मानवजाति र भाइरसबीचको युद्ध हजारौं वर्षदेखि जारी छ । कहिले भाइरसले मान्छेलाई सखाप बनाउने त कहिले मान्छेले भाइरसलाई पराजित गर्ने । सन् १९१८ मा फ्लूले कम्तिमा ५ करोड मानिसको मृत्यु भएको थियो । इतिहासमा धेरै महामारी आए । पछिल्लो एक दशकमा विश्वले इबोला, सार्स, बर्ड फ्लू, स्वाइन फ्लू जस्ता भाइरसहरुको सामना गरेको अवस्थामा डिसेम्बर अन्तिमतिर चाइनाको उहान शहर एउटा बिचित्रको भाइरसको आक्रमणमा पर्यो । संक्रमणको बिलकुल नयाँ लक्षणहरु देखापर्यो । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि यसबारेमा विश्व स्वास्थ्य संगठनलाई डिसेम्बर ३१ मा जानकारी गराइयो । उक्त नोवल कोरोना भाइरसको बारेमा तीव्ररुपमा खोज र अनुसन्धान भएपछि विश्व स्वास्थ्य संगठनले फेब्रुअरी ११ मा यसलाई कोभिड–१९ को नाम दियो । एक महिना भित्रमा भाइरस विश्वमा फैलियो । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई मार्च १० मा महामारीको रुपमा घोषणा गर्यो । विश्व स्वास्थ्य संगठनले यसलाई दोस्रो विश्व युद्ध पछिको सबैभन्दा ठूलो चुनौतीको रुपमा व्याख्या समेत गरिसकेको छ ।
आज विश्वका २ सय १० राज्यहरुमा कोभिड–१९ फैलिसकेको छ । विश्वभरि आजसम्म १ लाख ६६ हजारभन्दा बढीले ज्यान गुमाएको छ । २४ लाख भन्दा बढी मानिस यसबाट संक्रमित भएका छन् । इतिहासमा धेरै महामारी आए तर त्यपछि यसले विश्वमा ठूला परिवर्तन र घटनाहरु साथमा ल्याएको प्रमाण पनि हामीसँग छन् । त्यसैले यस महामारीले विश्वको भू–राजनीतिलाई कोरोना अघि र कोरोना पछिको कालखण्डमा बिभक्त गर्न सक्ने आंकलन गर्न सकिन्छ । विश्वको आर्थिक, सामाजिक, सांस्कृतिक राजनीतिक र सामारिक क्षेत्रहरुमा र यसले निर्माण गरेका शक्ति केन्द्रहरुमा ठूलो हलचल र परिवर्तन भविष्यमा ल्याउन सक्ने संभावना निकै बढेर गएको छ । उक्त संभावनाका साथै र नेपाल जस्तो गरिब देशले यस महामारी पछि केकसरी आर्थिक र सामाजिक विकास गर्दै अगाडि बढ्न सक्छ भन्ने आफ्नो धारणलाई यस आलेखमा प्रस्तुत गर्न प्रयास गरेको छु ।
सांस्कृतिकरुपमा मानिस सर्वश्रेष्ठ प्राणी भएकोले उमा यति घमण्ड थियो आफुलाई म नै भगवान, म नै शासक, म नै राज्य भन्न समेत पछि परेन । तर उसका संस्कृति आज खोक्रो भयो । एउटा भाइरससँग डरले भाग्यो । माया, संबन्ध, आफन्त, विश्वासहरु भताभुङग भयो । उसका ज्ञान र विज्ञान पराजित भयो । मान्छेलाई एउटा भाइरसले के पाठ सिकायो भने तँ प्रकृतिको सानो कण होस । त्यसकारण प्रकृतिलाई माया गर, यसको संरक्षण गर । आनिवानीहरु सुधार । विकासको नाममा प्रकृतिको विनाश नगर् । वातवरणमैत्री, प्रकृतिमैत्री बन् नत्र यसतै भाइरसको सामना गर्दै बस् भन्ने बोध गराएको छ । अबका दिनमा विश्व यस विषयमा निकै सचेत ढंगले अगाडि बढ्ने छ । द्रुत गतिमा विकास गर्ने र विश्व शक्तिशाली बन्ने होडमा पृथ्वी बम र क्षेप्यास्त्रको भारले थिचिन्दै छ । पृथ्वीको आयु भाइरस र बमको हातमा छ भन्ने कुराको महसुस विश्व समुदायलाई भएको छ ।
युरोप १९ औं शताब्दिसम्म विश्वको महाशक्ति थियो । हिजो झण्डै आधा पृथ्वीमा युरोपले कब्जा गरेको थियो । संसारलाई सभ्यता सिकाउदै हिडेको युरोप आज भाइरसले थलिएको छ । बिरामी छ । जताततै सुनसान छ । इटालि, ब्रिटेन, स्पेन, फ्रान्स, जर्मनी लगायतका धनी र शक्तिशाली राष्ट्रहरु बेहाल भए । त्यहाँ हजारौँ मानिसहरुको मृत्यु भयो । बिशाल र चम्किलो शहर अनि सडक कोरोनाको बादलले ढाकेको छ । उनीहरु नमज्जाले निसासिएका छन् । अरुलाई असभ्य, फोहोरी र गरिब भन्नेहरुको वास्तविक्ता छर्लङग भयो । कोरोनाले उनीहरुको यथार्थता खुल्यो । त्यहाँ पनि अभाव छ । स्वास्थ्य प्रणाली, सामाजिक र सांस्कृतिक पक्षहरुमा व्यापक सुधारको खाँचो रहेछ । त्यसैले युरोपले कोरोनाबाट ठूलो पाठ सिकेको छ । आज उसले आफ्नो साख बचाउन सकेन् । उसका शक्ति र ख्यातिमा आँच आएको छ । युरोपको विकराल अवस्था देखेर गरिब र विकाशील राष्ट्रहरुले स्वास्थ्य लगायत अन्य क्षेत्रमा व्यापक सुधार गर्न पाठ सिक्ने छ ।
अमेरिका नाम नै काफी छ । संसारकै धनी देश । विश्वको केन्द्रबिन्दु । आर्थिक, प्रबिधि र शैन्य हिसाबमा महाशक्ति राष्ट्र । ऊ हरेक पक्षमा शक्तिशाली छ । २० औं शताब्दिको स्वर्णिम युगमा उसले एटम बम बनायो र विश्वलाई आफ्नो ईशारामा चलायो । आज पनि जताततै उसका सेना र हतियार छन् । विश्वको जुनसुकै ठाउँमा मार हान्न सक्ने क्षेप्यास्त्र छ । उसँग संसारको शक्तिशाली सेना र रक्षामन्त्रालय पेन्टानगन छ । तर आज ऊ एउटा भाइरससँग डराएको छ । निकै भयभित छ किनकी उसका एटम बमहरु कोरोनाको महामारीमा बेकम्मा भए । शक्तिशाली पेन्टागन सुनसान छ । भाइरसले विश्वलाई निल्दै गर्दा अमेरिका बेखबर थिएन तर उसले नजरअन्दाज गर्यो । विश्व स्वास्थ्य संगठनलाई बेवास्ता गर्यो । उसमा मै हुँ भन्ने घमण्ड थियो । पणिामस्वरुप अमेरिका कोभिड–१९ को इपिसेन्टर बन्यो । भाइरस सङक्रमितको सङख्या ८ लाख पुगेको छ भने मृत्यु हुनेको सङख्या ४३ हजार भन्दा बढी छ । न्युयोर्क जस्ता शहरहरु बन्द अवस्थामा छन् । कहिल्यै बन्द नहुँने देश जाबो एउटा भाइरसले बन्द गर्यो । व्यपार व्यवसाय, रोजगारबाट लाखौं व्यक्तिले हात धुनु पर्ने अवस्था भयो । आज त्यहाँको स्थिति दर्दनाक छ । आज अमेरिकन राष्ट्रपति डोनालड ट्रम्प कोभिड–१९ को महामारीले भन्दा अर्थतन्त्रमा आउने गिरावट र विश्वमा अमेरिकन महाशक्तिशालीको ताज खतरामा पर्ने डरले काँपेको छ ।
अमेरिकन राष्ट्रपति महोदयले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्ने नाम दिएका छन् । यसको अर्थ भाइरस फैलनमा चीनलाई सिधै दोष लगाउन खोजेको छ अर्कोतर्फ अमेरिका लगायत ऊ निकटका अन्य राष्ट्रहरुमा एन्टि चाइनिज अथवा एन्टि एशियनको भावना बढ्न सक्छ । र त्यसको फाइदा अमेरिका लिन चाहान्छ । त्यसकारण चिन र अमेरकिाबीच हुने मुठभेड झन बढ्न सक्छ ।
अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकन फस्र्ट भन्ने पक्षमा छन् । कोरोनाको महामारीले विश्व अर्थतन्त्र डामाडोल भएको अवस्थामा अन्य देशहरुले पनि आपm्नो खस्किएको अर्थतन्त्रलाई सुधार गर्न ट्रम्पको लाइनमा नै आउन सक्ने संभावना प्रबल छ । सम्पूर्ण राज्यहरु आफ्नो जन्ता, अर्थतन्त्र, रोजगार, व्यापार आदिमा मात्र केन्द्रित हुन सक्छन् । यस्तो अवस्थामा अन्धो राष्ट्रभक्त भावानाको विकास हुन सक्छ र त्यसता कारणले विश्वमा नै सहकार्य र सहयोगको भावानामा कमी आउन सक्छ । गरिब राष्ट्रहरुलाई गरिने आर्थिक, प्राबिधिक आदि सहयोगमा व्यापक कटौतिको संभावना छ । र ती गरिब देशहरुमा थप अभावका साथै गरिबी र बेरोजगारको मात्रा बढ्ने संभावना छ ।
अर्को दृश्य भनेको चीन र अमेरिकाबीच व्यापारको युद्ध झन बढ्न सक्छ । कोभिड १९ को प्रकोपले विश्व अर्थतत्रमा १ प्रतिशत भन्दा बढीले गिरावट आउने प्रक्षेपण गरिएको छ । यस महामारीले सुस्ताएको अर्थतन्त्रलाई चीन झन बलियो र गतिशिल बनाउन चाहान्छ । त्यसकारण विश्वलाई आफुतर्फ खिच्न उसलेले नयाँ प्रबिधि, विज्ञान र चिनिया राष्ट्रवादको प्रचुरमात्रामा प्रयोग गर्ने छ । विकासको नयाँ मोडलको हिस्सामा शिल्क रोडको माध्यमबाट एशिया, युरोप, अफ्रिका लगायत अमेरिका महादेशका ७० भन्दा बढी राष्ट्रहरुलाई चीन आफुसँग जोड्न चाहान्छ । विकास बाढ्न चाहन्छ । विकासको नयाँ युगको सुरुवात गर्न चाहन्छ । विश्वका हरेक राष्ट्रहरुसँग व्यपार र विकासको भावनाले जोडिन प्रयासरत छ । तर अमेरिका आर्थिक महाशक्तिको पगरी कुनै पनि हालतमा गुमाउन चाहदैन । इण्डो प्यासेफिक रणनीति बिस्तार गर्न चाहन्छ । चीनको विकासको बेगलाई रोक्न यस रणनीतिबाट ऊ चाइनालाई घेर्न झन् प्रयास गर्ने छ । यस महामारी पछि यी दुई देशबीच संघर्ष र प्रतिस्प्रधाका दृश्यहरु झन् बाक्लिने छन् ।
विश्व स्वास्थ्य संगठन, विश्व व्यपार संगठन जस्ता अन्य संगठनहरुसँग पछिल्लो समयमा अमेरिकाको सम्बन्धमा दरार आउन थालेको छ । विशेषगरी ट्रम्प प्रशासन यी संस्थाहरु प्रति असन्तुष्ट छ । चीनप्रति बढी झुकाब भएको उनको आरोप छ । ट्रम्पका अनुसार कोभिड–१९ को महामारी फैलिन चिन र विश्व स्वास्थ्य संगठन गम्भिररुपमा जिम्मेवार छन् । त्यसपछि उनले घोषणा नै गरे अब विश्व स्वास्थ्य संगठनको खर्चपानि रोकिदिन्छु भनेर । यस विषयमा ट्रम्प गैरजिम्मेवार बन्दैछन् । उसका नीतिका कारण भयाबह स्थिति पछिल्लो दिनहरुमा आउन सक्छ । उनका नीतिको परीक्षण यसबेला हुँदैछ । उनी गलत भए अब आउदै गरेको राष्ट्रपतिको दौडमा नराम्रोगरी पक्षारिने संभावना प्रबल बन्दैछ । यस अबस्थामा चिन अगाडि बढ्न सक्छ । अमेरिकालाई समेत ऋण दिन सक्ने हैसियत भएको देश विश्व संगठनहरुलाई आर्थिक, भौतिक, प्रबिधि लगायत सम्पूर्ण पक्षमा सहयोग र सहकार्य गर्न तयार हुनेछ । परिणामस्वरुप बिस्तारै अमेरिकाको मनोपलि (दादागिरी) कम हुँदै जानेछ । विश्व बम र क्षेप्यास्त्रको डरत्रासले होइन चाइनिज प्रबिधि र विकासले बलियोगरी एकअर्कामा जोडिने संभावना प्रबल छ । विश्वको एकल नेतृत्व अमेरिकाको हातबाट फुत्किने छ ।
अर्को रोचक दृश्य भनेको विश्वमा पुँजीवादी र समाजवादी विचारमा बहस तीव्ररुपमा हुनेछ । पुँजीवादी र समाजवादीबीचको संघर्ष चरम अवस्थामा पुग्ने छ । पश्चिमी मुलुकका अनुसार पुँजीवादी व्यवस्था नै सबै समस्याको समाधान हो । तर उसले अंगिकार गरेको सामाजिक, आर्थिक, राजनितिक, सांस्कृतिक लगायत सम्पूर्ण मुल्यमान्यता उत्कृष्ठ छ भन्ने घमण्ड आज एउटा भाइरसले ध्वस्त बनायो । युरोप थला पर्यो । अमेरिका भयभित छ । मास्क, पिपिई, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको ठुलो अभाव छ । तर त्यसको ठिक उल्टो चाइनाले भाइरससँग डटेर लड्यो । दुई दिनमा नै १ हजार बेडका हस्पिटलको निर्माण गर्यो । सङक्रमित सबैलाई त्यहाँ राख्यो । उपचारमा राज्य नै युद्धस्तरमा लाग्यो । एक करोड दश लाख उहान शहरबासीलाई दुई महिना सम्म लकडाउन गर्यो । राज्यको आदेशलाई हरेक नागरिकले पालना गरे । त्यसकारण सङक्रमण फैलन पाएन । भाइरससँगको युद्धमा बिस्तारै ऊ सफल हुँदैछ । त्यसपछि चाइना स्वास्थ्यकर्मी, मास्क, भेन्टिलेटर, औषधी लिएर युरोप र अमेरिकालाई सहयोग गर्न गयो । यो त एउटा सामान्य घटना जस्तो लाग्छ तर जस्तोसुकै संकटमा चाइना जुध्न सक्छ भन्ने विश्वासलाई प्रमाणित गरेको छ । ऊ भित्रभित्रै हरेक क्षेत्रमा मजबुद हुँदैछ । सभाअर्ब जन्तालाई विज्ञान, प्रबिधि, विकासले जोड्न सकेको छ । साधारण जन्तादेखि, व्यपारी र नेतृत्वले राज्यको आदेसलाई स्वीकार्दछ । त्यसकारण चाइना आज युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया सबै महादिपमा व्यापार र लगानी गर्न सफल हुँदैछ । हतियारको होडबाजि नगरेर विकास, विज्ञान, कनेक्टिभिटि, प्रबिधिले विश्वका समुदायलाई जोड्न चाहन्छ । विश्वलाई नै अचम्मित बनाउने विकास गर्दै भोक, गरिबी र अभावबाट जन्तालाई मुक्ति दिलायन सफल भएको छ । हतियारले होइन नविनतम विकासका आयमले विश्वलाई जोडन चाहान्छ । यी तमाम उपलब्धि हासिल गर्न चाइनाले राज्य नियन्त्रित समाजवादी नीतिहरु अंगिकार गरेर मात्र संभव भयो । उसँग आफ्नै मौलिक विकासको मोडल छ जुन पश्चिमी पुँजीवादी व्यवस्थामाथि निकै हाबि हुँदै छ । त्यसैले विश्वले चाइनालाई निकै नजिकबाट नियालि रहेको अवस्थामा चाइनिज मोडल सफल भएमा विश्वबाट पुँजीवादी व्यवस्थामाथि गम्भिर प्रश्नहरु आउँछन् । त्यसैले विश्वमा समाजवादको आवश्यक्ता महसुस हुनेछ ।
नेपालले ५ वर्षको निकै छोटो समयमा भुकम्प, नाकाबन्दी र कोरोना महामारीको सामना गर्नु परेको अवस्था छ । उक्त कठिन घडीमा नेपालले ठूलो आर्थिक र भौतिक क्षति व्यहोर्नु पर्यो । अन्तराष्ट्रिय मुद्रा कोषले गरेको विश्लेषण अनुसार विश्व अर्थतन्त्रमा सन् २००८ को वित्तिय संकट वा सो भन्दा गहिरो प्रभाव पर्ने जनाएको छ । महामारीबाट नेपालमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा ठूलो आर्थिक र वित्तिय नोक्सान पर्ने कुरा स्पष्ट छ । । यस महामारीमा पनि दुई खर्ब भन्दा बढीको नोक्सान हुने कुरा अर्थमन्त्रीले संकेत दिई सकेका छन् । कुल बजेटको झण्डै एकतिहाइ भाग रेमिटेन्सले धानेको अवस्थामा विश्वमा महामारी पछि आर्थिक मन्दि आउने हुँदा रेमिटेन्समा ठूलो गिरावट आएर यसले मानिसको जनजीवनमा गहिरो असर पार्न सक्छ । गरिबी र अभाव बढ्ने छ । अव यस्तो जटिल अवस्थामा वैदेशिक रोजगारीलाई विस्थापित गर्न सक्ने मुख्य क्षेत्र कृषि लगायत अन्य क्षेत्रमा व्यापक खोज र अनुसन्धान गर्दै स्वदेशमा नै लाखांैको सङख्यामा रोजगारीको क्षमता बढाउनु पर्छ ।
तसर्थ नेपालको अर्थतन्त्रलाई गतिशील र मजवुद बनाउन कृषिमा क्रान्ति र व्यापक अनुसन्धान गर्न अपरिहार्य छ । कृषिमा आधुनिकिरण गर्न र व्यापकरुपमा रुपान्तरण गर्न राज्य युद्ध स्तरमा लाग्नु पर्छ । कृषिको नयाँ मोडल बनाउदै कृषि विज्ञ, विशेषज्ञ र अन्य म्यानपावरलाई कृषि क्षेत्रमा व्यापकरुपमा नयाँ अनुसंधान र खोज गर्न सरकारले वातावरण बनाउन सक्नु पर्छ । कृषिलाई सम्मानित पेशा बनाउन र शिक्षित युवाहरुलाई पनि आकर्षित गर्न तत्कालिन, मध्यम र दिर्घकालीन योजना बनाउनु पर्छ । सहुलियत कृषि अनुदान, बढीमा ३ प्रतिशत व्याजको ऋण, कृषि बैंक, कृषि बीमा र प्रबिधिको उपलब्धताको पहुँच वास्तविक किसान अथवा उधमीहरुमा बिना अवरोध व्यवस्था गरिनु पर्छ । सरकार र निजी क्षेत्रको सहकार्यमा कृषि उत्पादन, बजार र उचित मुल्यको व्यवस्थापन गर्नुपर्छ । कृषिलाई उधोगकोरुपमा स्थापित गर्दै कुल ग्राहस्थ उत्पादनमा हालको एकतिहाई भागको योग्दानलाई गुणात्मक र मात्रात्मकरुपमा वृद्धि गर्न सकिएमा यस क्षेत्रमा लाखौं लाख मानिसले रोजगारी प्राप्त गर्न सक्छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरुमा १५ लाख भन्दा बढीको संख्यामा रोजगार सिर्जना गर्न सकिने अध्ययनले देखाएको छ । त्यस्तै नेपालको जलस्रोतबाट अवको १० वर्ष भित्रमा ३० हजार भन्दा बढी जलविधुत उत्पादन र व्यवस्थापन गर्न सकिएमा राष्ट्रिय गौरवका आयोजनाहरुले भन्दा बढी जनालाई रोजगारी दिन सक्ने क्षमता राख्दछ भन्ने बहस पनि चलिरहेको छ । त्यस्तैगरी हरियो वन नेपालको धन रोजगारीको विश्वासिलो अर्को क्षेत्र हो । नेपालको कूल क्षेत्रफलको ४४.४५ प्रतिशत वनले ओगटेको छ । प्राकृतिक स्रोत व्यवस्थापन विज्ञहरुका अनुसार नेपालको वन सम्पदाले १३ लाख भन्दा बढी जनालाई रोजगारी दिनसक्ने क्षमता राख्दछ । यस क्षेत्रले वार्षिक रु ३७० अर्बको आर्थिक उपार्जन गर्ने सम्भावना राखेको छ । उपयुक्त वन नीति नियमको अभावमा वनबाट राज्यले भरपुर मात्रामा फाइदा लिन सकिरहेको छैन । अव राज्यले यसतर्थ गम्भिर हुन आवश्यक छ । नेपालमा पर्यटन व्यवसाय, कलकारखाना लगायत अन्य सेवाग्राही क्षेत्रहरुमा पनि लाखौंको सङख्यामा रोजगारीको सिर्जना गर्न सकिन्छ । तसर्थ सम्पूर्ण युवाहरुले आफ्नो देशमा श्रम गर्न अवसर प्राप्त गर्ने हँँुदा राज्य सामाजिक, आर्थिक र प्रबिधिमा द्रुतगतिले विकासको पथमा छलाङग मार्न सक्ने प्रशस्त सम्भावना छ ।
नेपाललाई सम्वृद्ध बनाउन प्रचुर मात्रामा आधारहरु अथवा संभावनाहरु छन । उक्त प्रचुर सम्भावनालाई यथार्थमा रुपान्तरण गर्नका लागि पहिलो कुरा नेपालको राजनीति सङगलो हुनुपर्छ । नेपालका राजनीतिज्ञ तथा नेतृत्वहरु दुरदृष्टि, अनुशासित, इमान्दार र सरल जीवनशैलीका हुनु आवश्यक छ । हरेक राजनीतिक दलले केन्द्र र जिल्ला तहका आफ्नो नेतालाई गरिबी घटाउन र रोजगारी सिर्जना गर्न अनिवार्यरुपमा भुमिका खेल्न निर्देशन दिनुपर्छ । आफ्नो श्रम र लगानी बिना प्राप्त हुने कमिशन, घूस, घोटाला लगायतमा नेतृत्व लोभलालचमा नपरी भ्रष्टचारीलाई कडाभन्दा कडारुपमा कारबाही गर्दै राष्ट्र विकास र निर्माणमा सम्पूर्ण नेपाली जन्तालाई साथमा लिएर अगाडि बढ्न सकेमा हामीले देखेको सम्वृद्ध नेपाल सुखी नेपाली पक्कै पनि सार्थक हुनेछ ।


