले ‘सिद्राको व्यापार’ गरेर दिल्ली फर्केको कुटनैतिक बृत्तमा चर्चा चलेको थियो। यस हिसाबले,भारतिय जासुसी संस्था र’अ प्रमुखको हैसियतमा सामन्तकुमार गोयलको यो दोश्रो काठमाडौ आगमन हो।

रमाईलो कुरो त के छ भने,उतिबेला प्रधानमन्त्री केपी ओली संग गोयलले बालुवाटारमै पुगेर भेटघाट गरेको भएपनि प्रधानमन्त्रीको सचिवालयले यसलाई निरन्तर अस्विकार गरेको थियो भने खुमलटार पुगेर प्रचण्डलाई भेटेको कुरा प्रचण्ड निकट नेताहरूले नै बताएका थिए। अहिले चाहिँ ठिक उल्टो भएको छ। प्रधानमन्त्रीका प्रेश सल्लाहकारले प्रधानमन्त्री-गोयल बीच भेट भएको प्रेसनोट नै प्रकाशित गरेका छन् भने,प्रचण्ड लगायतका अन्य नेताहरू माधव नेपाल र देउबाले पत्रपत्रिकामा आएका समाचारहरू भ्रामक र कपोलकल्पित भन्दै आफूहरूको  गोयलसंग कुनै भेटघाट नै नभएको जनाएका छन् ।

आफ्नो पहिलो आगमनको उद्देश्य पुर्ण सफल भएको अनुभव र आत्मबल बोकेर यी भारतिय जासूस फ़ेरि काठमाडौं ओर्लिएका हुन् भन्दा अत्युक्ति नहोला। पुलवामा,काश्मीरमा भएको हमला र त्यसपछी भारतले बालाकोटमा गरेको हवाई हमला बारे नेपालले जारी गरेको बिज्ञप्तीको बिषयमा त्यसबेला गोयलले, भारतिय सरकारको तर्फबाट असन्तुष्टि जनाउँदै, “छिटै नै भारतिय सत्ताले केही महत्वपूर्ण बिषयमा राजनैतिक निर्णय लिंदैछ, नेपालले त्यसको बिरोध गरेको भारत हेर्न चाहँदैन” भन्दै कुटनैतिक भाषामा प्रधानमन्त्री ओलीलाई कडा चेतावनी दिएर फर्केका थिए।

गोयल दिल्ली फर्केको १५ दिन पनि नबित्दै,अगष्ट-५ मा भारत द्वारा भारतिय संबिधानको धारा ३७० निलम्बन गर्दै काश्मीरलाई दिईंदै आएको विशेष राज्यको दर्जा निस्तेज गरिएको थियो। पुलवामा-बालाकोट प्रकरणमा  भारतको नीहित हीत बिपरितको बिज्ञप्ती प्रकाशित गरेको सरकार, काश्मीर प्रकरणमा भने लाटोबुङ्गो नै बनेर बस्यो। उनै गोयलले,फेरि काठमाडौ आएर रातारात प्रधानमन्त्रीलाई के गुरूमन्त्र दिएर गए भन्ने जिज्ञासाले मुलुकको राजनैतिक बजार यतिबेला तात्तिएको छ।

त्यसो त यस अघि पनि र’अ का उच्चपदस्थ अधिकारीहरू नेपाल आउने र उच्चस्तरीय राजनैतिक भेटघाट गर्ने गर्दथे,तर यसपटकको आगमनको शैली,समय र तौरतरिका भने नितान्त भिन्न रहेको छ।

यस अघि भारतिय गुप्तचर अधिकारीहरू हाम्रो राष्ट्रिय अनुसन्धान बिभागका अधिकारीहरू संगको समन्वयमा आउने गर्दथे । प्रोटोकलको हिसाबले समेत यो उचित नै ठहरिन्छ। यसपटक त सिधै भारतिय दुतावास मार्फत परराष्ट मन्त्रालय समक्ष विमान अवतरणको अनुमति मागिएको थियो। दुतावासले ‘आफ्ना केही कुटनैतिक अधिकारीहरू आउने भएकोले विशेष विमान अवतरणको अनुमती दिनुहुन’ भन्दै परराष्ट्रलाई जानकारी गराएको थियो भने, अप्रत्याशित तरिकाले राति-राति गरेर प्रधानमन्त्री निवासमा लामो वार्ता गरियो । प्रधानमन्त्रीका प्रमुख प्रेश सल्लाहकार सूर्य थापाले बिग्यप्तीमा भनेजस्तो यो कुनै शिष्टाचार भेट मात्रै मान्न सकिने स्थिति देखिन्न।

यो पनि पढ्नुहोस् ...  हो, म केपी ओलीको भक्त हुँ !

साझा पार्टीका प्रवक्ता शरदराज पाठकले एक बिज्ञप्ती प्रकाशित गर्दै,”के भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो बिशेष दुत (envoy) को रूपमा गोयललाई पठाएका हुन् र? भन्दै आक्रोश पोखेका छन् । प्रधानमन्त्रीय प्रोटोकलको खिल्ली उडाउँदै एउटा सचिव स्तरीय भारतिय जासूस संग रातिराती एक्लै भेटघाट गर्नुले,प्रधानमन्त्रीको तहबाटै नेपालको कुटनैतिक मर्यादा भंग गरिनुका साथै मुलुकको राष्ट्रिय स्वाभिमान उपर ठाडो आक्रमण भएको बताएका छन् ।

यस्तै सत्तारूढ नेकपाका नेता,पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहिसकेका डा.भीम रावलले यो भेटघाटलाई कुटनैतिक मर्यादा बिपरित तथा नेपालको संबिधान २०७२ द्वारा निर्देशित परराष्ट्र नीति,स्वाधिनता,स्वाभिमान  तथा स्वयं सरकारको नेतृत्व गरिरहेको नेकपाको बिचार,नीति र घोषणाको बिपरित रहेको भन्दै ट्विट गरेका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले यो भेटवार्ताबारे नेकपा पार्टी अनभिज्ञ रहेको जनाउँदै,द्विपक्षीय कुटनैतिक भेटवार्तामा अनिवार्य रूपमा परराष्ट्रका अधिकारीहरूको संलग्नता हुनुपर्नेमा,परराष्ट्र मन्त्रालय स्वयं अनभिज्ञ रहेको बताए। “भारतिय कुटनयिकहरूको विमान आएको त जानकारीमा थियो,तर र’अ प्रमुख गोयल नेतृत्वको टोलीले प्रधानमन्त्रीसंग भेटघाट गर्ने कार्यसूची परराष्ट्र मन्त्रालय संग थिएन” परराष्ट्रका एक अधिकारीले आफ्नो नाम नछाप्ने शर्तमा जानकारी दिए।

यो भ्रमणको आवरणमा भारतिय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको आगामी कार्तिक तेश्रो साता हुने भनिएको भ्रमणलाई बढी हाईलाईट गरिएपनी त्यसैको लागि मात्रै यत्रो हतार जरूरी देखिंदैन। लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेसंगै आक्रोशपूर्ण अभिब्यक्ती दिएका उनै नरवाणेले नेपाल आएर नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिने कार्यक्रम रहेको छ।

नेपाली सेनाका प्रधान सेनापती र भारतिय सेना प्रमुखलाई एक-अर्का देशले मानार्थ महारथीको दर्जा दिंदै आएको परम्पराको निर्वाह यतिबेला नेपालकोलागि भन्दापनी भारतको लागी महत्वपूर्ण रहेको सन्देश दिंदै प्रकारान्तरमा आफ्नो अभिष्ट पूरा गर्न भारतिय सत्ता यतिबेला केन्द्रीत देखिन्छ।

राणा प्रधानमन्त्री वीर शमसेरले आफ्नो सत्ताको स्थायित्व सुनिश्चित गर्न यस्तो प्रचलन चलाएका भएपनी,अहिलेको परिप्रेक्ष्यमा यो कुनै कुनाबाट सान्दर्भिक छैन। भारतले हाम्रो सिमाना मिचिरहने अनि हाम्रो राष्ट्रपतिले नेपाली सेनाको परमाधिपतीको हैसियतले भारतिय जनरलहरूलाई सम्मानित गरिरहने । यस्तो बिरोधाभाष ओढेर कसरी हाम्रो राष्ट्रियता सुदृढ हुन सक्ला र?

किन छ आशंका र संशय ?
————————————-
चीन संगको युद्धमा नराम्रो हार ब्यहोरे पश्चात् तात्कालिन  भारतिय प्रधानमन्त्री इन्दिरा गान्धीको निर्देशनमा सन् १९६८ बाह्य जासुसी संगठनको रूपमा  र’अ को गठन गरिएको थियो। यसका मुख्य हर्ताकर्ता थिए रामेश्वर काव । रामेश्वर काव भन्थे, “दुष्मनलाई बीस हैन,मह खुवाएर मार्नुपर्छ” । यिनै कावलाई र’अ का पीता मानिन्छ।

पाकिस्तानबाट बंगलादेश टुक्र्याउन होस् अथवा १९७४ मा स्वतन्त्र अधिराज्य सिक्किमलाई भारतमा गाभ्ने काम नै किन नहोस् ,र’अले नै बनाएको मार्गचीत्रमै रहेर काम भएको बताईन्छ। पाकिस्तानको बलोचिस्तान प्रान्तमा त्यहाँका अलगावबादी चरमपन्थीहरूलाई र’अ ले पूर्ण संरक्षण गरेर बलोचिस्तानलाई निरन्तर अशान्त तुल्याई रहेको छ। प्रशिद्ध कुटनैतिक ब्यक्तित्व डा. शास्त्रदत्त पन्त ले र’अको हजार हर्कतहरूको बारेमा गहिरो अध्ययन मात्रै गर्नु भएको छैन, “नेपालमा र’अ को चलखेल” नामक बृहद र बिस्तृत पुस्तक नै प्रकाशित गर्नु भएको छ। डा. पन्तको मतमा “नेपालमा राजनैतिक अस्थिरता कायम राख्नु नै यसको मूल ध्येय हो”

यो पनि पढ्नुहोस् ...  प्रधानमन्त्रीज्यू, तपाईसँग मुटु भए यो बेला दुख्नुपर्छ !

र’अ को नेपाल रणनीती
——————————

भारतिय सत्ता यतिबेला तीन तहबाट नेपालमा खेल्न  लागिपरेको छ। दक्षिण एशियामै मोदी कुटनीती असफल भएको विश्लेषण भैरहँदा,नेपाललाई केन्द्रमा राखेर काम गर्न भारत बाध्य छ। परम्परागत सम्बन्ध र रोटीबेटीको दुहाई दिएर अपनत्व प्रवर्धनको कडी मजबुत बनाउने अनि ‘शत्रुलाई मह खुवाएर मार्ने’ रामेश्वर कावको रणनीतिलाई र’अ ले पुनः दह्रोसंग पक्रेको छ।

१) काँग्रेस र मधेसबादी शक्तिलाई मित्रशक्तीका रूपमा सकेजति उपयोग गर्ने ।

२) सत्तारूढ नेकपा भित्र आन्तरिक संघर्ष चर्काउने ।

३) पूर्व राजा तथा दरवारिया शक्तिलाई हिन्दुत्वको आवरणमा संरक्षण दिने ।

पाकिस्तानबाट बंगलादेश बिभाजन गर्न र’अ को ठूलो भुमिका रहेको छ। त्यहाँ बंगाली भाषा आन्दोलनलाई यथेष्ट सहयोग गर्दै बंगाली आन्दोलनकारीको संगठन मुक्तिबाहिनीलाई सहयोग गरेर बंगलादेश जन्माउन सकेको अनुभवलाई र’अले नेपालमा दोहर्याउन खोजेको थियो। तर मधेसलाई बिग्रह गर्ने आफ्नै पूर्वबर्ती योजना प्रकारान्तरमा स्वयं भारतकै निम्ति घाँडो हुनजाने निष्कर्ष सहित भारत पुरै यु-टर्न भएर अर्को रणनीतिमा जुटेको देखिन्छ।

भारतमा  “गोर्खाल्याण्ड” र “मिथिलाञ्चल”को नाममा चरमपन्थी कृयाकलाप बढ्ने  तथा चिनियाँ प्रभाव झन् मुखर हुनसक्ने निष्कर्ष सहित, नेपालमा भौगोलिक बिखण्डनको साटो जातीय,धार्मिक र सांप्रदायिक असन्तुष्टि पैदा गराएर मुलुकलाई अस्थीर तुल्याईरहने योजनामा साउथ-ब्लक बिश्वस्त भएपछि  खेलको पहिलो खाल समेटेर दोश्रो खाल थापिएको छ। त्यो हो बिखण्डन हैन, नेपालमा निरन्तर अस्थिरता प्रवर्धन गर्ने।

भारतिय सत्ताको यहि बुझाईकै कारण मधेस मुक्तिका नाममा संचालित जयकृष्ण गोईतको जनतान्त्रिक मुक्ती मोर्चा लगायतका दर्जन बढी संगठनहरू अहिले गुमनाम छन् भने,भारतिय संस्थापनकै दवावमा सी.के.राउतहरू आफ्ना सारा एजेन्डा बिसाउन सहमत भएका हुन्। भारतिय संस्थापनको ‘ग्रीन-सिग्नल’ पाएरै प्रधानमन्त्री ओलीले राउतसंग बार्ता र सम्झौताको प्रक्रिया अघि बढाएको कुरा भारतिय संस्थापनको निकट भनेर चर्चा चल्ने गरेका,हाल मधेसबादी पार्टीका जिल्लास्तरीय एक नेताले बताए। उनले भने,”सीके राउतले हिन्दु राष्ट्रको नारा बोकेर उफ्रीन थालेभने आश्चर्य नमान्नुहोला।

नेपाली भूमीमा बिखण्डन भन्दापनी अस्थीरता खोजेको भारतिय सत्ताको निम्ति त्यसकोलागी ‘पहाडीया र मधेसिया’को मुद्दालाई चर्काउन सकिने  र’अ को प्रयत्न प्रभावकारी हुन सकेन भने हिन्दु-मुसलमान द्वन्दको आधारभुमी समेत यहाँ हासिल हुन नसक्ने निष्कर्ष निकालियो। नेपालमा हिन्दुत्व र हिन्दु एकताको नारालाई नै उराल्दै त्यसैलाई ध्रुविकृत गर्नुपर्ने कुरामा बीजेपीको मातृ संगठन आर.एस.एस.को दवाबमा बिजेपी सरकार मात्र हैन, सिंगो भारतिय सत्ता नै पछिल्लो समय  एकमत देखिएको छ ।

भारतिय डिजाईनको बाछिटाका रूपमा हिन्दुत्वको बिषयलाई बोक्न यहाँ नयाँ नयाँ पात्रहरू आउने क्रम जारी नै रहने पक्का छ। भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ केन्द्रीत यात्रालाई नितान्त धार्मिक यात्राको रूपमा बुझ्नु भयंकर भूल हुनेछ।  यो एक खास डिजाईनमा रहेर रचिएको यात्रा थियो। मोदीको जनकपुर यात्रालाई “सीताराम डिप्लोमेसी” भन्दै भारतिय मूलधारका मिडियाले समेत समाचारहरू सम्प्रेषण गरेका थिए।

यो पनि पढ्नुहोस् ...  रामायण पढेर कम्युनिष्ट बनेका ओली, जसलाई यो परिवर्तनको माया छैन !

प्रधानमन्त्री केपी ओलीको कुरौटे, आत्मप्रसंशक र हठी स्वभावलाई “कमजोरी”को रूपमा बुझेको भारतिय संस्थापनले ओलीको स्वेच्छाचारी चरीत्रमा खेल्न सके सबैभन्दा सजिलो तरिकाले परिणाम आफ्नो पक्षमा पार्न सकिने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री ओलीको बिरोध गरेर हैन कि समर्थन गरेर ओलीलाई अझ बढी स्वेच्छाचारी बनाउन सकिने भारतीय पक्षको बुझाई रहेको छ। प्रधानमन्त्री ओली हठी स्वभावका भएकोले उनलाई प्रशंसाको मीठो मह चटाएर मात्र  गलाउन सकिने आँकलन सहित सामन्त गोयल यहाँ आएका हुन् । प्रधानमन्त्री ओलीलाई विश्वस्त तुल्याएर,उनको सत्ताको निरन्तरताको निम्ति भारतिय प्रधानमन्त्रीको सदासयता रहेको सन्देश प्रवाहित गर्नु नै गोयल भ्रमणको मुख्य उद्देश्य रहेको देखिन्छ।

बिगत लामो समयदेखी भारतिय संस्थापनको बिश्वासिलो स्तम्भको रूपमा,नेपालमा भारतिय हीतको पक्षधर रहेका केपी ओली,नाकाबन्दीको समय देखि प्रखर भारत बिरोधी छवि बनाएर बसेको अन्तरबस्तु बुझेको भारतिय संस्थापनले ओलीलाई निकटबाट सहयोग गर्ने रणनीति अख्तियार गरेर मात्र ,परिणाम आफ्नो पक्षमा पार्न सकिने आँकलन गरिसकेको बुझ्न सकिन्छ।

सन् १९५० को सन्धी पुनरावलोकन लगायतका बिषयमा आवश्यक सुझाव दिन भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सन् २०१६ मै  नेपाल-भारत प्रबुद्ध समूह(ईपीजी) गठन गरिएको थियो। तर ईपीजीको प्रतिवेदनले भारतिय हीतमा भन्दा नेपाली पक्षकै हीत प्रवर्धन गर्ने प्रतिवेदन दिएको भन्दै साउथ ब्लक र भारतिय जासुसी संस्था र’अ ले बिरोध जनाएपछि प्रधानमन्त्री मोदीले सो प्रतिवेदन नै बुझेका छैनन् । लामो समयदेखि सो प्रतिवेदन त्यसै थन्केर बसेको छ। यसको धेरै गहिरो कुटनैतिक  अर्थ र महत्व रहेको छ।

भारतमा प्रधानमन्त्री मोदी असाध्यै शक्तिशाली भएपनी,उनले त्यहाँका कुटनैतिक बिचारक ( Diplomatic Think Tank) , साउथ ब्लक अथवा  र’अ को धारणालाई मिचेर कुनै पनि निर्णय लिंदैनन् वा लिन सक्दैनन् । तर हाम्रोमा चाहिं त्यसको ठिक बिपरित स्थिति छ। प्रधानमन्त्री ओली मुलुकको सारा प्रणाली र सारा संयन्त्रलाई बाईपास गरेर एकल निर्णय गर्दछन् र त्यसमा उनी गौरव महसुस  गर्छन् । लोकतन्त्रका निम्ति १४ बर्ष जेल बस्ने केपी ओलीमा लोकतान्त्रिक विधि र प्रकृया प्रती पटक्कै निष्ठा देखिंदैन। सायद भारतिय गुप्तचरहरूले प्रधानमन्त्री ओलीको यहि कमजोरी पहिचान गरेका छन् ।

शिष्टाचार भेटको नाममा रातको समयमा प्रधानमन्त्री निवास बालुवाटार छिरेर रिसर्च एण्ड एनालाईसिस विङ्ग (र’अ)  प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओलीलाई बेस्कन मह ख्वाए कि,प्रधानमन्त्री ओलीले नै गोयललाई तितो चटाए त्यो चाहिँ निकट भविष्यमा देखिंदै जानेछ,तर आजै मात्र प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा दिनुभएको सन्देश सुन्दा चाहिँ प्रधानमन्त्री ओलीले आवश्यकता भन्दा बढ्तै मह खानुभएको संकेत मिलेको छ।

काङ्रेस प्रवक्ता विश्वप्रकाश शर्माले,शुक्रबार प्रधानमन्त्री ओलीले गर्नुभएको ट्विटमा चुच्चे नक्साको साटो बुच्चे नक्सा प्रयोग गरिएको भन्दै,ओलीको गयल-राष्ट्रबादको बिरोध गर्नु भएको छ। त्यो सही,गलत के हो प्रष्ट होला तर,राष्ट्रियतालाई आफ्नो अहंकार,कुण्ठा,महत्वाकांक्षा र पदलोलुपताको साधना गर्ने साधन बनाउने दुराशय त्यागौं,नयाँ नक्सामा छापिएको भूमी फिर्ता ल्याउन तर्फ लागौं।  आशा गरौं, भारतिय सत्ताको महमा हाम्रा नेतृत्व झिंगा बनेर नटाँस्सियुन्

मदनकुमार अधिकारी