काठमाडौं । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष हुन् । अहिले उनी जसपाबाट बाहिरिने तरखरमा छन् ।
तत्कालीन नेकपा माओवादीको केन्द्रीय नेतृत्वमा रहेर दश वर्षे जनयुद्धमा सहभागी बनेका बाबुराम त्यही पार्टीबाट मुलुकको प्रधानमन्त्रीसम्म बने । अर्थमन्त्रीको रुपमा बाबुराम सफलताको शिखरमा पुगे ।
बाबुरामले अर्थमन्त्री हुँदा गरेका कामको अहिले पनि चर्चा हुन्छ । अर्थमन्त्री हुँदा मुलुकमा कायपलट ल्याउने कोसिस गरेका बाबुरामसँग जनताले प्रधानमन्त्री हुँदा पनि उस्तै अपेक्षा गरे । तर, बाबुराम प्रधानमन्त्रीको रुपमा अर्थमन्त्रीजति सफल हुन सकेन ।
एकीकृत नेकपा माओवादीमा रहँदा आफ्नो पदबाट पटक–पटक राजीनामा दिएका उनले संविधान जारी भएलगत्तै कम्युनिष्ट पार्टी समेतको साधारण सदस्य नरहनेगरी तत्कालीन पार्टी परित्याग गरे ।
त्यसपछि उनले २०७३ साल जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट नयाँ शक्तिको घोषणा गरे । हजारौँ मान्छेको उपस्थितिमा घोषणा भएको नयाँ शक्तिको केही समयमा नै नाम निसाना मेटियो ।
नयाँ शक्ति निर्माणको यात्रा असफल सावित भएपछि बाबुरामले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरामसँग एकता गरे । २०७६ साल वैशाख २१ गते बाबुराम र उपेन्द्रले पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरे ।
केही वर्ष बाबुराम र उपेन्द्रले संयुक्त रुपमा पार्टी चलाए । नयाँ शक्ति र फोरम मिलेर समाजवादी पार्टी नेपाल बन्यो । उपेन्द्रसँग मिलेर पार्टी एकता गरेलगत्तै मधेस र पहाडको समेत नेता बन्ने सपना देखेका बाबुरामलाई उपेन्द्रले कहिल्यै कार्यकारी अधिकार दिएन । बरु, बाबुरामको जाबो एक सिट हो भन्दै होच्याउने काम गरे ।
यहीबीचमा फेरि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भयो । बाबुराम फेरि आफ्नो राजनीतिक यात्राको ग्राफलाई कालो लगाउने दाउमा लागे ।
२०७७ साल वैशाख १० गते मध्यराति समाजवादी पार्टी र राजपा मिलेर जनता समाजवादी पार्टी (जसपा) बनाउने सहमति भयो । सोहीअनुसार पार्टी एकता पनि भयो ।
बाबुरामले जसपामा आफूले जे चाहेको हो, त्यो स्थान पाएनन् । उनले चित्त बुझाएरै बसे । तर, बाबुरामको वरियताको विवाद टुंगिन नपाउँदै जसपामा आनतरिक विवाद चर्कियो ।
खासगरी तत्कालीन नेकपाका एकजना अध्यक्ष खड्गप्रसाद ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि जसपाको विवादले उग्र रुप लियो ।
महन्थ ठाकुरको पक्ष ओलीको असंवैधानिक कदमको पक्षमा लागे भने बाबुराम र उपेन्द्र विपक्षमा लागे । त्यसपछि महन्थ र उपेन्द्रको पार्टी विभाजन भयो । अहिले महन्थको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छ ।
महन्थको टोली छुट्टिएर गए पनि बाबुराम र उपेन्द्रको विवाद भने साम्य भएन । खासगरी उपेन्द्रले एक्लै हैकम चलाउँदै गएपछि जसपामा लफडा मच्चियो । स्थानीय तहको टिकट वितरणदेखि हालैको मन्त्रिपरिषद विस्तारसम्म उपेन्द्रले एकलौटी गरेपछि अहिले जसपाको औपचारिक विभाजनको तरखरमा छ ।
बाबुराम र उपेन्द्रबीच अलग हुने सहमति नै भइसकेको छ । उपेन्द्रले आफ्नो साख जसैगरी जोगाउने देखिएको छ । तर, बाबुरामको लोकप्रियताको ग्राफ भने निरन्तर आरोलो लागिरहेको छ । यो ओरालो ग्राफ कहाँसम्म पुगेर टुंगिने हो, त्यो भने हेर्न बाँकी नै छ ।