विवकेशील साझाको दुख : रविन्द्र मिश्र राजा बोक्ने, आशावादी युवा पार्टी छाड्ने !

अनिस तामाङ ८ पुष २०७८, बिहीबार

राजनीतिमा युवाहरूलाई अगाडि आउन दिएन, युवाहरू सधै राजनीतिक ओझेलमा पर्यो भन्ने बहस चल्न थालेको नेपाली राजनीतिमा वर्षौं भइसक्यो । भर्खरै सम्पन्न दुई ठुला पार्टी नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनमा पनि यो चर्चा चलेकै हो ।

युवाहरूले अलि आशा गरेका एमाले युवा नेताहरू योगेश भट्टराई, गोकर्ण विष्टहरुलाई पछिल्लो चरण उनीहरुमा देखिएको अस्थिरता र अपरिपक्वता कारण विश्वास गर्न छाडेका छन् भने कांग्रेसका दुई युवा नेता गगन थापा र विश्व प्रकाश शर्माले पाका नेताहरूलाई महाधिवेशनमा हराएर महामन्त्रीमा जितेपछि उनिहरुलाई युवाहरू माथि केही आशा जगाएका छन् ।

यहीबीचमा माओवादी केन्द्रको महाधिवेशन नजिकिँदै छ । यसमा पनि केही आशा लाग्दा युवा नेताहरू जनार्दन शर्मा प्रभाकार र वर्षमान पुन अनन्तमा को महासचिव हुने हुन भन्ने आम युवाहरूले हेरिरहेका छन् । यो माओवादीमा तत्काल नेतृत्व परिवर्तन हुने अवस्था नभए पनि विद्यार्थी र युवाबाट उदाएका केही युवा नेताहरूलाई केन्द्रीय सदस्यमा लैजाने कुराको चर्चा छ ।

यी तीन पार्टी त नेपालको मुख्य पार्टीहरु रहे । यिनै पार्टीहरुको त्याग तपस्याबाट आएको संघीय गणतन्त्रपछि जन्मेको पार्टी हो, रवीन्द्र मिश्रको साझा पार्टी । लामो समय सञ्चारकर्म (बिबिसी नेपाली सेवामा) रहेका रवीन्द्र मिश्रले ‘अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्न नसक्ने’ अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमुल परिवर्तनकारी दिशामा डोर्‍याउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याइ छ’ भन्दै एक वक्तव्य जारी गरि साझा पार्टी घोषणा गरेका थिए ।

त्यतिबेला रवीन्द्र मिश्रलाई डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपालका नेता मुमाराम खनाल, अधिवक्ता ओम प्रकाश अर्याल, पुर्व सचिव किशोर थापा, पुर्वाधारविद सूर्यराज आचार्य लगायतले साथ दिएका थिए । त्यतिबेला नै विश्लेषकहरूले रिटायर टिम बोकेर रवीन्द्र मिश्र धेरै टाढा पुग्न नसक्ने विश्लेषण गरेका थिए ।

विशेषगरी सामाजिक संजालमा आएको केही प्रतिक्रियाले रक्सी नसाले जसरी लट्ठ भएका मिश्रलाई नेपाली राजनीति आफुले जता डोर्यायो त्यतै डोरिन्छ भन्ने ठुलो भ्रम रहेको थियो । साझा पार्टी गठन भएको ठिक एक वर्ष पछि विवेकशील नेपाली दलका उज्वल थापा र किशोर थापाको पार्टीसँग एकीकरण गरेर विवेकशील साझा पार्टी बनाएपछि झन रवीन्द्र मिश्रको पार्टी भित्र एकलौटी केही नचल्ने स्थिति पैदा हुँदै गयो ।

नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा २०७४ श्रवण ११ गतेका दिन वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफुहरुले पार्टी एकताको गरेको दाबी सहित दुबै पार्टी का १७÷१७ जना गरि ३४ जनाको केन्द्रीय समिति घोषणा गरिएको थियो । त्यतिबेला मुमाराम खनाल, रन्जु दर्शना अनुषा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, रमेश पौडेल, सुर्य आचार्य, ओम प्रकाश अर्याल, किशोर थापा लगायतका युवा केन्द्रीय सदस्य रहेका थिए ।

राजनीतिक घट्नाक्रम अगाडि बढ्दै जाँदा ठिक समयमा ठिक विश्लेषण गरेर पार्टीलाई अगाडि लैजान नसक्दा मिश्रले एकपछि अर्को धक्का खाँदै गइरहेको छ । विभिन्न राष्ट्रिय एजेन्डाहरुमा कुनै एउटा राजनीतिक दलले जस्तो स्वामित्व नलिइ केही कलेजका युवा युवतीहरु (जो आफैमा के सहि के गलत छट्याउने परिपक्व भइसकेका हुदैन) उनिहरुको लहैलहैमा एजेन्डा के छ सरोकार नराखी नेपाल खुल्ला छ भनेर प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेर आफु परिवर्तन विरोधी कित्ता उभ्याउदै लैजानले मिश्रलाई नेपाली राजनीतिमा हेर्ने दृष्टि कमजोर हुँदै गयो ।

विशेषगरी मुद्दाहरुलाई सहि ढंगले अध्ययन नगरी विरोधका विरोध मात्रै गर्ने चरित्र अनि परिवर्तनगामी शक्तिको मुख्य दुश्मनको रुपमा आफुलाई स्थापित गर्दै जानुले रवीन्द्रलाई आफ्नै सहयात्रीहरुले साथ छाड्दै गए । साझा पार्टीमै हुँदा मिश्रको व्यक्तिगत आचारणका कारण पार्टीका केन्द्रीय सदस्य सूर्याराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका थिए ।

विवेकशील साझा दलसँग एकता भएपछि लगभग १७ महिना पछि उज्ज्वल थापाको नेतृत्वले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेर रवीन्द्र मिश्रसंगको राजनीतिक सम्बन्ध विच्छेद गरेका थिए । काठमाडौंको मेयरमा रन्जु दर्शनालाई पाएको मत देखेर उत्साहित भएर ठुलै माछा समाउछु भनि राजनीतिमा आएका रवीन्द्रले पछिल्लो चरण संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्न थालेपछि विवेकशील साझा पार्टी परित्याग गर्ने युवाहरू सङ्ख्या बढ्दो छ ।

गत कार्तिकमा मिश्रले विवेकशील साझा, वैकल्पिक राजनीतिलाई मृत्युशय्यामा पुर्याएको आरोप लगाउदै १२ जना झुझारु नेताहरूले पार्टी परित्याग गरेका थिए । युवा भनेको पुरातनवादी हैन अग्रगामी हुनुपर्छ । अग्रगामी भनेको फर्केर पहिल्यै असफल व्यवस्थालाई अंगाल्ने हैन, नयाँ नयाँ विकल्पहरु खोजी गर्दै अगाडि बढ्नुपर्छ भन्दै राजा बोक्न थालेका मिश्रलाई केन्द्रीय सदस्य दीपक पौडेल, प्रकाश आचार्य लगायतले साथ छाडे ।

रवीन्द्र मिश्रलाई साथ छाड्ने क्रम यतिमा रोकिने भने छैन । त्यसो त भर्खरै विवेकशील साझामा मिश्रले संवैधानिक राजतन्त्र, संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसंग्रहको प्रस्ताव अगाडि सारेपछि पार्टी भित्रको विवादले उग्र रुप लिएको थियो । अध्यक्ष मिश्रको दस्तावेजको विपक्षीमा मिलन पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा। राजेन्द्र पंगेनी र रन्जु दर्शनाको नामबाट प्रस्ताव सार्वजनिक गरिएको थियो ।

उनीहरुले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ शिर्षकको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर गर्दै गणतन्त्रको सुदृढीकरणि, धर्मनिरपेक्षताको रक्षा र संघीयताको सुधारको वकालत गरिएको थियो । उनीहरुले संवैधानिक राजतन्त्र नभइ तिनै तहमा सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रीमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरिएको थियो ।

यसरी पार्टी भित्र छुट्टै प्रस्ताव पेस गर्ने तथा अध्यक्ष मिश्रको विरुद्ध गतिविधि गर्न थालेपछि संयोजक मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफ दिदै पाण्डेले ‘सरि राजतन्त्र मान्न सक्दिनँ, पञ्चायत पुज्न सकिनँ, धार्मिक द्वन्द फैलाउने मुद्दा बोक्न सक्दिनँ, गणतन्त्र जिन्दावाद’ भनेर स्पष्टीकरण दिएका थिए । त्यसपछि मिश्र पक्षले संयोजक मिलन पाण्डेलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरे र पाण्डेले पनि पार्टी भित्रै समानान्तर समिति घोषणा गरेर मिश्रलाई चुनौति दिइरहेका छन् ।

मिश्रले राजतन्त्रलाई काँध बोक्न थालेपछि पार्टी भित्रका अर्की जुझारु नेतृ रन्जु दर्शनाले पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । मिश्रले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर पार्टीमा फोहोर गरिरहेकोले आफुले यो फोहोरी खेलमा साथ नदिने भनेर पार्टी परित्याग गरेको रन्जुले बताएकी छिन ।

समग्रमा हेर्दा पछिल्लो चरण जब मिश्रले पुर्व राजालाई बोकेर जनताको लामो समयसम्मको त्याग तपस्या र बलिदानबाट प्राप्त संघीय गणतन्त्र, धर्मनिरपेक्ष जस्ता महत्त्वपूर्ण मुद्दाहरु विरुद्ध बोल्न थाले युवा पुस्ताले मिश्रलाई बोक्न छाडेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *