काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला समय पार्टी पुर्ननिर्माणको अभियानमा सशक्त रुपमा मैदानमा उत्रिएका छन् ।
शान्तिपूर्ण राजनीति थालिएपछि टुट–फुट र विभाजनको असरले थलिएको माओवादीलाई फेरि २०६४ सालकै माओवादी अर्थात मुलुकको १ नम्बरको पार्टी बनाउने संकल्पका साथ प्रचण्ड अहिले पार्टी पुर्ननिर्माणको मैदानमा छन् ।
त्यसैले प्रचण्डले पछिल्लोपटक माओवादी पार्टी पुर्ननिर्माणबारे गम्भिर र चिन्ताजनक ढंगबाट आफ्नो अभिव्यक्ति राखिरहेका छन् । पार्टीका सबै भेला, बैठक, प्रशिक्षण तथा कार्यक्रममा देशभरका कार्यकर्तालाई सारांशमा प्रचण्डले भनेका छन्, ‘हामी त अब करिब–करिब जीवनको उतराद्र्धमा आइपुगेका छौँ, हामीले केही राम्रो गरेर तपाईहरुको निम्ति बलियो घर बनाएर जान पाए स्वर्गमा पनि पुगिन्छ भन्ने छ, त्यसकारण हामी पनि मिहिनेत गर्छौ, तपाईहरु पनि एकपटक मिहिनेतका साथ मैदानमा उत्रिनुस् ।’
त्यसो त, पार्टी पुर्ननिर्माणका लागि प्रचण्डले कार्यकर्तासँग धेरै विकल्प दिएका छैनन् । प्रचण्डले कार्यकर्तालाई दिएका एउटै विकल्प हो, ‘रुपान्तरण’ ।
तर, कार्यकर्ता रुपान्तरण हुनुअघि शीर्ष नेतृत्व रुपान्तरण हुन सक्नुपर्नेमा प्रचण्डको जोड छ । हालै प्रचण्डले पेरिसडाँडामा आयोजित पोष्टबहादुर बोगटीको स्मृतिसभामा भनेका थिए, ‘बिग्रिएका हामी नेता हौँ, जनता र कार्यकर्ता होइनन्, त्यही भएर सुरुमा आफू सुध्रिन्छु भनेर नेतृत्वले नै संकल्प गर्नुपर्ने छ ।’
साउन ३० र ३१ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीको सबै तहको सम्मेलन गर्दै राष्ट्रिय सम्मेलन गर्ने र विचारको संश्लेषण गर्ने निर्णय गरेको थियो ।
त्यो केन्द्रीय समिति बैठकपछि प्रचण्डले पार्टीका झण्डै तीन दर्जनभन्दा बढी कार्यक्रमलाई सम्बोधन गरेका छन् । मुख्य कुरा चाहिँ अध्यक्ष प्रचण्डले पार्टीको प्रदेश कमिटिको बैठकमार्फत् स्थानीय तहका नेतृत्वसम्मलाई प्रशिक्षणात्मक सम्बोधन गरेका छन् ।
सबै सम्बोधनमा प्रचण्डको प्रष्ट सन्देश छ, ‘विगतमा हामीले गल्ती गरेकै हौँ, हामी बिग्रिएका हौँ, अब सच्चिने संकल्प गर्दै जनताको घरदैलोमा पुग्नुस् ।’
पहिलो विकल्प : रुपान्तरण हुने, फेरि १ नम्बरको पार्टी बनाउने
प्रचण्डले माओवादीलाई फेरि मुलुकको १ नम्बरको पार्टी बनाउने सपना देखेका छन् । त्यसका निम्ति शीर्ष नेतादेखि सबै तहका कार्यकर्ता रुपान्तरण हुनुपर्नेमा उनको जोड छ । तर, रुपान्तरण सामान्य बलले सम्भव नभएकाले सबैले एकैपटक जनताको घरदैलोमा पुग्नेगरी बल गर्नुपर्ने प्रचण्डको निष्कर्ष छ ।
‘नयाँ समाज निर्माण गन सक्ने, हाम्रो विशेषता त त्यो हो । त्यो गर्न नसक्ने हो भने यसको औचित्य नै के रहन्छ भन्ने प्रश्न कमरेडहरुले विचार गर्नुहोला,’ प्रचण्डले भने, ‘नकारात्मक ढंगले भनेको चाहिं होइन । हाम्रो रुपान्तरण सामान्य बलले नहुने भयो । बल अलि धेरै गर्नुपर्ने भयो भन्न खोजेको हो सारमा ।’
‘हामी बिग्रेका छौं तर पनि त्यो क्रान्ति मोह, परिवर्तन, जनता र राष्ट्रप्रतिको जिम्मेवारीवोध मनबाट गएको चाहिं छैन । पार्टीले, लिडरसिपले यदि परिवर्तनका लागि आह्वान गर्यो भने जर्याकजुरुक उठेर फेरि प्रतिक्रियावादीहरुको सातोपुत्लो खान सक्ने ताकत यही पार्टीसँग छ, यो हामी सबैका निम्ति उज्यालो भविष्यको शुभसंकेत हो,’ प्रचण्डले भनेका छन् ।
अन्य पार्टीले जे भविष्यवाणी गरेको भए पनि माओवादीका सबै तहका कार्यकर्ता जनताको घरदैलोमा पुगेको खण्डमा माओवादी १ नम्बरको पार्टी बन्ने प्रचण्डको विश्लेषण छ । ‘हामी सबै रुपान्तरण हुने र सबै आआफ्नो तहबाट जोड र बल गर्ने हो भने माओवादी पार्टी फेरि १ नम्बरको पार्टी बन्ने निश्चित छ ।’
दोश्रो विकल्प : यस्तै भइरहने हो भने माओवादी विघन गर्न दिने
माओवादी आन्दोलन र पार्टीको फरक परिचय भएको प्रचण्डको सन्देश छ । माओवादी पार्टी त्याग, बलिदान र क्रान्तिको जगमा उभिएकाले यसको फरक परिचय भएकोमा गर्व गर्नुपर्नेमा प्रचण्डको जोड छ । प्रचण्डले हालैको एउटा प्रशिक्षणमा भनेका छन्, ‘हिजो त्यत्रा–त्यत्रा सहिदहरु, त्यत्रो बलिदान, त्यत्रो त्याग, समाज रुपान्तरण, क्रान्तिको निम्ति सम्पूर्ण समर्पण गरेर हिंड्ने पार्टी आज एमालेजस्तै हुने हो भने त यो पार्टीको औचित्य नै के रह्यो र । बरु योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिए हुन्छ ।’
प्रचण्डले भनेका थिए, ‘पद, पैसा, प्रतिष्ठा, गुट, अराजकतालाई नै प्रश्रय दिने र एमालेजस्तै हुने हो भने, हामी मार्क्सका चेला हौं भने त बरु यसलाई विघटन गरिदिनु इमान्दारी हुने भयो के । हामी क्रान्ति गर्छौं भन्ने, गर्ने चाहिं प्रतिक्रान्ति भएपछि त धोका हो नि जनतालाई । त्यो धोका नदिने हुनका लागि बरु बिघटन गर्ने भन्ने छलफल चल्न खोज्छ आज ।’
अन्तिम विकल्प : एमालेमा प्रवेश गर्ने
प्रचण्डले माओवादीले सच्चिएर अगाडि नबढ्ने हो भने पार्टीको औचित्य नभएको मात्रै भनेका छैनन्, पार्टी विघटन गर्नेसम्मको विकल्प अगाडि सारेका छन् । ‘पदको निम्ति, पैसाको निम्ति, प्रतिष्ठाको निम्ति, गुट बलियो बनाउनको निम्ति मरिहत्ते हाल्ने भनेपछि त हाम्रो पनि विस्तारै माओवादी भन्ने लोगो होला जस्तो के, चुरे भन्याजस्तो । थाहै नपाइकन हाम्रो पार्टी क्रान्तिको निम्ति आवश्यक औजार होइन, प्रतिक्रान्तिलाई नै घुमाइफिराइ सेवा गर्ने ठाउँमा पुग्ने हो कि ! यो खतरा बडो गम्भीर रुपले देखिएकै छ ।’ प्रचण्डले भनेका छन्, ‘ ‘त्यसो भएको हुनाले हामीले आजभोलि सोच्न खोजेको, तपाईंहरुले पनि सोच्नु होला । सबै कमरेडहरुले सोच्नैपर्छ । हामी पनि त्यस्तै हुने हो भने यो पार्टी किन चाहियो भन्ने बहस उठेको छ, यस्तै काम गर्न त एमाले पार्टी छँदैछ नि, एमाले प्रवेश गरे भइहाल्छ ।’
माक्र्स, ऐंगेल्सले पनि आफैंले बनाएको कम्युनिष्ट इन्टरनेशनल गलत भयो भन्ने निष्कर्षमा पुगेको उदाहरण दिंदै पार्टीको प्रदेशस्तरको प्रशिक्षणको क्रममा कार्यकर्तालाई प्रचण्डले भनेका छन्, ‘बरु चाहिएन नि । जसलाई त्यस्तै गर्नु छ एमालेमै गए भयो नि । जानु भयो नि त हाम्रा केही साथीहरु । त्यसै गर्न मन लागे त गए भयो नि हामी पनि । एमालेमै जाने, एमाले जस्तै हुने, गुट बनाउने, पैसा कमाउने, पद प्राप्त गर्ने, दलालहरुसँग साँठगाँठ गर्ने, तिनीहरुको स्वार्थ पूरा गर्दिने हो भने त एमाले हुन राम्रो नि ।’