-इन्दु लामखोर तामाङ/
बौद्ध नाथ चैत्य सम्बन्धि केही लेख्न मन लाग्यो । आजको दिन बिशेषगरि पहाडी भेगमा पर्ने तेमाल भन्ने स्थानका मुलत : तामाङ्ग जातिले हरेक वर्ष चैत शुक्ल चतुर्दशीका दिन बौद्ध नाथ चैत्यमा दिवगंत पितृहरूको (बिशेष गरि दिवंगत पिता) सम्झनामा बत्ति, पुजा र लामाद्वारा पाठ गरिन्छ ।
यो कसरी शुरू भयो ?
गोपालराज वंशावलीमा लेखेअनुसार राजा मानदेवले आफ्नो पितृहत्याको दोषबाट मुक्त हुन साँखुमा अबस्थित गू : बिहारमा गएर ध्यान गरेका थिए । त्यहाँ ध्यान गर्दा पिता हत्याको दोषबाट मुक्त नभएपछि मन्जुश्रीले उनलाई भने कि विशाल चैत निर्माण गरेमा उक्त दोषबाट मुक्त पाईन्छ ।
राजा मानदेब साँखुबाट तल झर्दै गर्दा हाल बौद्ध नाथ चैत्य भएको स्थानमा ठुलो चौर देखियो । उक्त चैत्य निर्माण गर्नका लागि त्यस स्थानमा पानीको निकै नै अभाव भएको हुदा राजा मानदेबले उक्त खाली चौरमा, चउर नै ढाक्ने सम्मको पातलो सुतिको कपडा राति बिछ्याइयो र भोलिपल्ट बिहान उक्त कपडामा शितबाट जम्मा भएको पानीलाई निचोडेर स्तुपा निर्माणमा प्रयोग गरिएको ऐतिहासिक तथ्य छ ।
यसरी नै शितको पानीबाट बौद्धनाथ स्तुपाको निर्माण भएको हुँदा नेपाल भाषामा खसु (कुहिरो अर्थात् शीत) बाट खसुति र पछि गएर खास्ती हुन पुग्यो । त्यस्तै तामाङ्ग भाषामा पनि खसु बाट बनेको हुदा खास्योर हुन पुग्यो ।
हुनसक्छ, आफ्नो दिवंगत पिताको सम्झनामा बौद्ध नाथ स्तुपाको निर्माण भएको हुदा, दिवंगत पिताको सम्झनाको लागि हरेक वर्ष यस स्थानमा बत्ती पुजापाठ गरिन्छ ।


