भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने प्रधानमन्त्री ओलीले नाम्लो लगाएर बोक्न थाले !

अनिस तामाङ १३ श्रावण २०८१, आईतवार

भ्रष्टाचार गर्दिनँ भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भनेर गरिमामय सदनमा बाङ्गो औला ठडाएर भाषान गरेका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भ्रष्टाचारीको अनुहार हेर्दैन कि तिनै माफियाहरुलाई विहान बेलुका बालुवाटार बोलाएर गिरिबन्धु टि खुवाउछ त्यो सरकार गठन भएको हप्ता दस दिन यताको गतिविधिले छर्लङ्ग बनाइसकेका छन् । माडे व्यापारीको कुरा सुनेर सदनमा विद्युत प्राधिकरणको महानिर्देशक कुलमान घिसिङलाई थर्काउएको दृश्य त हामी सबैले हेरिनै सकेका छौँ ।

करिब १ लाख १४ हजार निम्न वर्गका गरिब किसानहरुको घरमा बिजुलीको बिल तिर्न नसकेर लाइन काट्द नदुखेका मनहरु ५,६ जना माडेको उद्योगमा बिल नतिरेको कारण लाइन काट्दा प्रधानमन्त्री ओलीलाई चसक्क मन घोचेको छ ।

यति मात्र हैन, भर्खारै नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआइजी केसीलाई सो जिम्मेवारीबाट हटाएर उनको ठाउँमा राजन अधिकारीलाई पठाइएको छ । केसीको नेतृत्वमा असार १४ गते नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार बेचन झा र प्रतिक थापा पक्राउ परेपछि रिसले चुर भएका प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आर्जु राणाले यतिबेला इमानदार राष्ट्र सेवकहरुलाई जिम्मेवारबाट हटाएर आफ्ना एसम्यानहरुलाई नियुक्ति दिने काम सुरु गरिसकेका छन् । अनि जनताले ओलीको सुशासनको उखान टुक्का सहितको चिल्लो गफ पत्याइदिनुपर्ने ?

केसीलाई बुधबार गृह मन्त्रालयले ब्यूरोबाट हटाउने निर्णय गरेका छन्। विमान दु्र्घटनामा सबैको ध्यान खिचिएको बेला ओली र आरजुको ठाडो आदेशमा गृहमन्त्री रमेश लेखकले सुटुक्क केसीलाई हटाएको छ । वाह क्या गज्जबको सुशासन सुरु गर्न थालेको छ ओली सरकारले !

बेचना झा पक्राउ परेपछि भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका उच्च नेताहरु नै तानिने बताइएको थियो । तिनै झालाई पक्राउ गर्दा सरकार ढालेको अभिव्यक्ति पूर्व गृहमन्त्री रवि लामिछानेले नै दिदै आएका छन् ।

केसीको गत जेठ १६ गते मात्रै विशेष ब्यूरोमा सरुवा भएको थियो । अहिले केसीको सरुवा विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । यदि बेचन झाको पक्राउले ओली सरकारलाई बेचैनी सुरु नभएको भए २ महिनामा नै केसीलाई व्यूरोबाट हटाउन के आइलाग्यो प्रधानमन्त्री ओलीलाई ? जनतालाई यसको जवाफ दिनैपर्छ ।

हाई प्रोफाइल जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान केसीकै नेतृत्वमा भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उनले यस प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए । जस क्रममा पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाणलगायत हाई प्रोफाइल पक्राउ परेका थिए । त्यतिवेला गृह मन्त्रालयकै मिलेमतोमा सो ठगीधन्दा भएको थियो । यसमा राजनीतिक नेतृत्वसमेत जोडिएको अनुसन्धानमा खुल्यो । उच्च तहको राजनीतिक नेतृत्वबाट बिचौलियाका रूपमा बेचन झा त्यतिवेला गृह मन्त्रालय पुगेको अनुसन्धानमा खुल्यो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गरेको बयानमा सो कुरा उल्लेख छ ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव पाण्डेलाई ठगी गिरोहसँग भेट गराइदिने व्यक्ति उनै झा हुन् । सचिव पाण्डेको बयान उल्लेख छ, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’ झाले सत्तागठबन्धनमै आफ्नो भूमिका रहेको भनेर सचिव पाण्डेलाई मन्त्रालयमा बताएका थिए ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार खाण र पाण्डेलाई भेट्न झा कांग्रेसका उच्च तहका नेतामार्फत नै गृह मन्त्रालय गएका थिए । साथै, खाणले बिचौलियाहरूसँग भेट्दा सो पैसा आफूले विभिन्न व्यक्तिलाई बुझाउनुपर्ने पनि बताएका थिए । यस आधारमा यो अपराधमा अरू धेरै उच्चपदस्थको संलग्नताको संकेत प्रहरीले पाएका थिए । तर, प्रहरीले उनको बारेमा विस्तृत जानकारी पाउनुअघि नै उनी भारत भाग्न सफल भएका थिए । भारतीय मूलका झाले ०६३ मा मात्र नेपाली नागरिकता लिएका हुन् । उनको भारतको पनि परिचयपत्रहरू फेला परेकाले त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ ।

बिचौलिया झालाई पक्राउ गरेकाले अघिल्लो सत्तागठबन्धन ढलेको आरोप तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सदनमा नै भनिसकेको विषय हो । त्यसलाई थप पुष्टि गर्ने गरी नयाँ सरकारले त्यसको अनुसन्धानमा संलग्न प्रहरीलाई हटाउन थालेको छ । स्रोतका अनुसार त्यसको अनुसन्धानमा संलग्न श्यामलाल ज्ञवालीलाई पनि सिआइबीबाट हटाउने तयारी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये प्रतीक थापा अदालतको आदेशमा जेल चलान भइसकेका छन् । उनीविरुद्ध गत वर्ष नै मुद्दा दायर भइसकेको थियो । झालाई भने प्रतिवादी बनाइएको थियो । हाल जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई संगठित अपराध मुद्दामा थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेको दुई सातासम्म उनले बयान नै दिन मानेका थिएनन् । उनले इन्कारी बयान दिएको प्रहरी स्रोत बताउँछ । थप प्रमाणहरू संकलनको काम भइरहेको परिसरका अधिकारी बताउँछन् । उनको मोबाइल परीक्षणका लागि पठाइएको छ । उनलाई ६० दिनसम्म प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।

गत वर्ष १० जेठमा जिल्ला अदालत काठमाडौंमा संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्तेसम्बन्धी मुद्दा दायर गरिएको थियो । जसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । त्यसबाहेक सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए । टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मा पुर्पक्षका लागि अहिले पनि कारागारमा छन् ।

यो मुद्दाका नौ प्रतिवादी अझै अदालतमा उपस्थित भएका छैनन् । डा. इन्द्रजित राईका छोरा नीरजसहित अशोककुमार पोखरेल, निरञ्जनकुमार खरेल, धीरेन राई, दीपा हुमागाईं, मोहनराज राई, विनिता सामदेन लिम्बू, सुनील बुढाथोकी, राजेश अर्याल अझै अदालतमा उपस्थित भएका छैनन् ।

पहिलो चरणको अनुसन्धानमा बिचौलिया झाबारे प्रहरीले अन्तिममा मात्र सूचना पाएको थियो । त्यतिवेला उनको ठेगाना प्रस्ट नहुँदा प्रहरीले प्रतिवादी बनाएको थिएन । काठमाडौंको बानेश्वरमा घर भएका उनी ठूला ठेक्कापट्टामा संलग्न थिए ।

पहिलो चरणको अनुसन्धानमा पूर्वगृहमन्त्री रामबहादुर थापा, सांसदसमेत रहेकी उनकी पत्नी नैनकला थापा, प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसदसमेत रहेका एमालेकै नेता अजयक्रान्ति शाक्यलगायत माथि थप अनुसन्धान गर्ने प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

लहरो तान्द पहरो थर्किन सुरु भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गुपचुप बनाउन पछिल्लो ओली सरकार सक्रिय देखिन्छ । उनले अनुसन्धानमा संलग्न इमानदार प्रहरी अफिसरहरुलाई सरुवा गरेर आफ्ना हनुमानहरुलाई पठाएर गज्जबको सुशासन स्थापित गर्न खोजेको प्रष्ट देखिन्छ । गहिरिएर सोच्ने हो भने ओली सरकारको कार्यकाल भ्रष्टहरुलाई ढाकछोप गर्दै सकिने पो हो कि भन्ने महसुस आमजनताले गर्न थालेको छ । राम्रो काम गर्नेलाई फिटिक्कै नरुचाउने अनौठो स्वभाव भएका प्रधानमन्त्री ओलीसंग जनताले ठुलो अपेक्षा केही राखेको छैन तर कम्तीमा भ्रष्टाचारीलाई नबोकोस् भन्ने छ तर ओलीले नाम्लो लगाएर बोक्न सुरु गरिसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *