भिम दोङ तामाङ
नेपालको राजनीतिमा पछिल्ला केही दशकदेखि ‘समावेशीता’ र ‘पहिचान’ प्रमुख मुद्दाका रूपमा स्थापित भएका छन्। आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम र थारू लगायतका समुदायले राज्यका नेतृत्व तहमा प्रतिनिधित्वको माग गर्दै आएका थिए। तामाङ समुदाय पनि यो लडाइँमा लामो समयदेखि सक्रिय थियो। यसै सन्दर्भमा, बागमती प्रदेशमा पहिलो पटक तामाङ समुदायबाट मुख्यमन्त्री नियुक्त हुनु ऐतिहासिक उपलब्धि थियो। बहादुर सिंह तामाङको मुख्यमन्त्री पद केवल एक राजनीतिक नियुक्ति नभएर दशकौं लामो पहिचानको यात्रा र स्वाभिमानको विजय थियो।
तर यो विजय लामो समय टिक्न सकेन, र दुखको कुरा केही तत्वहरूबाट खेल सुरु भयो। बागमती प्रदेशका पहिलो तामाङ मुख्यमन्त्रीमाथि भएको गद्दारीपूर्ण खेल बाहिरी शक्तिहरूबाट मात्र नभई आफ्नै तामाङ समुदायभित्रका सांसदहरूको प्रत्यक्ष वा परोक्ष सहमतिमा भएको थियो। यस घटनाले बहादुर सिंह तामाङलाई व्यक्तिगत रूपमा मात्र अपमानित गरेन, बरु सम्पूर्ण तामाङ समुदायलाई नै राजनीतिक अपमानको अनुभव गरायो।
बहादुर सिंह तामाङको नेतृत्वले बागमती प्रदेशमा समावेशी शासन, गाउँमुखी कार्यक्रम, र बहुजातीय समन्वयको अभ्यास गर्न थालिसकेको थियो। तर जब उनले संस्थागत रूपमा काम गर्न थाले, उनीमाथि षड्यन्त्र सुरु भयो, जसमा पार्टीभित्रका असन्तुष्ट समूह र बाह्य राजनीतिक स्वार्थहरूको मिलेमतो थियो।
यो राजनीतिक षड्यन्त्रको सबैभन्दा दुखद पक्ष के थियो भने यसमा आफ्नै तामाङ समुदाय भित्रका प्रतिनिधिहरू पनि सहभागी थिए। जसलाई जनताले ‘हाम्रो मान्छे’ भनेर संसदमा पठाएका थिए, उनीहरूकै हातबाट पहिलो तामाङ मुख्यमन्त्रीको कुर्सी हटाउनमा मद्दत गरियो।
गद्दारी सधैँ गोली चलाएर वा सेना उतारेर मात्र हुँदैन। जब कुनै समुदायको प्रतिनिधि आफ्नै समुदायको ऐतिहासिक अवसरलाई भत्काउने षड्यन्त्रमा सहभागी हुन्छ, त्यो गद्दारी हो। पद, लोभ, निजी स्वार्थ वा व्यक्तिगत रिसइवीका कारण राजनीतिक मर्यादा, पार्टी अनुशासन र समुदायको सम्मानमाथि आघात पुर्याउनु पनि गद्दारी नै हो।
बहादुर सिंह तामाङको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने वा त्यसलाई मौन समर्थन गर्ने तामाङ सांसदहरूको व्यवहार यही परिभाषामा पर्छ। उनीहरूले आफ्नो निर्णयले तामाङ समुदायलाई कति गहिरो घाउ पुर्यायो भन्ने महसुस सम्भवतः गर्न सकेका छैनन्, तर जनताले यो कुरा महसुस गरिरहेका छन्। गाउँघरका वृद्धदेखि युवासम्म, महिलादेखि बुद्धिजीवीसम्म सबैको मनमा एउटै प्रश्न छ: हामीले आफ्नो समुदायको प्रतिनिधि पठाएको हो कि, हाम्रो सपना तहसनहस पार्नेलाई?
तामाङ समुदाय लामो समयदेखि राष्ट्रिय राजनीतिमा उपेक्षित रहँदै आएको छ। शिक्षा, रोजगारी, नेतृत्वका अवसरमा पछाडि पारिएको यस समुदायले जब बागमती प्रदेशको नेतृत्वमा प्रतिनिधित्व पायो, त्यो एक ऐतिहासिक मोड थियो। तर अहिले आफ्नै समुदायको मुख्यमन्त्री बसेको कुर्सीको खुट्टा भाँचेर ‘बाहुन’ लाई नयाँ कुर्सीमा बसाउने भनेको, आफैले बनाएको पुल भत्काउनु जस्तै भएको छ।
तामाङ समुदायको स्वाभिमानमाथिको यो प्रहार आजको दिनमा मात्र सीमित छैन, यसको असर दीर्घकालीन हुनेछ। अबको पुस्ताले जब नेतृत्वको खोजी गर्नेछ, उनीहरूले यही प्रश्न उठाउनेछन्: के हाम्रो समुदायभित्रै यति असहिष्णुता र विभाजन छ कि आफ्नै मुख्यमन्त्रीलाई पनि टिक्न दिँदैन?
यस घटनाले नेपाली कांग्रेस पार्टीभित्रको नेतृत्व संस्कारमाथि पनि गम्भीर प्रश्न उठाएको छ। के पार्टीले यस्ता आत्मघाती निर्णय गर्ने सांसदहरूलाई जवाफदेही बनाउनेछ? के समुदायलाई धोका दिने सांसदहरूलाई अनुशासनको घेरामा ल्याइनेछ? यदि होइन भने, पार्टीभित्रको लोकतन्त्र, मूल्य र मान्यता, पहिचानको राजनीति सबै केवल भाषणमा सीमित रहनेछ।
बहादुर सिंह तामाङमाथि राजनीतिक घातमा संलग्न तामाङ सांसदहरूले स्पष्ट र सार्वजनिक रूपमा माफी माग्नुपर्छ। जनस्तरबाट यस विषयमा बहस उठ्नुपर्छ। अब तामाङ समुदायका बुद्धिजीवी, पत्रकार, युवा र अगुवाहरूले नेतृत्व, पहिचान र मूल्यको राजनीतिबारे जनस्तरमा बहस थाल्न आवश्यक छ। राजनीतिक चेतना विकास अब पार्टीभन्दा माथि समुदायको दीर्घकालीन हितको विषयमा गहिरो सोच बनाउनुपर्छ।
बागमती प्रदेशका पहिलो तामाङ मुख्यमन्त्री बहादुर सिंह तामाङमाथि भएको गद्दार र अशोभनीय व्यवहार हाम्रो सामूहिक विफलता हो। तर यो अन्त्य होइन। यो चेतना र सचेत नेतृत्वको पुन सुरुवात गर्ने अवसर पनि हो। गद्दारीको इतिहास कसैको पक्षमा रहँदैन, जनताको विश्वास र समुदायको भावनाको अपमान गर्नेहरूलाई इतिहासले सधैं प्रश्न गर्छ।
अब पनि समय छ, गल्ती स्वीकार गरेर सुधारतर्फ फर्किने। होइन भने, इतिहास लेख्ने कलम जनताकै हातमा छ, जसले सही र गलत छुट्याएर न्याय गर्नेछ।


