विप्लव, एकीकृत जनक्रान्तिको सुपारी दिन आएको कि मलामी जान ?

अनिस तामाङ अनिस तामाङ २२ फाल्गुन २०७७, शनिबार

भनिन्छ, राजनीतिमा स्थायी दुश्मन र मित्र हुदैनन् । हुन पनि यो कुरा नेपाली राजनीतिक आकाशमा पटक–पटक पुष्टि भइसकेको छ । यसैका बीच सरकार र नेकपा विप्लवबीचका शान्तिपूर्ण राजनीतिमा आउने हस्ताक्षरपछि या कुरा पनि पुष्टि भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव एकै मञ्चमा देखिँदै सरकार र विप्लव पार्टीबीच भएको सहमतिपत्रको हस्ताक्षर समारोह अनपेक्षित मात्रै होइन, राजनीतिमा स्थायी शत्रु कोही हुँदैनन् भन्ने कुराको पुर्नपुष्टि पनि हो । किनकी खड्गप्रसाद तिनै व्यक्ति हुन्, जसको सरकारले विप्लव नेकपाविरुद्ध प्रतिबन्ध लगाएको थियो ।

त्यसो त, दुई वर्षपछि भूमिगत जीवन त्याग्दै शान्तिपूर्ण राजनीतिमा आएका विप्लवल पनि शुक्रबारको हस्ताक्षर समारोहलाई ‘घाम र जुनको’ भेट भएको टिप्पणी गर्न भ्याएका थिए ।
राष्ट्रिय राजनीतिमा अनेकन् किस्साहरु देखा परिरहेको सन्दर्भमा विप्लव शान्तिपूर्ण राजनीतिमा आउने विषय सामान्य थिएन । त्यसैले विप्लव सार्वजनिक हुने स्थानमा ठूलो संख्यामा जनसहभागिता थियो । उनीबाट केही न केही नयाँ कुरा घोषणा हुने अपेक्षा पनि थियो । किनकी समकालीन नेपाली राजनीतिका नेतृत्वहरुप्रति जनतामा वितृष्णा छाइरहेको सन्दर्भमा केही आशा विप्लवप्रति सोझिएकै थियो । तर, दुर्भाग्य बडो उत्साहमा रहेका शुभचिन्तक विप्लवको सम्बोधनपछि उही ‘हात्ती आयो हात्ती आयो फुस्स’ भन्ने उखान सम्झिएर चित्त बुझाउन बाध्य बने ।

विप्लवसँग व्यक्तिगत रुपमा मेरो आग्रह वा पूर्वाग्रह केही छैन । तर, विप्लवसँग न हिजो दशवर्षे जनयुद्धबाट शान्ति प्रक्रियामा आएका नेताहरूमा जस्तो जोश र उर्जा थियो, न कुनै नयाँ आशा पनि । नियालिएर हेर्दा कुनै शवयात्रामा निस्केको मलामीको जस्तो न्यास्रो अनुहार थियो, विप्लवको । तर हाम्रो मानसपटलमा भएको विप्लव क्रान्तिकारी, युगान्तकारी परिवर्तनको सम्वाहक, लाखौं युवाहरुको आशाको धरोहर अनि कमजोर भएको माओवादी आन्दोलन नयाँ कोणबाट उठाउँछ भन्ने आशाको दियो थियो । जेहोस्, राष्ट्रिय सभागृहको शुक्रबारको दृश्यपछि यो भ्रमबाट हटेको छु ।

विप्लवले आफ्नो पार्टीको कार्यदिशाबारे उल्लेख गरेका थिए, ‘अहिलेको सङ्गर्षको चरित्र एकीकृत क्रान्ति हो । यसको उद्देश्य दलाल पुँजीवाद तथा सामन्ती राज्यसत्तालाई विघटन गरेर जनवादी राज्यसत्ता स्थापना हो । यसका लागि केन्द्रीय सत्ताको उद्देश्यसहित गाउँ र सहरबाट आ–आफ्नो विशेषताअनुरूप राज्यसत्ता निर्माणको नीति लिने हुन्छ ।’ तर विप्लवले भनेको एकीकृत क्रान्ति र त्यो हस्ताक्षर समारोह विलकुल फरक थियो, फरक भयो । त्यो विप्लवको चाहना थियो कि बाध्यता उनैल जानुन् ।

उक्त समारोहमा विप्लव बेलाबेला कमरेड प्रकाण्डसँग खुसुखुसु गर्दै प्रधानमन्त्री ओली तिर हेरेर मुसुमुसु हाँसिरहेको देखिन्थे । विप्लवको हाँसो भित्र पनि धेरै रहस्यहरु लुकेको देखिन्थ्यो । मान्छे भित्रि मन देखि हाँसिरहेका छन् वा देखावटी हाँसिरहेका छन उनको अनुहारको भावबाट बुझ्न सकिन्छ ।

एकथरी विश्लेषकहरुले विप्लवले सम्झौताको नाममा सरकारसँग आत्मसमर्पण गरेको बताउँछन् । कतिपयले विप्लव एकीकृत जनक्रान्तिको मलामी मात्रै आएका हुन् भनेका छन् भने कतिपयले आफ्नो नेता कार्यकर्ताहरु जेल परेका हुदाँ उनिहरुलाई बाहिर निकाल्ने र एक पटक शक्ति सञ्चय गर्ने र पुँजीवादी राज्य सत्तालाई एकीकृत जनक्रान्तिको सुपारी दिन आएका हुन् भन्ने खालको विश्लेषण पनि गरेका छन् ।

विश्लेषण जे–जस्तो भए पनि सरकार र विप्लवबीच भएको तीन बुँदे सम्झौता हेर्दा भन्ने कि त विप्लवको नयाँ रणनीति हुनुपर्यो कि त कुनै वैदेशिक शक्तिको दबाबमा वा सरकारको दमन सहन नसकेर आत्मसमर्पण गरेको हुनु पर्यो भन्ने विश्लेषण नै हो ।

हिजोको हस्ताक्षर समारोहमा विप्लवले लगभग १८ मिनेट सम्म सम्बोधन गर्दा त्यस्तो ट्वाक्क लाग्ने नयाँ कुरा केही गरेनन् । उनी संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर अहिलेकै व्यवस्थाअनुसार अगाडि बढ्न तयार भएका हुन् वा उनले लिएको एकीकृत क्रान्तिको कार्यदिशा कायमै छ जनता प्रष्ट हुन सकेनन्, हामी शान्तिपूर्ण रुपमा नै भन्न चाहन्छौँ भन्ने रणनीति हो, यो भन हेर्न बाँकी छ ।

सम्बोधनको क्रममा जनमतसंग्रहको माग त गरे तर कुन मुद्दामा जनमतसंग्रह भन्ने चहि स्पष्ट थिएनन् । सार्वभौम शक्तिसम्पन्न जनतालाई एकपटक फैसला गर्न त दिने हो तर कुन मुद्दामा भन्ने कुरा क्लियर नहुँदा अन्यौलता सिर्जना भएको छ ।

विप्लवले तय गरेको नीतिअनुसार त पार्टीलाई क्रमशः भूमिगत र काठमाडौं बाहिर केन्द्रित गर्दै सैन्य बलद्वारा प्रतिक्रियावादी राज्यसत्ताको ध्वंश, यसका लागि बलियो र नियमित सेना निर्माण गर्नुपर्छ । सर्वहारा वर्गको अग्रदस्ता बनाउने सोचसहित पार्टीलाई खुकुलो र भद्दा हुनबाट जोगाउनुपर्छ भन्ने यसै अनुरुप जनमुक्ति सेनाको निर्माण समेत भएको कुरा केही घट्नक्रमले देखाउने नै छ ।

विप्लवका कयौं कार्यकर्ताहरु आधुनिक हतियारसहित पक्राउ परेका छन् । कालिकोटको जंगलमा शैन्य तालिम लिएकोदेखि नेपाली सेनालाई पठाएको ड्रोन समेत खसालेको घट्नक्रमहरु भित्रि रुपमा चलेको पनि हो । केही कालिकोटबासी स्थानीयले जनयुद्धको झझल्को दिनेगरि सयौं जनमुक्ति सेनाहरु ड्रेसमै देखेको कुरा बाहिर आएको थियो तर सम्झौताको बुँदामा हतियार व्यवस्थापन सम्बन्धि केही कुरा उल्लेख छैन । यसले थप शंका गर्नुपर्ने स्थिति पैदा गर्छ ।

अरुबेला नेपालको राष्ट्रिय स्वाधीनता भारतबाट खतरा छ भनेर खरो तर्क राख्ने विप्लव यो पटक भारतको एक शब्द उच्चारण गरेनन् । सम्बोधनको क्रममा सहिदको आमालाई सम्झिए, राष्ट्रियताको लागि आफु मर्न तयार रहेको बताए तर राष्ट्रियताको खतरा आफु संग स्टेज शेयर गरेर बसेका सरकारी पक्षबाट वा कुनै वैदेशिक शक्तिबाट स्पष्टता गरेनन् । उनले ‘हाम्रो पार्टी सहकार्य गर्न र हातेमालो गरेर अगाडि बढ्न तयार छ । यो पनि भन्छौं, कसैले हामीलाई हस्तक्षेप ग¥यो भने, कुनै पनि विदेशीले हमला गर्न खोज्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यो धरतीमा गाडिन्छ, तर झुक्नेछैन । यो प्रतिबद्धता छ ।’ तर यी सबै कुरा कसलाई भनिरहेको थियो बुझ्न कठिन थियो ।

शान्ति प्रक्रियामा धोका भएको निष्कर्ष सहित प्रचण्ड हुँदै वैद्य संग समेत छुटेका विप्लवले दुइवर्ष यता विभिन्न ठाउमा हिंसात्मक घट्नहरु घटाए । कहिलेकाही काठमाडौंमा बम पट्काउने त कहिले एनसिएलको टावरहरु जलाउने सम्म गतिविधि गरे तर हिजोको सम्बोधनमा विप्लव शान्ति प्रक्रिया बारे मौन रहे । शान्ति प्रक्रियासँग जोडिएका कैयौं मुद्दाहरु अहिले पनि थाँति छन् । सत्य निरुपण तथा बेपत्ता आयोगसँग जोडिएका काम हुन सकेका छैनन् । यसैले यहाँ अर्को प्रश्न उब्जेको छ–शान्ति प्रक्रियाबारे विप्लव किन मौन बसे ?

दुई बर्षपछि सार्वजनिक कार्यक्रममा आएका विप्लवले मुलुक निर्माणबारे आफ्नो पार्टीको समग्र खाका राख्ने पनि अपेक्षा थियो तर त्यसमा पनि मौनता देखियो । विप्लवको मौनता भित्र धेरै रहस्यहरु लुकेका छन् भन्ने ठम्याइ रहेको छ ।

दुई वर्षयता भ्रष्टचारहरु विरुद्ध कालोमोसो धल्ने देखि भौतिक कारबाही समेत गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी भ्रष्टचारको विषयमा पनि एक शब्द खर्चिएनन् । खड्ग ओलीको नेतृत्वमा सरकार गठन भएको यता देशमा बालुवाटार जग्गा प्रकरण,ओम्नि काण्ड,स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमित, ७० करोड काण्ड, वाइडबडी प्रकरण लगायत बहुचर्चित काण्डहरुबाहिर सार्वजनिक भए । त्यसको अलभ पेट्रोलियम पदार्थ देखि खाद्दपदार्थ सम्म मुल्य वृद्धि भएको छ । देशमा चरम भ्रष्टचार छ यो विषयमा पनि मौन नै देखिए । यी सबै देख्दा विप्लव एकीकृत जनक्रान्तिको मलामी आएका हुन कि भन्ने पनि लाग्थ्यो ।

विप्लवहरुले स्वीकार गरेपनि नगरेपनि गणतन्त्र र संविधान जनयुद्धको जगमा प्राप्त भएको उपलब्धि नै हो । संविधाननै ध्वस्त गर्ने उदेश्यले भर्खरै संविधान कुल्चेर संसद विघटन गरेको ओलीको विप्लवले प्रशंसा गरिन । उनले कर्णाली तिर गाउने ’यो कस्तो प्रेम भयो, जुन र घाम जस्तो’ गीतको उदाहरण दिदै सुरु देखि नै प्रधानमन्त्री ओली संग निरन्तर संवाद रहेको बताए । विप्लवले प्रधानमन्त्रीलाई फुर्काउन खोजेको हो वा बास्तबिकता त्योही थियो त्यो भविष्यको विप्लवको गतिविधिले प्रष्ट बनाउछ ।

विप्लव र सरकार विचको सम्झौतामामा हतियार व्यवस्थापन देखि आफ्नो मुद्दा बारे कुनै सम्झौता नभएको देख्दा स्थिति यो नै हो भन्ने अट्कल लगाउने अवस्था छैन । दुई वर्ष पछि नवलपरासीमा सार्वजनिक भएको विप्लव काठमाडौंमा सिधै बालुवाटार नास्तापानी गरेर राष्ट्रिय सभागृहमा सरकारलाई एकीकृत जनक्रान्तिको सुपारी दिन आएको हुन वा एकीकृत जनक्रान्तिको मलामी आएका हुन त्यो भविष्यले बताउँछ । हात समातेर राष्ट्रिय सभागृह छिरेका विप्लव र ओली, कुम जोडेर बाहिर निस्किदै गर्दा एकपटक दुनियाँलाई भने चकित बनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *