काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले काठमाडौंमा खबरदारी सभा गरेको छ । खबरदारी सभामा कम्तीमा ३० हजार कार्यकर्ताको सहभागिता रहेको माओवादीको दावी गरेको छ ।
‘जम्मा ४ दिनको तयारीमा तपाईहरु जुन उत्साहका साथ यहाँ आउनुभयो, म धन्यवाद भन्न चाहन्छु’ खबरदारी सभाका उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले अहिले ४ दिनको तयारी गरेर खबरदारी सभा गरेका हौँ, एक महिनाको तयारी गरेर विरोधसभा गरे के होला काठमाडौंमा, थेग्न सक्छ यो सरकारले ?’
प्रचण्डको यो भनाईले खबरदारी सभामा उपस्थित सहभागिताबाट माओवादी खुसी भएको पुष्टि गर्छ । यही खुसी र जोशमा माओवादी अर्को विरोधका कार्यक्रम ल्याउनबाट पछि पर्दैन भन्ने निश्चित छ । त्यसो त, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधनको अन्तिममा भनेका छन्, ‘यो खबरदारी सभालाई देशका सबै पालिकामा, देशका सबै वडामा हामी पठाउनेछौँ, विशाल खबरदारी सभा देशभरी गरेर अनि अन्तिममा जरुरी पर्यो भने विशाल आन्दोलनमा परिणत हुनेछ, हेक्का राख्ने जिम्मा सरकारकै हो ।’
संसदीय अंकगणितमा लगातार खुम्चिँदै गएको माओवादीलाई शनिबारको खबरदारी सभाले निश्चिय पनि केही राहत दिलाएको छ । खबरदारी सभाका उपस्थितिले भन्छ, ‘माओवादी जागै छ, माओवादी फेरि जाग्न सक्छ ।’ त्यही उपस्थितिको तागतमा प्रचण्डले भने, ‘जति सिट आए पनि ०८४ मा हामी एक्लै चुनाव लड्छौँ, कांग्रेस एमालेलाई जनताकै तहबाट सजाय दिन्छौँ ।’
एमाले–कांग्रेसप्रति आक्रमक, निशानामा ओली
खबरदारी सभाअघिको जुलुसदेखि सभामा बोल्ने नेताहरु एमाले र कांग्रेसप्रति आक्रमक देखिए । जुलुसमा लगाएका सबै नारा एमाले र कांग्रेसप्रति लक्षित थियो । खासगरी एमाले–कांग्रेस गठबन्धनको सरकारविरुद्ध माओवादीको नाराबाजी थियो ।
यति मात्रै होइन, सभामा बोल्ने सबै वक्ताहरुले सरकारको आलोचना गरे । सबैको निशानामा भने, प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली थिए । अध्यक्ष प्रचण्डले नै भने, ‘केपी ओली जति जाली फटाहा कोही छैनन्, यस्तो त कसैले गर्दैनन् ।’
खबरदारीको सन्देश, ‘हेप्न खोजे जनविद्रोह निश्चित छ’
छोटो समयको तयारीका बीचमा उर्लिएको जनसागरपछि माओवादीले प्रष्ट सन्देश दिएको छ कि हेप्न खोजे जनविद्रोह निश्चित छ । खबरदारी सभाका वक्ताहरुसँगै प्रचण्डले पनि भने, ‘हेक्का राख्ने जिम्मा सरकारकै हो ।’
अहिलेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले यति धेरै जनविरोधी काम गरिरहेका छन् कि त्यसको संकेत माओवादीको खबरदारीमा पनि देखिएको छ । सरकारले गरेको कामले जनतामा कति निराशा पैदा गरेको छ, त्यसको पनि अर्को संकेत थियो, खबरदारीका उपस्थिति ।
सरकार कानमा तेल हालेर बसिरह्यो भने माओवादीको तहमा होइन, जनताको तहको आन्दोलन उठ्न बेर लाग्दैन । सरकारको नेतृत्वमा रहेको एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफूले गरेको कामले जनतामा कति आशा पैदा गराएको छ, यसको समीक्षा गर्न ढिला गर्नु हुँदैन । भाटभाटेनीका साहु मिनबहादुर गुरुङबाट लिएको दानबाट यो देशका नागरिकले के पाए ? के पाउनेवाला छ ? जनस्तरमा प्रश्न उठेको गिरिबन्ध टि–स्टेट प्रकरणलाई लुकाएर कति दिन लुकाउन सकिन्छ ? सहकारी ठगीमा प्रत्यक्ष जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र आफ्नै पार्टीका सांसद एवं लेखा समिति सभापति ऋषिकेश पोखरेल दम्पतीलाई जोगाएर रवि लामिछानेलाई मात्रै जेल हाल्ने कामले जनताले के पाएका छन् ? कानुनी राज्यमा सबैलाई कानुन बराबर हुनुपर्ने होइन ? सरकारले गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ ।
हिजोजस्तै आफूलाई राजा, सार्वभौम जनतालाई प्रजा सम्झेर हेप्न खोजिए जनविद्रोह निश्चित छ । सरकारको बेलैमा चेत खुलोस् ।