बुद्ध लोप्चन/
मुलुक लकडाउनको आज २१ औँ दिन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सरकारले ११ चैत २०७६ बाट घोषणा गरेको लकडाउन अझै आगामी १५ वैशाख २०७७ सम्म जारी छ ।
जतिबेला लकडाउनको घोषणा भयो, त्यतिबेला मुलुकका अधिक सर्वसाधारण यसबारे अनविज्ञ थिए । कोरोनाविरुद्धको लडाईमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढिरहेको सरकारबाट लकडाउनको घोषणा पनि एकाएक भयो । जसले गर्दा सर्वसाधारणसँग लकडाउनको पालना गर्नुबाहेक अरु विकल्प थिएन ।
सुरुको लकडाउनको अवधि एक साताको थियो । त्यसैले पनि सर्वसाधारणले धैर्यता राखे । ज्यालादारी मजदुरी गरेर खाने श्रमिकदेखि अन्य सर्वसाधारण एकसाता आफू जहाँ छ, त्यही बसेकै हुन् । त्यही एकसाताको बीचमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सर्वसाधारणका निम्ति राहतको व्यवस्था गर्न विभिन्न पक्षबाट माग नभएको होइन, सरकारबाट यसबारे निर्णय गर्न केही ढिलाई पक्कै भएको थियो ।
ढिलाई भए पनि सरकारबाट राहतको घोषणा भयो । जुन पर्याप्त थिएन । सम्बन्धित वडा कार्यालयमार्फत् नै श्रमिक मजदुरलाई राहत दिने मन्त्रिपरिषद्बाट निर्णय भयो । तर, त्यो निर्णय कार्यान्वयनमा यति जटिलता ल्याइदियो कि त्यो श्रमिकको पहुँचमा थिएन । जसको घरको चुल्हो एक केजी चामल र दालको अभावमा निभिरहेको थियो, उनीहरुलाई निशर्त राहत उपलब्ध गराउनुको सट्टा नागरिकता मागियो, तीनपुस्ते विवरण मागियो, उनीहरुको ठेकेदारको सिफारिस मागियो, अनि अरु त केके मागियो के–के ।
हो, प्रधानमन्त्रीज्यु, वडा कार्यालयले दिने राहत घरको चुल्हो निभिरहेका, भोकभोकै हिडिरहेका तिनै श्रमिक मजदुरको पहुँचमा थिएन । र त, हामीले समाचार पढ्यौँ, ‘हात अनि घाँटीमा तोलाका तोला सुन लगाएका, काठमाडौंमा ५/७ तले घर भएकाले समेत राहत थापे ।’ हो, उनीहरुसँग वडा कार्यालयसम्म पुग्ने पहुँच थियो, वडा कार्यालयले तोकेको मापदण्ड पूरा गर्न सक्ने हैकम थियो अनि श्रमिक मजदुरको चुल्होमा भन्दा तिनै पहुँचवालाहरुको चुल्होमा बोराको बोरा चामल, दाल र तेल पुग्नु अस्वभाविक होइन, यसमा अचम्म मान्नुपर्ने कुनै कारण छैन ।
काठमाडौंमा बस्ने मन कसलाई हुँदैन । सायद काठमाडौं अधिक सर्वसाधारणको सपनाको सहर हो भन्दा फरक पर्दैन । सामान्य रुपमा हामी यो बुझ्न सक्छौँ कि काठमाडौंमा मान्छे केही न केही इलम गर्न आएका हुन्छन्, दुइचार पैसा कमाउन आएका हुन्छन् । अब भन्नुस्, कमाउने बाटो बन्द छ, भएको पैसा सकिसक्यो, घरको चुल्हो निभेको छ, राहत पाउने ठाउँसम्म पुग्ने पहुँच छैन, उनीहरुलाई खोज्दै सरकार पुग्दैन, आइपुगेकालाई मात्रै राहत बाँड्छन् भने ती भोकै बसिरहेका श्रमिक मजदुर काठमाडौंमा के गरेर बस्ने ? के खाएर बस्ने ?
प्रधानमन्त्रीज्यु, आज तपाईको सरकारले भोकभोकै हिडिरहेका गल्लीगल्लीका ज्यालादारी मजदुरलाई भेटेर उनीहरु भएकै ठाउँमा पुगेर राहत दिलाएको कुनै रेकर्ड छ ? बानेश्वर, असन, जमल, बौद्ध, बसपार्क आदि क्षेत्रमा ज्याला गरेर खाने एक जना श्रमिकलाई भेटेर यति बोरा चामल, दाल वा तेल दिएको कुनै खबर छ ? आज घरको चुल्हो बलेन भनेर श्रमिक रुनुपरेको छैन भन्ने तपाइले सुन्नभएको छ ?
तपाई सुन्न चाहनुहुन्छ भने हामीसँग यो खबर छ कि आज देशका हजारौँ श्रमिक रोइरहेका छन् । तपाईको सरकार वडा कार्यालयमा बसेर पहुँचवालालाई चामल, दाल र तेल बाँडिरहेका छन् । असन, बानेश्वर, बौद्ध वा कुनै क्षेत्रका ज्यालादारी मजदुर हरेक मान्छे देख्दा पनि बलिन्द्रा आँशु झारिरहेका छन् । यो कुरा यदि तपाईलाई मनोगत लागेमा अहिल्यै विभिन्न टेलिभिजन र अनलाइनमा प्रकाशित र प्रशारित सामग्री खोलेर हेर्न सक्नुहुन्छ ।
प्रधानमन्त्रीज्यु, अवस्था यस्तो आयो, अब काठमाडौं नछाडी नहुने भयो । गाडी चढेर जाउँ, मुलुक लकडाउनमा छ । काठमाडौं बसौँ, चुल्हो निभेको छ । चुल्हो बाल्न तपाईको सरकारसम्म पुगेर राहत थाप्ने पहुँच भएन । हो, त्यसपछि काठमाडौंबाट दिनरात नभनी हिडेरै गन्तव्य पुग्नुको विकल्प भएन । र त, हजारौँ श्रमिकहरु हिडेरै घरको बाटो तय गरे । त्यसैले त आज हामी ती हृदयविदारक तस्बिरहरु देख्दैछौँ, प्रधानमन्त्रीज्यु ।
सयौँ किलोमिटर हिडेर जाने कसैको रहर हुँदैन । त्यो उनीहरुको बाध्यता हो । अनि प्रधानमन्त्रीज्यु, ती हिडेर जानेहरु कुनै पहुँचवाला पदकधारीहरु होइनन्, तिनीहरु तिनै हुन्, जो काठमाडौंमा ज्याला मजदुरी गरे बसेका थिए । आज काम नगरी उनीहरुको बेलुकीको छाक टर्दैनथ्यो ।
म तपाइलाई सोध्न चाहन्छु, प्रधानमन्त्री ज्यु, आज २१ दिनसम्म आइपुग्दा तपाइले त्यसरी सयौँ किलोमिटर हिडेर गइरहेका श्रमिक मजदुरहरुको हृदयविदारक तस्बिर अनि भिडियो कतिपटक हेर्नुभयो ? कि हेर्न पाउनुभएको छैन ? कि हेर्नुभएर पनि नहेरे जस्तो गरी कानमा तेल हालेर बस्नुभएको छ ?
प्रधानमन्त्रीज्यु, म तपाईलाई सम्झाउन चाहन्छु, ती श्रमिक मजदुरको फोटो र भिडियो देखेर आज हजारौँ नागरिकले सामाजिक सञ्जालमार्फत् तपाइसँग उनीहरुको बारेमा सोचिदिन आग्रह गरिरहेका छन् । उनीहरुको व्यवस्थापन गरिदिन बिन्ति चढाइरहेका छन् । हामीलाई यो पनि थाहा छ कि लकडाउन हाम्रै निम्ति हो, हाम्रै जीवनरक्षाका निम्ति हो । तर प्रधानमन्त्रीज्यु, भोकले मर्नुभन्दा रोगले मर्नु बेस भन्दै सयौँ श्रमिक मजदुर हिडेरै घर पुगिरहेका छन् । ती मजदुलाई गाडीको व्यवस्था घर पुर्याउँदा कोरोना सर्ने अनि हिडेर जाँदा नसर्ने त पक्कै होइन होला ।
प्रधानमन्त्रीज्यु, आज मुलुकका हजारौँ गरिब, मजदुर र श्रमिकवर्गले यो सरकार हाम्रो होइन रहेछ भनिरहेका छन् । यो सरकार मेरो हो भन्ने अनुभूति संकटमा जनताले गर्न सकिरहेका छैनन्, त्यसेले मैले यो आलेखमा प्राय तपाईको सरकार भनेरै सम्बोधन गरेको छु ।
अन्तिममा प्रधानमन्त्री ज्यु, म तपाईलाई सम्झाउन चाहन्छु-नेपाल चेम्बर अफ कमर्सका व्यवसायीसँगको भेटमा तपाईले २९ पुस २०७६ मा सरकरका राम्रा कामको बारेमा लेख्ने र छाप्ने मुटु भएका सम्पादक नभएको तर्क पेश गर्नुभएको थियो । तपाईको भनाई थियो, ‘हामीले काम गरेका छौँ । त्यस्ता कामहरूको प्रशंसामा लेख्ने, प्रशारण गर्ने टेलिभिजन छैनन् । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस बिग्रिन्छस् भन्छन् । सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछन् ।’
आज पनि तपाई त्यस्ता मुटु भएका सम्पादकको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो बिन्ती छ, ‘यसरी सयौँ किलोमिटर हिडेर गन्तव्य तय गरिरहेका मजदुरलाई कि त लैजाने व्यवस्था गर्नुस्, कि त जहाँ छ त्यही खाने बस्नेको उचित प्रबन्ध मिलाउनुस् ।’ त्यसपछि तपाईले मुटु भएका सम्पादकको खोजी गरेर हिड्नुपर्दैन । सरकारका कामको मुक्तकण्ठले प्रशंसा गर्दै प्रकाशन र प्रशारण गर्ने सम्पादकहरु छ्याप्छ्याप्ती भेटिनुहुनेछ ।
होइन भने प्रधानमन्त्री ज्यु, आम नागरिकको जस्तै ती हृदयविदारक तस्बिर देख्दा यदि तपाईको शरीरको कुनै कुनामा मुटु छ भने यो बेला अवश्य दुख्नुपर्छ ।


