अहिले पार्टीका बारेमा तोड परेको छ । हाम्रो नेपाल कम्युनिस्ट पार्टीका बारेमा के हो त कुरो ? साँच्चा-साँच्ची कुरो के हो ? तपाईहरुलाई बुझ्न मन छ । यी कुराहरुका बारेमा म केन्द्रित हुन चाहन्छु ।
यो सरकारलाई बुझ्ने कसरी ? अहिले मान्छेहरुलाई के परेको छ भने सरकार बन्यो, झण्डै दुईतिहाई ल्याएको छ । अनि खै ? त्यति भएन । अझ कोही साथीहरुले भन्नुहुन्छ, २०५१ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेका बेलामा ९ महिनामात्रै गरेको थियो, अहिले दुईतिहाई ल्याएको सरकार छ । यो दुई तिहाई ल्याएको सरकारले खास कुरा गर्न पाएन । गर्न सक्या छैन । के भो ? यसखालको जिज्ञासा छ । यसमा हामीले अलिकति छलफल गर्नु जरुरी छ ।
पार्टीको निर्देशन मान्ने भनेको के हो ?
प्रधानमन्त्रीय प्रणालीमा पार्टीले कसलाई प्रधानमन्त्री बनाउने भन्ने निर्णय गर्छ, त्यो निर्णय गरेपछि प्रधानमन्त्रीले सुविधाजनक हुने ढंगले आफ्नो टीम निर्माण गर्छ । पार्टीको निर्देशन मान्ने भनेको के हो ? पार्टीका नीतिहरु मान्ने हो । पार्टीको घोषणापत्रलाई कार्यान्वयन गर्ने हो ।
सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरुलाई एउटा-एउटा कुराको खोजीनीति गरेर सरकार चल्दैन । पार्टीलाई मान्नु भनेको त्यो चिज होइन ।
पार्टीलाई मान्नु भनेको के हो भने पार्टीका घोषित नीतिलाई पालन गर्नु हो । घोषणापत्रलाई कार्यान्वयन गर्नु । पार्टीले अगाडि सारेका कार्यक्रमिक कुराहरुलाई सघाउनु । त्यसलाई लागू गर्नु । सरकारको काम त्यो हो । तर, एउटा-एउटा कुरामा यो भयो कि त्यो भएन भनेर सरकारको कुरा गर्न थाल्यौं भने हामी चैं एकदम अप्ठ्यारोमा पर्छौं ।
हिजो एक समय यस्तो थियो, म एउटा दृष्टान्त बताउन चाहन्छु । पूर्वमाओवादीका साथीहरुले यो विषयमा त्यति मेलो पाउनुभएको छैन, हामी पूर्वएमालेका साथीहरुले अलि मेलो पाएको कुरा म बताउन चाहन्छु ।
हामी कस्तो चिन्तनबाट हुर्किएर आएका हौं भने ०४८ सालमा चुनाव हुँदा हामी पार्टीले संसद चलाउनुपर्छ भन्नेमा थियौं । कस्तोसम्म गरियो भने सांसदहरु जितेर आउनुभयो ६९ सीट । ६९ सीटमा जितेर साथीहरु आइसकेपछि कसरी चलाउने त भन्दा ती संसद सुत्ने पलङ्ग पनि पार्टीले किन्दिने । सिरक डस्ना पनि पार्टीले किन्दिने ।
अनि पार्टीका दुई/चारजना एकदम डेडिकेटेड कार्यकर्ताहरु लाग्नुभो । भरे, कोही सांसदको साइज लामो छ, खाट छोटो परेछ, सिरक डस्ना छोटो पर्यो । कमजोर भो । त्यो व्यवहारिक भएन । हामी यस्तो अभ्यास गर्दै आएका हौं हिजोदेखि । पार्टीले चलाउनुपर्छ भन्ने नाममा यस्ता-यस्ता अभ्यास पनि हामीले गर्यौं ।
म तपाईहरुलाई के भन्न चाहन्छु भने पार्टीले सरकार चलाउनुपर्छ भनिरहँदा प्रधानमन्त्री जोसुकै होस्, कम्युनिस्ट पार्टीले सरकार चलाउनुपर्छ भनिरहँदा नीतिद्वारा चलाउने हो । घोषणापत्रद्वारा निर्देशित हुने हो । कार्यक्रमिक हिसाबले चलाउने हो । तर, एउटा-एउटा कुरामा पार्टीले चलाउने भनेर गइयो भने त्यो वास्तवमा पार्टीले चलाएको हुँदैन । त्यसले भद्रगोल खडा गर्छ ।
अहिले पनि हामी पुरानो मानसिकताबाट कतिपय विषयहरुको खोजी गर्छौं । त्यो गलत हुन्छ । आज म मन्त्री छु, त्यस हिसाबले भनेको होइन । भोलि अर्को कोही होला । एउटा-एउटा चिजको त्यसरी गर्न थालियो भने सरकार अलग चिज हो, नीतिबाट मात्रै सञ्चालित हुन्छ । पार्टीको नीतिबाट मात्रै सञ्चालित हुन्छ । दैनिक प्रशासनिक हिसाबबाट चल्न सक्दैन । त्यसो गर्नु हुँदैन ।
जितेर मात्रै हुँदैन, टिक्न जान्नुपर्यो
मैले कुनै एक्स्क्युज (क्षमा) माग्नका लागि तपाईहरुसँग कुरा गरेको होइन । म सरकारको मन्त्री हुँ, त्यस कारणले यता-त्यता भनेर, अलिकति ‘यस्तै रहेछ चाइन्जो’ भन्न खोज्या हैन । जे बुझ्नुपर्ने हो, त्यो चिज आज सबैले बुझ्नुपर्छ भनेर म यहाँ केही कुरा राख्न चाहन्छु ।
आजको कुरा के हो भने, यो सरकार, अहिलेको परिवर्तन जुन छ, यो परिवर्तनलाई बुझ्ने कसरी ? यो सरकार परिवर्तन भएको हो कि प्रणाली परिवर्तन भएको हो ? यो प्रणाली प्ररिवर्तन हो, केवल सरकार मात्रै परिवर्तन होइन । हिजो के थियो भन्दा यो सरकार, त्यसपछि त्यो सरकार, त्यसपछि अर्को सरकार । सरकार परिवर्तनको सिलसिला हुन्थ्यो । तर, अहिले प्रणाली परिवर्तन अन्तरगत सरकार गठन भएको हो ।
०६२/६३ कोे आन्दोलनपछि संघीय गणतन्त्रमा मुलुक गयो भनेर हामीले राजनीतिक ढंगले घोषणा गर्यौं । अब नेपाल हिजोजस्तो होइन, हुन सक्दैन, अब प्रणालीमा परिवर्तन गर्नुपर्छ र संघीय लोकतान्त्रिक गणतन्त्रमा जानुपर्छ भनेर त्यसरी टुंगो लाग्यो । यो राजनीतिक घोषणालाई संवैधानिक घोषणामा बदल्नका लागि २०७२ सालसम्म अर्थात् झण्डै १० वर्ष लाग्यो । हो त्यो प्रणाली परिवर्तनपछि निर्वाचनबाट गठन भएको यो सरकारले दुई वर्ष बिताउँदैछ ।
हामीले सरकार गठनको पहिलो साल के भन्यौं ? यो हाम्रो आधार निर्माण गर्ने वर्ष हो । पहिलो वर्ष हामीले आधार निर्माण गर्यौं । नभई नहुने, नगरी नहुने कामहरु हामीले गर्यौं । र, यो दोस्रो वर्षको समापनमा आइराख्दा हामीले भनेका छौं, काम हामीले प्रारम्भ गर्यौं । हामीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने सन्दर्भमा अगाडि सारेका कामका क्षेत्रहरुमा हामीले अब काम प्रारम्भ गरेका छौं । हामीले प्रारम्भ गरेका कामहरुका बारेमा तपाई सञ्चार क्षेत्रका साथीहरुले खोज्नुहोला ।
यी आरम्भ गरेका कामहरु अब कसरी अगाडि बढाउँछौं भन्ने हाम्रो संकल्प हो, अठोट हो । अब हामी यी आरम्भ गरेका कामहरुलाई गति प्रदान गर्छौं । अब यो तेस्रो वर्ष भनेको ती आरम्भ गरिएका कामहरुलाई गति प्रदा गर्ने हो । चौथो वर्षमा पुग्दा हामीले परिणाम दिलाउने हो ।
अर्को, पाटो, यो परिवर्तनलाई कसरी बुझ्ने भन्दा संसारमा कहीँ नभएको, जनताको लोकपि्रय मतबाट संसारमा कहीँ नभएको युनिक उदाहरण हामीले नेपालमा कायम गर्यौं । ‘युनिक एक्जाम्पल’ हो यो । केन्द्रमा मात्रै होइन हरेक तहका सरकारमा कम्युनिस्ट पार्टीको त्यो स्थिति हुने कुरा यो चानुचुने कुरा होइन । संसारमा एउटा दृष्टान्त हो यो ।
तर, यससित गाँसिएको जटिलता के हो भने हाम्रो यो कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्ने कुरा, जनवादी क्रान्ति सम्पन्न हुने कुरा त्यो पुँजीवादी शक्ति, जो कम्युनिस्ट होइन, त्यो शक्तिलाई सपोर्ट गर्ने बाह्य पनि छन्, भित्र पनि छन्, हो त्यो पराजित भएको शक्तिले हाम्रो यो अवस्थालाई सहन गर्न सकिरहेको छैन । अनेक अत्तो थापेर हाम्रो यो उपस्थितिलाई उसले कमजोर बनाउनका लागि कोसिस गरिरहेको छ । खेल्छ अनेक ढंगले । बाहिरकाले पनि खेल्छन्, भित्रकाले पनि खेल्छन् । यो कम्युनिस्ट शक्ति यसरी सरकारमा पुगेको कुरा पचेको छैन । बाहिरकालाई पनि पचेको छैन, देशभित्रका पनि कतिपयलाई पचेको छैन । यो एउटा चुनौतीपूर्ण अवस्था अहिले छ ।
यस्तो अवस्थामा नपच्नेहरुले के गर्छन् ? कहाँ निहुँ पाउँ र अगुल्टो, पुल्ठो झोसौं भनेर बसेका छन् । के गर्दा पुल्ठो झोस्न सकिन्छ, वाइड बडीमा झोस । निर्मला पन्तको हत्या र बलात्कारको केसमा झोस । गोविन्द केसीलाई समातेर झोस । त्यसपछि के-के कुरामा झोस्ने हो ।
त्यतिमात्र होइन, यही कम्युनिस्ट पार्टीभित्रका हामी नेता थुप्रै छौं । कुन नेतालाई सुम्सुम्याउने हो । कुन नेतालाई भन्ने हो । तपाई त यत्रो बरिष्ठ नाम चलेको, खोई न तपाईको त माने मनितो नै भएन भनेपछि नेता पनि मान्छे नै हो । अनि कता-कता भित्र सनक्क सन्किन बेर छैन । यो स्थिति छ । त्यसकारणले यस्तो जटिलताको वीचमा हामी छौं ।
म तपाईहरुलाई भन्न चाहन्छु, अहिले कम्युनिस्ट पार्टीको यसरी बनेको सरकारका अगाडि थुप्रै चुनौतीहरु छन् । त्यो चुनौतीको सामना गर्दै हामी अगाडि बढ्नुपर्ने जरुरी छ । यस्तो बेलामा यो जटिलतालाई नबुझ्ने हो भने हामी अप्ठ्यारोमा पर्न सक्छौं ।
हामीले जित्न त जित्यौं । जितेर मात्रै हुँदैन, टिक्न जान्नुपर्यो । जित्न जान्नेहरुले टिक्न जानेनन् भने त्यो जितको सार्थकता हुँदैन । हामी कम्युनिस्टहरु बेलाबेलामा सफलता हासिल गर्छौं, जित्न त जित्छौं, तर टिक्न जान्दैनौं । यो दुर्भाग्य अन्त पनि भएको छ, हाम्रो देशमा त्यो दुर्भाग्यलाई दोहोरिन दिनुहुँदैन । हामीले त्यसको विरुद्धमा खबरदारी गर्नु जरुरी छ ।
अहिले जुन सल्याङ-बल्याङ भइरहेका कतिपय कुराहरु छन्, सरकारसँग सम्बन्धित कुराहरु गरिरहँदा यो पृष्ठभूमिलाई बुझ्न जरुरी छ । यो पृष्ठभूमि बुझिएन भने हिजो यस्तो थियो, खै त …?
लुट्नसम्म लुट्नेहरु छन् यहाँभित्र
हामी दुनियाँका काही नभएको नेपाली जनताको विश्वासको मत प्राप्त गरेर खडा भएको सरकार हो । यसप्रति खेलवाड र मजाक गर्ने सहुलियत र छुट कसैलाई छैन, हुनुहुँदैन । कोही नेता होस् अथवा जिम्मेवारी पाएको, नपाएको कोही व्यक्ति होस्, यो छुट हुनुहुँदैन ।
हाम्रो देशमा राजनीतिक स्थायित्व नचाहनेहरु छन् । लामै समयसम्म खेलोमेलो गरेर लुट्नसम्म लुट्नेहरु छन् यहाँभित्र । ठुल्ठूला बिग हाउस बनाएर बसेकाहरु छन् । व्यवसायिक घरानाहरु छन् । उनीहरुले अनेक धन्दा चलाए यसवीचमा । राजनीतिक पार्टीका नेताहरुको छाता ओढेर कतिपयले त्यस्तो काम गरेका छन् । हो, ती मान्छेहरु अहिले सग्मगाउँदैछन् । उनीहरु कराउन खोज्दैछन् । छटपटिँदैछन् । यो चिज बुझ्नुपर्ने जरुरत छ । यदि सरकार टिकिरह्यो भने, सरकार कायम रहिरह्यो भने राजनीतिक स्थायित्व भयो भने त्यो लुटको स्वर्ग जारी रहँदैन, टिक्दैन भन्ने उनीहरुलाई परेको छ ।
अहिले दुईवटा खाता चलाएर अर्बपति बन्नेहरु यही मुलुकमा छन् । एउटा सरकारलाई देखाउने, अर्को साँचो अर्थको खाता अन्तै हुन्छ । हो, दुईटा खाता चलाएर अहिले धन कमाउने र अर्बपति बन्नेहरु थुप्रै थिए देशमा । हो, तिनीहरुमाथि बञ्देज लाग्दैछ ।
त्यसकारणले त्यस्ता तत्वहरु, जो दशकौं दशकदेखि लुटेर खाइरहेका थिए, धनी बनिरहेका थिए, अब यो नहुने भो भनेपछि सरकार गिर्ने, गिराउने गर्न पाइयो भने आफ्नो त्यो लुटको अभ्यासलाई निरन्तरता दिन सकिन्थ्यो भन्ने ठानेका छन् । यो चिज बुझ्नुपर्ने जरुरी छ ।
त्यसकारणले अहिले विभिन्न ठाउँमा, अब हामी राजनीतिक पार्टीका मान्छेहरु, आकांक्षा हुन्छ नै । कुनै-कुनैबेला आकांक्षामात्रै होइन, जंगली आकांक्षा पनि हुन्छ । हो, ती आकांक्षाहरु प्रकट गर्नुपर्यो भने त्यस्तो आकांक्षालाई सुम्सुम्याइदिने तत्वहरु छन् ।
(शनिबार इटहरीमा आयोजित नेकपानिकट पत्रकारहरुको सपथग्रहण समारोहमा नेकपा सचिवालय सदस्य, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश)


