नेकपा (माओवादी केन्द्र) को पहिचान !

टासी लामा २० जेष्ठ २०७८, बिहीबार

दोस्रो संविधान सभा निर्वाचन – २०७० मा एकीकृत नेकपा (माओवादी) अनपेक्षित पराजित हुन पुग्यो । पहिचान र अधिकारलाई मुख्य चुनावी एजेण्डा बनाएको कारणले त्यस्तो पराजय भोग्नु परेको तर्क पार्टीभित्र र बाहिर निकै चल्दै थियो । केही महिनापछि पार्टीले काठमाडौंमा विशाल जनसभाको आयोजना गर्यो । उक्त सभालाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष कमरेड प्रचण्डले दुई विषयहरू स्पष्ट रूपमा राख्नुभएको थियो । पहिलो, पहिचान नै माओवादीको पहिचान हो । जुन दिन पहिचान सकिन्छ त्यहीँ दिनदेखि माओवादीको औचित्य पनि सकिन्छ । दोस्रो, माओवादी विशेष धातुले बनेको पार्टी हो, त्यसैले यो पार्टी अरु भन्दा बेग्लै छ ।

१० वर्षे जनयुद्धको नेतृत्व गरेको नेकपा (माओवादी) पार्टी सशस्त्र जनयुद्ध लड्ने बेग्लै कम्युनिस्ट पार्टी थियो । वर्गीय, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिक पहिचानको आधारमा गरिएको उत्पीडनहरूबाट मुक्त गरी समतामूलक समावेशी समाज निर्माण गर्ने आन्दोलन नै माओवादीको पहिचान बनेको थियो वा पहिचान नै माओवादीको पहिचान थियो । जनयुद्धकाल र पछि शान्ति प्रक्रियासम्म पनि पार्टीको भौगोलिक संगठनात्मक संरचनाहरू पहिचानकै आधारमा बनेको राज्य समितिहरू थिए । सबै उत्पीडित जाति, समुदायहरूको शक्तिशाली मोर्चाहरू थियो र त्यहीँ अनुसारको सत्ताको अभ्यास समेत गरेको थियो । माओबादी पार्टी विशिष्ट ऐतिहासिक पृष्ठभूमि, बेग्लै राजनीतिक एजेण्डाहरू र बलिदानीपूर्ण संघर्षबाट निर्माण भएको विशेष नेता कार्यकर्ताहरूले बनेको बेग्लै कम्युनिस्ट पार्टी थियो । त्यसैले चुनाव वा अरु कुनै प्रक्रियामा हारजित जे भएपनि माओवादी पार्टी ती उत्पीडित वर्ग, समुदाय र विचारको पार्टीको रूपमा स्थापित थियो ।

संविधानसभाबाट नेपालको संविधान – २०७२ जारी भयो । संविधानमा एकीकृत नेकपा (माओवादी) ले महत्वका साथ उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली, पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दाहरू संस्थागत गर्न सकिएन । तर, माओवादीले यी मुद्दाहरूको सम्बन्धमा औपचारिक भिन्न मत जनाउँदै बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्थासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न सहमति जनायो ।

संविधान जारी पश्चात नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) दुवै कम्युनिस्ट पार्टीहरू राजनीतिक स्थायित्व कायम गर्ने, प्राप्त उपलब्धिहरूको रक्षा र सामाजिक न्याय सहितको आर्थिक विकास र समृद्धि हासिल गर्दै समाजवादी आधार तयार गर्ने तत्कालीन कार्यनीतिमा सहमत भयो । त्यसैले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन – २०७४ मा दुवै पार्टीहरूबीच चुनावी गठबन्धन गर्दै साझा घोषणापत्रसहित प्रतिस्पर्धामा उत्रियो । निर्वाचनमा जनताले उत्साहजनक मतका साथ यस गठबन्धनको अनुमोदन गर्यो । यी दुई कम्युनिस्ट पार्टीहरू वैचारिक–राजनीतिक हिसाबले उस्तै भयो । त्यसैले चुनावी गठबन्धन पार्टी एकीकरणमा रूपान्तरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । नेकपा (माओवादी केन्द्र) को २१ औ शताब्दीको जनवाद र नेकपा (एमाले) को जनताको बहुदलीय जनवाद दुवैलाई स्थगित गरी जनताको जनवादलाई एकीकृत पार्टीको साझा राजनीतिक कार्यक्रमको रूपमा स्वीकार गर्यो । अब अध्यक्ष क. प्रचण्डले भन्नु भए जस्तो नेकपा (माओवादी केन्द्र) न बेग्लै राजनीतिक एजेण्डा सहितको बेग्लै पार्टी रह्यो न पहिचान नै माओवादीको पहिचान रह्यो ।

एकीकरणको करिब दुई वर्षपछि सरकार संचालन गर्ने र नीति कार्यक्रम लागू गर्ने सन्दर्भमा पार्टी भित्र गम्भीर अन्तर्विरोध सिर्जना भयो । यस्तो मतभेत वैचारिक, राजनीतिक नभएर विधि र पद्धती कार्यान्वयन गर्ने सवालमा थियो । तर, सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको कारण दुवै पार्टीहरू पुर्ववत् अवस्थामा फर्कनु पर्ने भयो । अहिले यी दुवै पार्टीहरू अलग अलग छन् । नेकपा (एमाले) अहिलेकै राजनीतिक–सामाजिक व्यवस्था र विकास प्रणाली अन्तर्गत शान्तिपूर्ण प्रतिस्पर्धामार्फत पार्टीको आफ्नो कार्यक्रमहरू लागु गर्दैजाने पहिले देखिकै वैचारिक–राजनीतिक लाइनमा छ र उसलाई त्यस प्रकारको कम्युनिस्ट पार्टी भनेर नै चिनिन्छ । तर बेग्लै पृष्ठभूमि र राजनीतिक मुद्दाहरु सहित निर्माण भएको नेकपा (माओवादी केन्द्र) को अबको राजनीतिक पहिचान चाहिँ कस्तो बनाउला ? के यो पार्टीले संविधान निर्माणताका भिन्नमतको रूपमा दर्ज गरिएको तर पार्टी एकताको क्रममा थाँती राखिएको एजेण्डाहरूसहित पुनः २१ औ शताब्दीको जनवादमा फर्किएला ? वा नयाँ सन्दर्भमा नयाँ राजनीतिक एजेण्डाहरू तय गरेर पहिले जस्तै बेग्लै पहिचान भएको बेग्लै कम्युनिस्ट पार्टी निर्माण गर्ला !

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *