दिल्लीको ‘दील’ जित्ने केजरिवाल

उज्यालो प्रतिनिधि १ फाल्गुन २०७६, बिहीबार

मदनकुमार अधिकारी/

बर्ष २०१५ मा सम्पन्न दिल्ली विधानसभाको चुनावमा त्यहाँको कूल ७० सिट मध्ये ६७ सिट जितेर चमत्कार देखाएको अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले फेरि यसपटकको विधानसभा चुनावमा आफ्नो शानदार जीत दर्ता गरेको छ । यसपटक ६२ स्थानमा आफ्नो जीत निकालेको आम आदमी पार्टीको बिरूद्धमा ८ स्थान सहित आएको बीजेपी झिनो प्रतिपक्षीको रूपमा रहने छ भने काङ्ग्रेस पुन : यसपटक पनि खाता खोल्न असफल भएको छ ।

सन् २०१५ को चुनावमा ‘झाडु’ चिन्हमा मतदान गर्ने दिल्लिबासीको दीलमा सिर्फ एक आशा मात्र थियो तर, यसपटकको चुनावी नतिजा बिश्वासको रूपमा प्रकट भएको छ । आम जनताको जीवनमा परिवर्तन ल्याउन समाज र सिस्टममा ब्याप्त भ्रष्टाचार नै मुख्य बाधक रहेकोले त्यसको सफाया गर्दै जनतालाई परिवर्तन महशुश गराउने नारा दिएका केजरीवाललाई धेरै मानीसहरूले सुने, बुझे अनि थोरै आशा बोकेर साथ दिए । २०१५ को चुनावमा शानदार जीत निकाल्दै दिल्लीको मुख्यमन्त्रीको रूपमा केजरीवालले बितेको पाँच बर्षमा जे जस्ता कार्यहरू गरे,त्यही कार्यलाई जनताले यो चुनावमा अनुमोदन गरिदिएका हुन् भन्दा फरक नपर्ला ।

यो पंक्तिकार गत : नोवेम्बर अर्थात कार्तिक महिनामा दिल्लीको सप्ताहब्यापी भ्रमणमा गएको बेला मैले आफ्नो तर्फबाट त्यहाँका स्थानीयको मन छाम्ने प्रयत्न गरेको थिएँ । अटोबाट यात्रा गर्दै–गर्दा अटो चालक संग होस् अथवा फलफूल किन्ने बेला ठेलाबाला सँग । अर्थात् दैनिक श्रम गर्ने आम मानिसहरूका केही प्रतिनिधि–पात्रहरूसँग दिल्लीको राजनीतिबारे मिहिन तरिकाले संवाद गरेको थिएँ । यस्ता दैनिक रोजगारी गरेर खाने मानिसहरूको मुखबाट एकछत्र केजरिवालको नाम आएपछि केजरीवालको झण्डा फेरि फहराउन सक्ने सम्भावना प्रबल रहेको आफ्नो बुझाई साथिभाईहरूलाई सुनाएको थिएँ । आखिर, साधारण जनताको मन जित्नु भनेको नै चुनाव जित्नु रहेछ । दिल्ली विधानसभाको ताजा चुनावी परिणामले यहि कुरा पुष्टि गरेको छ ।

दिल्ली विधानसभाको चुनावी परिणामले दिएको यो संकेतले भारतीय राजनीतिक धारामा आमूल परिवर्तन आउनसक्ने सूदुर–संकेत समेत गरेको चर्चा भारतीय राजनीतिक बृत्तमा बहसकै रूपमा प्रारम्भ भयो भने अनौठो नमाने हुन्छ । सन् २०१२ को अन्त्यतिर गठन भएको, जनबोलीमा ‘‘आप’’ भनिने आमआदमी पार्टीले आम मानीसका दैनिक गुजारा सम्बन्धि समस्याको तहमा गएर यो सफलता आर्जीत गर्न सफल भएको हो भन्ने कुरा बिर्सनु हुँदैन । समाजमा धर्म,जाती र सामुदायिक घृणा रोपेर भोटको राजनीति गर्न पल्केको कथित् हिन्दुवादी बीजेपी र आफ्नो बिगतको गौरवगाथा गाएकै भरमा सत्ता राजनीतिमा रजगज गर्न पल्केको काँग्रेस जस्ता ठूला भनाउँदा दलहरूलाई यो कान्छो दलले आगामी दिनमा तिनले गर्नुपर्ने नौला गृहकार्यको भारी तिनको बूढो काँधमा बोकाई दिएको छ ।

को हुन् केजरिवाल?
आफ्नो ‘केजरीवाल’ थरलाई घरेलु राजनीतिको ब्राण्ड बनाउन सफल अरविन्द केजरीवाल दिल्लीकै रैथाने हुन् । ९० को दशकमा भारतीय प्रशासनिक परिक्षामा सफल भई आयकर अधिकारी (क्ष्लअयmभ त्बह इााष्अभच) को रूपमा आफ्नो वृत्ति–विकास आरम्भ गरेका युवा केजरीवाललाई त्यहाँ कार्यरत रहँदा त्यहाँको प्रशासनतन्त्रमा ब्याप्त ढिलासुस्ती र चरम भ्रष्टाचारको अवस्थाले चिन्तित मात्र तुल्याएन अपितु केही गरेर देखाउने उर्जा पनि दियो। आयकर अधिकारीका रूपमा आफ्नो मातहतका निकायमा पारदर्शिता र जवाफदेहिता विकास गर्न उनले आफ्नो तहबाट गर्न सकिने यावत् उपायहरू अवलम्बन गरे।केही सुधार पनि भयो तर असल काम गर्न खोज्दा सिस्टम भित्रैबाट उनलाई एक्ल्याउने र घेर्ने काम प्रसस्तै भए तर दृढ इच्छा–शक्तिका धनी केजरीवालले हिम्मत हारेनन् । उनले सर्वसाधारण जनताहरूसंग मिलेर भ्रष्टाचार बिरोधी तथा जनहितकारी कार्यहरू गर्न समूह नै गठन गरेर लागिपरे तर अन्ततोगत्वा उनी जागीरमा बसेरै यो कामलाई अघि बढाउन गाह्रो हुने निष्कर्ष सहित जागीरबाट बाहिरिए ।

जागिरबाट बाहिरिए पश्चात् आम नागरिकको सूचनामा पहुँच पुर्याउने ब्यवस्था सुनिश्चित गर्नका लागि महत्वपूर्ण अभियानको अगुवाई गरे । यो अभियान यति प्रभावकारी सावित् भयो कि तल्लो तहका जनतालाई सशक्त तुल्याउँदै भ्रष्टाचार बिरूद्ध लड्न सघाएको भन्दै केजरिवाललाई सन् २००६ मा एशियाको नोवेल पुरस्कार मानिने रोमन म्यागेसेसे पुरस्कार द्वारा सम्मानित गरियो । यो पुरस्कारले केजरिवाललाई सम्मान र पहिचान त दियो नै,अझ फराकिलो ढंगले काम गर्नुपर्ने चुनौती नि थपिदियो ।

यसैबीच सन् २०११ मा प्रशिद्ध अभियानकर्मी अन्ना हजारेसँग मिलेर भ्रष्टाचार बिरोधी जनलोकपालको माग गर्दै गरिएको आन्दोलनले अपार जनसमर्थन मात्र प्राप्त गरेन अपितु केन्द्रीय सरकारलाई आफ्नो मागमा ल्याउन बाध्य गरायो । चतुर केजरीवालले भ्रष्टाचारको बिरूद्धमा अभिव्यक्त भएको विशाल जनमतलाई संस्थागत गरेर अघि बढ्नु उचित ठानेर अन्ना हजारे संग छलफल चलाए तर हजारेले राजनीतिमा जान इन्कार गरेपछी आफ्ना केही उर्जाशील साथीहरूलाई समेटेर सन् २०१२ को अक्टोबर २ तारिखको दिन अर्थात गान्धी जन्मजयन्तीको दिन पारेर आम आदमी पार्टीको बिधिवत घोषणा गरेका थिए ।

सन् २०१३ मा पहिलोपल्ट अल्पमतको सरकारको नेतृत्व गरेका केजरिवाल ४९ दिन सत्तामा बसेर बाहिरिनु परेको थियो । त्यसबेला बलिउड चलचित्र नायकमा अनिलकपुरले एकदिने मुख्यमन्त्री बन्दा दर्शाएको पारा देखाएर बाहिरिएका केजरीवाललाई २०१५ को विधानसभा चुनावमा भारी बहुमत प्राप्त भयो । ‘काँग्रेस मुक्त भारत’को नारा बोकेर हिंडेको मोदी नेतृत्वको बीजेपी दिल्लीमा आफैं मुक्त हुने स्थितीमा पुग्यो । ७० सिटको दिल्ली बिधानसभामा त्यसबेला आमआदमी पार्टीले ६७ सिट जित्दा बीजेपीले ३ स्थानमा खुम्चन पुगेको थियो ।

एक ब्युरोक्र्याट र टेक्नोक्र्याट समेत रहिसकेका तथा सामाजिक आन्दोलनको अनुभव समेत संगालेका केजरिवालको निम्ति काम गर्न त्यत्ती गाह्रो थिएन । कामको प्राथमिकीकरणको बिषय चाहिँ प्रमुख थियो । उनले ठूला–ठूला गफ र ठूला–ठूला योजनाको साटो साना(साना झैं लाग्ने तर सटिक योजनाहरू छनौट गरे । दिल्लीको सार्वजनिक विद्यालय अस्तब्यस्तको स्थितीमा पुगिसकेको थियो, केजरिवालले सार्वजनिक शिक्षाको क्षेत्रमा आमूल परिवर्तन ल्याईदिए । विद्युत् कटौती र पानीको समश्याबाट आहत रहेको दिल्लीबासीका लागि केजरिवालले २४ घण्टै बिजुली र पर्याप्त पानीको प्रवन्ध समेत गरिदिए । त्यसैगरी दिल्लीलाई सीसीटिभी सिटीको रूपमा बिकास गर्दा अपराध र गुण्डागर्दीको स्तर ह्वात्तै घट्न गयो । अझ पछिल्लो समय निशुल्क बिजुली तथा महिलाहरूको हकमा बसको भाडा मिनाहा गर्नुका साथै जेष्ठ नागरिकहरूलाई तिर्थयात्रा जस्ता लोकप्रिय कार्यक्रमहरूले जनताको मन जित्न सफल भए ।

राज्यको ढुकुटी मासेर नागरिकलाई निशुल्क सेवा दिनु भनेको चुनावी फण्डा मात्र भएको र यो तरिकाले धेरै दिन राज्य चलाउन मुश्किल हुने आलोचकको प्रश्नमा केजरिवाल, राज्यमा सर्वत्र ब्याप्त भ्रष्टाचारबाट ब्यक्तिको खल्तीमा गईरहेको पैसाको सदुपयोग मात्र गरेको बताउँछन् । “बिजुली, पानी, स्वास्थ र शिक्षाको क्षेत्रमा भएका प्रगति र विकास सब्सिडीमा आधारित नभएर हाम्रो राजनैतिक–प्रशासनिक प्रणालीमा ब्याप्त भ्रष्टाचारलाई उखेलेर बचाएको पैसाले जनताको सेवा गर्न सकेको हुँ’’ केजरिवालले बताए ।

लगातारको सफलताले हौसिएको अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी अब दिल्लीमा मात्र केन्द्रीत नरहेर सारा भारतमा गुणात्मक बिस्तारको तम्तयारीमा जुटेको छ । दिल्लीको जीतमा देशैभरीबाट नागरिकहरूले स्वतस्फूर्त रूपमा प्रकट गरिरहेका खुशियालीमा टेकेर आम आदमी पार्टीले भारतभरी फैलने रणनीती तय गरिसकेको बताईन्छ । मन्दिर–मस्जीद, हिन्दु–मुसलमान, दलित–गैरदलीत, लगायत–लगायतका बिषयलाई चुनावी एजेण्डा बनाएर त्यसैमा फुल्ने फल्ने परिपाटी बिकास भएको भारतमा त्यसको तुलनामा केजरीवालको आमजनताको मन जित्ने तरिका बहुसंख्यक जनताले मन पराए । यो एउटा ठूलो पोलिटिकल शिफ्ट नै हो भन्दा फरक नपर्ला । यो चुनावमा दिल्लीको मुश्लिम मतदाताको बहुल्यता रहेको ७ सिट मध्ये ७ वटै सिट तथा जाटहरूको बाहुल्यता रहेको १२ मध्ये १२ वटै विधानसभा सिट आफ्नो पोल्टामा पारेर केजरीवाल नेतृत्वको आमआदमी पार्टीले धर्म र जातीको आधारमा जनतालाई बिभाजित गर्दै तीनलाई भोट–बैंक बनाएर सुखभोग गर्दै आएका दलहरूलाई गतिलै धक्का हान्न सफल भएको देखिएको छ । निश्चय पनि यो राम्रो संकेत हो ।

दिल्लीमा केजरीवालको करिष्मा देखिएसँगै नेपालमा पनि केजरीवाललाई कपी गर्ने प्रयत्न नभएको हैन । साझा पार्टी र नयाँ शक्तिजस्ता दलहरू मुलुकमा नयाँ विकल्प दिने भन्दै उदाएपनी तिनीहरूले केहिपनी नयाँपन दिन सकेनन् । केजरीवालले सत्ताधारीलाई सत्तोसराप गरेर हैन काम गरेर जनताको मन जितेका हुन् भनेर बुझ्न जरूरी छ अनि केजरीवालले बिकासका ठूला–ठूला सपना र मुर्दा चुट्किला सुनाएर हैन ‘आमआदमी’का साना-साना समश्या समाधान गरेर अनि तल्लो तहका बहुसंख्यक जनताका साना–साना सपना साकार पारेर यो ठूलो सफलता आर्जीत गर्न सफल भएका हुन् भनेर हाम्राहरूले कहिले बुझ्ने हुन् कुन्नि ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *