कमरेड सुर्य थापा, बरु ओलीको टाउकोमा श्रीपेच लगाइदिनुस !

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार

हजारौं योद्धाहरुको बलिदान र त्यागको जगमा स्थापित संघीय गणतन्त्रको जगमा उभिएर गणतन्त्र माथि नै धारे हात लगाउनेहरुको भिड बाक्लै छ । हो, त्यही भीडका एकजना पात्र हुन्, कमरेड सूर्य थापा । सुर्य थापा को हन् ? कसरी राजनीतिमा स्थापित भइरहेका छन् ? उनको चाहना के हो ? त्यसबारे व्याख्या नगरौँ ।

यति त हामी सबैलाई थाहा छ, कमरेड सुर्य, पार्टीगत हैसियतको हिसाबले सत्तारुढ नेकपाको केन्द्रीय सदस्य हुन् । रोचक कुरा के छ भने नेकपाकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्, । हो, पार्टी अध्यक्ष समेत रहेका ओलीका प्रेस सल्लाहकारको जिम्मेवारीमा पनि छन्, कमरेड सुर्य ।

तर, यति धेरै जिम्मेवार ठाउँमा बसिरहेका कमरेड सुर्यले बेला–बेलामा आफ्नो धरातल बिर्सेर अभिव्यक्ति दिइरहेका हुन्छन् । पछिल्लो पटक १० वर्षे जनयुद्धको बारेमा उनले दिएको अभिव्यक्ति पनि त्यसैको निरन्तरता हो । कमरेड सुर्यको अभिव्यक्ति सुन्दा, पढ्दा लाग्छ, उनलाई लागेको छ कि नेकपा आफ्नो दाइजो हो । यसमा कुनै अनुशासन मान्न आवश्यक छैन, नेतृत्व वा विचारको रक्षा त परको कुरा । योभन्दा बढी पनि उनलाई लागेको हुन सक्छ कि नेकपामा ओली पछिको पार्टीको हिस्सेदार मैँ हु । कमरेड सुर्यको यस्ता क्रियाकलापले लोक हाँसेकै छ ।

नेपाली राजनीतिक वृत्तमा सुर्य थापा त्यति धेरै सुनिने नाम होइन । पार्टीभित्र समेत कमैले चिनिने पात्र हुन्, कमरेड सुर्य । तर पछिल्लो केही महिना यता उनको चर्चा ह्वात्तै बढेको छ । तर, चर्चा हुनुमा कमरेड सुर्य र उनका समर्थकले कुनै गर्व गर्न आवश्यक छैन । किनकी उनको चर्चा कुनै सामाजिक काम वा लोकप्रिय काम गरेर भएको होइन । उनको चर्चा उट्पट्याङ तर्क र विशेषगरि माओवादी विचारधारा माथिको गैरजिम्मोर चर्को आलोचनाले भएको हो ।

तत्कालीन एमाले र माओवादी किन एउटै पार्टी बन्यो ? यसको व्याख्या छुट्टै आलेखमा गरौँला । तर, निष्कर्षमा यति भनौँ, नेपालका कम्युनिस्टहरु एकअर्कामा जुधाएर सधैं पुँजीवादी पार्टीहरुले एकछत्र बर्चस्व गरेको ठहर गर्दै अब मिल्नुको विकल्प छैन भनेर दुई ठुलो दल नेकपा एमाले र माओवादीको एकता भएको हामीसामु जिवित् छ । फरक–फरक पृष्ठभूमिबाट आएका दुई पार्टीले एकले अर्काको इतिहासलाई सम्मान गर्ने सम्झौतामै एकता भएको थियो तर पछिल्लो चरण ओली निकटका केही व्यक्तिहरु लगातार माओवादी जनयुद्ध र विचारधारा माथि लगातार प्रहार गर्दै पार्टी एकताको मर्म विरुद्ध बोल्दै आइरहेका छन् । यसका केन्द्रीय प्रतिनिधिको रुपमा कमरेड सुर्य छन् ।

कहिले पार्टीको निर्देशक सिद्धान्त मदन भण्डारीको बहुदलीय जनबाद नै कायम हुन्छ भनेर दाबी गर्ने त कहिले जनयुद्ध नै थिएन, जनयुद्ध नभएको हुनाले नै त्यो विसर्जन भएको हो र पार्टी एकता जनयुद्धको सबै भारि बोकेर, जनयुद्धको कार्यदिशा स्वीकार गरेर, जनयुद्धको महिमागान र दिवस मनाउन गरेको होइन भनेर ठोकुवा गर्नुले सुर्य थापा कहाँबाट परिचालित छन् र ओलीहरु के चहान्छन भन्ने कुरा प्रष्ट बुझिन्छ ।

एउटा भनाई नै छ, कसैको आँटविना भैसीको पाडोले बाघसँग कुस्ती खेल्ने दुस्साहस गर्दैन । एकता पहिले ओलीले आफुले भन्ने गरेका शब्दहरु अहिले सुर्य थापा मार्फत् प्वाक्क भन्न लगाउछन् र पार्टीभित्र तरंग पैदा गराइदिन्छ । गहिरिएर बुझ्ने हो भने सुर्य थापा त पीजडा भित्रका सुगा हुन् । सुगालाई मालिकले जे सिकाउँछ उसको मुखबाट त्यो ओकल्छ । यदि सुर्य थापाले गलत बोलेको केपी ओलीलाई लागेको भए उहिल्यै पार्टी एकता विरोधी गतिविधि गरेको आरोपमा कारबाहीमा परिसक्थ्यो तर विडम्बना ओलीले धाप मात्रै मारेको छैन । थापा कमरेडलाई ग्वार्लम्मै आंगालो हालेर राखेको छ । यो हामीले देखेकै छौँ ।

ठिक छ, जनयुद्ध र जनयुद्धको कार्यदिशालाई ओलीहरुले स्वीकार्न सक्दैन भने बैचारिक बहस गरौँ । हामीले त पटक–पटक भन्दै आएका छौँ । नेपालमा परिवर्तनका लागि भएको सबै आन्दोलनहरु प्रति उच्च सम्मान छ, चाहे त्यो प्रजातन्त्रको लागि कांग्रेस नेतृत्वमा भएको ००७ सालको आन्दोलन होस् चाहे पञ्चाय व्यवस्था विरुद्ध भएको छयालीस सालको आन्दोलन होस् । संघीय गणतन्त्र स्थापनाको लागि भएको दस वर्षे महान् जनयुद्धलाई स्वीकार्न नसक्नुको कारण के–के हो ? आउनुस्, टेबल बसेर बहस गरौँ ।

जनताका छोराछोरीहरुको त्याग तपष्या र बलिदानको जगमा टेकेर सिंहदरबारमा पुगेको छ । हिजोको दिनमा संघीय गणतन्त्रको परिकल्पना गर्नु बयलगाडा चढेर अमेरिका पुग्छु भनेर सोच्नु जस्तै हो भनेर कौसीमा काजु चपाएर खिसिट्याउरी गर्ने ओली त्यही गणतन्त्र नेपालको कार्यकारी पदमा आसिन छ । के ओली र ओलीको दरबारमा भान्से बस्ने सुर्य थापाहरु जस्तालाई ‘गणतन्त्र’ पाखेलाई पौरोटी भएकै हो त ? कि गणतन्त्र दुईचार ओटा उखानको टुक्क फालेर आएको सोच्नु भएको छ ? वा ज्ञानेन्द्रले शासन सत्ता जनताको हातमा दाइजोमा दिएको सोच्नु भएको छ ? हैन भने गणतन्त्रको उपलब्धि स्वीकार्ने तर गणतन्त्र प्राप्तिको लागि गरेका संघर्ष किन नस्वीकार्ने ?

हुन त निशुल्क पाएको बस्तुको महत्व हुदैन रे ! सायद गणतन्त्रको फल खाने बेला टुपलुक्क आइपुगेका भतुवाहरुलाई गणतन्त्र प्राप्तिका लागि गरेका संघर्षहरुको गाथा कुनै दन्त्यकथा सम्झेर मजाक गरेको पनि हुन सक्छ । कसैले चाप्लुसी र भक्तिगान गाउँदै अरुको बुइँ चढेर टुप्पोमा पुगेको बाँदरको बच्चालाई जब टुप्पोबाट पातलमा खस्छ अनि मात्रै थाहा हुन्छ कि म कति उचाइमा पुगेछु भनेर । यो गणतन्त्रका लागि जसले साँच्चिकै कडा संघर्ष गरे तिनीहरू कहिल्यै जनयुद्धप्रति नकारात्मक दृष्टिकोण राख्दैन तर एकाध सुर्य थापाहरु जस्तो नैतिकताको खडेरी परेकाहरु त्यही जनयुद्धको जगमा स्थापित गणतन्त्रको माटोमा माथि उठेर त्योही जनयुद्धबारे कुतर्क गरेर बस्छन् ।

यत्ति दाबीका साथ भन्न सक्छु यदि यो देशमा जनयुद्ध हुदैन थियो भने सुर्य थापाहरु कुनै प्रावि स्कुल तिर हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै स–साना नानीहरुको मस्तिष्कमा राजतन्त्रको बीस छर्किरहेको हुन्थ्यो तर विडम्बना यो देशमा प्रचण्डहरुको नेतृत्वमा जनयुद्ध भयो थापा कमरेडहरुले त्यो अवसर पाउनु भएन । सायद त्यही रिसमा एकोहोरो जनयुद्धप्रति विष वर्षात् गरिरहेको त होइन सोच्न बाध्य हुन्छु ।

अन्तिममा मेरो थापा कमरेडलाई निशुल्क सुझाव के छ भने यदि गणतन्त्रको लागि भएको संघर्षहरु स्वीकार्न सक्दैन भने बरु ‘गणतन्त्र’ ज्ञानेन्द्र शाहले ओलीलाई दाइजोमा दिएको सम्झेर ओलीको टाउकोमा श्रीपेच लगाइदिनु र नामको अगाडि श्री ५ महाराजधिराज केपी ओली ठोकदिनुस्, हामी तपाईंको जवाफ मैदानबाट दिनेछौं । होइन भने गणतन्त्रको नुन खाएर ओलीको बफादार पात्र मात्रै नबनिदिनुस् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *